राजमोको समानुपातिक अभियान बाँकेमा, कोहलपुरमा सभा

जगदीश ढकाल, बाँके ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि राष्ट्रिय जनमोर्चाले सुरु गरेको ‘समानुपातिक अभियान’ बाँके पुगेको छ । सो टोलीले शुक्रबार कोहलपुरमा प्रचार सभा सम्पन्न गरेको छ।

‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नाराका साथ बाँकेको कोहलपुर चौराहमा प्रचार सभा सम्पन्न भएको हो।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार रश्मिराज नेपालीले २०६२/६३को जनआन्दोलनका उपलब्धिहरु रक्षा गर्नुपर्ने अहिलेको मुख्य जिम्मेवारी रहेको बताउनुभयो । उहाँले गणतन्त्र, धर्मनिरपेक्षता लगाएत संविधानको रक्षा गर्न तथा प्रतिगामीहरुलाई परास्त गर्न गर्नको लागि आफ्नो पार्टी ५ दलीय गठबन्धनमा सामले भएको बताउनुभयो ।

कार्यकारी अध्यक्ष नेपालीले राष्ट्रिय जनमोर्चाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुलाई विजय गराएर संसदमा पठाएमा आफ्नो पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाको पक्षमा भूमिका अझ प्रभावकारी हुने बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार जनकराज शर्माले राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी गर्न र सम्पूर्ण खाले विकृति, विसंगति, भ्रष्टाचार, महंगी रोक्न तथा जनजीविकाका पक्षमा काम गर्नका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गर्नुभयो ।

सभा राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभाकी उम्मेदवार तारा थापा, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष तुलसीराम सापकोटा, रक्तिम साँस्कृतिक अभियानका महासचिव जीवन शाही, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णकला भन्डारी, अखिल नेपाल जनजाती सम्मेलन बाँके अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्ञानुमाया रानामगरले समेत सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय सदस्य पर्शुराम लामिछानेको समेत आतिथ्यता रहेको थियो ।

सभाको अध्यक्षता राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटाले, स्वागत सहसचिव मनबहादुर सुनार र संचालन उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थयो ।

केन्द्रीय प्रचार टोलीद्वारा शनिबार बर्दियाको बाँसगढी र भुरीगाउँ बजारमा शभाको आयोजना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार