पुराना वामपन्थी नेता आरसी भट्टको इतिहाँस र वर्तमान बारे के छ धारणा ? एक पटक सबैले अध्ययन गरौं

आर.सी. भट्ट, वामपन्थी नेता

० तपाईंको जन्म कहिले र कहाँ भयो ? अहिले बसाइ“ कता छ ?

– मेरो जन्म वि.सं. २००४ सालमा हालको सुदूर पश्चिम प्रदेशअन्तर्गत डडेलधुरा जिल्लाको साविक समैजी गाविस वडा नं. ७ कोरेली गाउँमा भएको हो । अहिले मेरो बसाइँ कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ स्थित कैलाली गाउँमा छ ।

० स्कुली शिक्षा र राजनीतिक जीवनको सुरुवात कसरी भयो ?

– त्यतिखेर अर्को गाउँबाट पण्डित बोलाएर दस/बाह्रओटा बच्चाहरू राखी पढाउने चलन थियो । मैले पनि त्यसै गरेर पढ्न सुरु गरेको थिएँ । पछि श्री बालकल्याण प्राइमरी स्कुल पुइलेक, श्रीकृष्ण हाईस्कुल बैतडी (पाटन) हुँदै श्री महेन्द्र हाईस्कुल डडेलधुराबाट २०२३ सालमा एसएलसी बोर्ड परीक्षा पास गरेको थिएँ । त्यसपछि काठमाडौँ आएर पब्लिक कमर्स कलेजमा आई.कम. मा भर्ना भएँ । २०२५ सालमा आई.कम. पास गरी बी.कम. को कक्षा ज्वाइन गरेर २०२९ सालमा त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा बी.कम. उत्तीर्ण गरेँ ।

२०२६ सालमा बी.कम. प्रथम वर्ष पढ्दाको बखत् रत्नपार्क हुँदै आउँदा अखिलका विद्यार्थीले ठुलो जुलुस निकालेका थिए । त्यसमा सुस्ता र महेशपुर क्षेत्र (जहाँ अहिले पनि भारतीय अतिक्रमण यथावत छ) लगायतका विद्यार्थीका हक, हितसम्बन्धी नारा लेखिएको पर्चा र नाराबाजीबाट म प्रभावित भएँ । त्यसपछि हामीले अखिलको विद्यार्थी सङ्गठन निर्माण गर्‍यौँ । त्यतैबाट अखिलको विद्यार्थी सङ्गठन हुँदै कम्युनिस्ट राजनीतिप्रतिको समर्थन सुरु भएको थियो ।

० निरङ्कुश पञ्चायती व्यवस्था हुँदाको राजनीतिक यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?

– कम्युनिस्टको राजनीति रुचाउने वा समर्थन गर्ने भएकाले म स्वत: निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधी भएँ । निरङ्कुश पञ्चायती व्यवस्था राजाको शासन व्यवस्था हो† राजशाही व्यवस्था हो भन्ने मैले त्यतिबेला बुझेको थिएँ ।

मैले २०२८ सालमा आफू बस्ने गाउँमा पञ्चायत पक्षधरको साह्रै अत्याचार देखेर त्यस प्रकारको अन्याय, अत्याचारको विरोधमा किसान समिति बनाए र सङ्घर्ष सुरु गरेँ । त्यो बखत् म धनगढी खानेपानी योजनाको एकाउन्टेन्ट पदमा काम गर्थें ।

मेरो गाउँका एक जना चौधरी (थारू) सेती अञ्चाधीशको कार्यालय धनगढीमा बहिदारको जागिरे थिए । गाउँमा पञ्चको (ठुलासाना) कडा विरोध हुँदै जाँदा तिनलाई हाम्रा सबै कामकुरा र समितिबारे पनि थाहा भयो । तिनले सिआइडीको काम गरी हाम्रा सबै रिपोर्ट कार्यालयमा पुर्‍याए । तेस्रो दिन पुलिस आएर घरबाट मलाई र लेखिएका ती निर्णय, समितिको नामावलीसमेत अड्डामा पुर्‍याए । मसँग लेखाको चाबी मागे र तल्लो तलाको एउटा कोठाको कुनामा राखे ।

घरमा एउटी श्रीमती मात्र थिइन् । अरू हाम्रो परिवार पहाड बस्नुहुन्थ्यो । घरबाट पुलिसले लग्दा श्रीमती बेसरी रुन थालिन् । मैले भनेँ– म भोलि फर्केर आउँछु, किन रुनुपर्‍यो ? तर कहाँको भोलि ? तीन दिनसम्म कसै कुनैलाई भेटघाट गर्न मनाही गरियो । पुलिसले खाना दिने गथ्र्याे । साँझपख एउटा कम्बल (राडी) दिएका हुन्थे । बाहिर पुलिसको चौकिदारी । त्यो बेला लक्ष्यबहादुर गुरुङ अञ्चलाधीश थिए । चौथो दिन बिहान तल्लो कोठामा अड्डाको इजलास बसी मेरो बयान लिइयो । मैले साँचो बयान दिएँ ।

मेरै हातले लेखेका कागजपत्र र मसमेत भूमिगत समितिका सदस्य थियौँ । सबै कागजी कुरा भइसकेपछि जमानत दिने मान्छे मागे उनीहरूले । त्यो कार्यालयमा एक जना डडेलधुराकै मुखिया थिए । उनलाई भन्दा उनले चिन्दिनँ म त भन्दै यताउति कुरा गरेर पन्छिए । अर्काे कुनै मान्छे छ ? भनी पुन: हाकिमले सोधे । मैले सिडिओ कार्यालयका डडेलधुराकै खरदार साहबको नाम लिएँ । उनलाई बोलाई ल्याए र मलाई चिन्न भनियो । उनले त्यो एउटा भर्खरै पढेर आएको विद्यार्थी हो; त्यसलाई कर्मचारी कानुन थाहा भएन होला† मेरो नजिक गाउँकै केटा हो भन्ने कुरा गरेका रहेछन् । त्यसपछि साँझपख एउटा गोप्यपत्र दिएर मलाई छुट्टी दिइयो ।

पत्र पढ्दा भविष्यमा सरकारी नोकरीका लागि अयोग्य ठहरिने गरी निजामति सेवा नियमावली २ (५) बमोजिम बर्खास्त किन नगर्ने भन्ने ब्यहोरा थियो । कुनै सबुत् प्रमाण भए सात दिनभित्र लिखित स्पष्टीकरणसहित पेस गर्नू भन्ने लेखिएको थियो त्यो पत्रमा । त्यो पत्र लिएर एउटा चिनेको वकिलबाट खेस्रा बनाउन लगाई घरमा गई त्यो खेस्रालाई आफ्नै हातले साफी गरी अर्काे दिन अञ्चलाधीश कार्यालयमा बुझाएँ । मुद्दा शाखाले अर्काे गोप्य पत्र मलाई थमायो । पत्रमा आफू जिम्मामा रहेका सबै सरसामान कार्यालयका इन्जिनियरलाई बुझाउनू† तल्काल तपाईंलाई जागिरबाट अवकाश दिएको छ भन्ने लेखेको रहेछ ।

२०२८ सालको बी.कम. फाइनल परीक्षामा अङ्ग्रेजी दोस्रो पत्रमा अनुत्तीर्ण भएको थिएँ । त्यसपछि २०२९ सालमा एउटा विषयको आंशिक परीक्षा दिएर बी.कम. उत्तीर्ण गरेँ । २०३० सालमा डोटी जिल्लाको बुडरमा निमाविमा प्रधान अध्यापक भई २०३२ सालसम्म अध्यापन गरेँ । त्यसपछि फेरि धनगढी फर्कें । शिक्षक हुँदा त्यतातिर पनि भित्री रूपले कम्युनिस्ट राजनीतिकै प्रचार गरेँ । धनगढीमा फेरि नायब सुब्बाको अस्थायी नोकरीमा लागेँ । २०३४ सालमा परिवार, दाजुभाइ अलग अलग भयौँ । त्यसपछि त घरव्यवस्था समाल्नुपर्‍यो ।

० राजनीतिक यात्राको क्रममा के कस्ता दमन ब्यहोर्नुभयो ?

– कैलालीको धनगढीमा बस्दा एक जना पूर्वतिरका बैङ्क कर्मचारीसँग उठबस भयो । उहाँले २०३१ सालको नेकपा (चौथो महाधिवेशन) को राजनीतिबारे विस्तारपूर्वक सुनाए र २०३२ सालतिरको मुखपत्र “मसाल” पनि दिनुभयो । त्यसलाई अध्ययन गर्दा त्यसको राजनीतिप्रति चित्त बुझ्यो ।

त्यतिबेला २०३५–३६ सालको विद्यार्थी आन्दोलनले देशव्यापी राजनीतिक आन्दोलनको रूप लिएको थियो । कैलाली (धनगढी) मा पनि नौ जना सदस्य रहेको कम्युनिस्ट पार्टीको समर्थक समिति निर्माण भएको थियो । त्यही दौरानमा राजाबाट पञ्चायत कि बहुदल रोज्ने भनी जनमत सङ्ग्रहको घोषणा भयो । हाम्रो समितिले बहुदलको प्रचार गर्ने भन्ने ठेगान गर्‍यो ।

त्यसै क्रममा भीमदत्त पन्तको नामबाट भीम पुस्तक केन्द्र (माक्र्सवादी पुस्तक पसल) खोल्यौँ र मेरो सम्पादकत्वमा “भीमसन्देश” साप्ताहिक पत्रिकाको प्रकाशन सुरु भयो । भीमदत्त पन्तको जीवनी आदि सामग्री बाहिरबाट छपाई वितरण कार्य सुरु गर्‍यौँ ।

त्यही सिलसिलामा मनमोहन अधिकारीलाई धनगढीमा बोलाएर डोटी बुडरसम्म ठाउँ ठाउँमा आमसभाका कार्यक्रम गर्दै गयौँ । अधिकारीलाई कैलाली गाउँको मेरै घरमा तीन दिनसम्म राखी प्रशिक्षणका कार्यक्रम पनि गरियो ।

अधिकारीको कार्यक्रमबाट कम्युनिस्ट राजनीतिको राम्रै प्रचार भयो तर अधिकारीको प्रशिक्षण कार्यक्रमबाट हामी केही साथीहरू सन्तुष्ट भएनौँ । उहाँको विचार वा राजनीतिक लाइन क्रान्तिकारी नभएर सुधारवादी जस्तो भएको महसुस गर्‍यौँ । त्यस क्रममा तीन जना साथीहरू उहाँकै पक्षमा अर्थात् तत्कालीन नेकपा (माक्र्सवादी) मा रहनुभयो । अधिकारी काठमाडौँ फर्कनुभयो ।

उता, २०३७ सालको जनमत सङ्ग्रहमा पञ्चायतले जित्यो, बहुदलको हार भयो ।

मलगायत ८ जना साथीहरू २०३६ सालमै तत्कालीन नेकपा (चौथो महाधिवेशन) पक्षमा आबद्ध भइसकेका थियौँ । त्यति बेला पार्टीको नीति पञ्चायती चुनाव बहिष्कार गर्ने थियो । २०३८ सालको राष्ट्रिय पञ्चायत सभा र २०३९ सालको स्थानीय चुनाव बहिष्कार गर्दा हामीहरू सामाजिक सुरक्षा ऐनअन्तर्गत छ महिनाको धनगढी जेलसजाय बेहोर्‍यौँ । मसहित तीन जना साथीहरूले जेलसजाय भुक्तान गरेका थियौँ ।

२०४२ सालको बमकाण्डमा त्यसका दोषी राजतन्त्र विरोधी मसाल पार्टीका कार्यकर्ताहरू हुन् भनी सामाजिक सुरक्षा ऐनअन्तर्गत नौ महिनाको पुर्जी दिई हामीलाई धनगढी कारागारमा राखियो । त्यो बेला प्रहरीले हामीलाई कडा यातना दिए । नौ महिनाको म्याद सिद्धिएपछि पुन: नौ महिना म्याद थप गरी १८ महिना जेलसजाय भुक्तान गर्नुपर्‍यो हामीले किनकि २०४३ मा राष्ट्रिय पञ्चायत सभाको चुनाव थियो । त्यसमा पनि हाम्रो बहिष्कारको नीति नै थियो । त्यो चुनावलाई यिनीहरूले नबिथोलुन् भन्ने मनसायले पनि हाम्रो सजाय थप गरिएको बताइएको थियो ।

२०४६ सालको आन्दोलनमा भने तीन दिन मात्र जिल्ला प्रहरी कार्यालयमा राखी चौथो दिन टाढा ज·लमा लगी आन्दोलनकारी सबैलाई छाडिएको थियो ।

२०४८ को संसदीय चुनाव बहिष्कार कार्यक्रम पनि सफलताका साथ सम्पन्न गरेका थियौँ । कैलालीको पहलमानपुर भन्ने ठाउँमा हाम्रो राम्रो सङ्गठन थियो । त्यहाँ ठाउँ ठाउँमा मिलिट्री फायरिङ गरियो । तीन जना साथीहरू पक्राउ परे ।

राजनीतिक यात्राको क्रममा खास गरी २०३८ र २०३९ को पञ्चायती चुनाव बहिष्कार, २०४२ को बमकाण्ड, २०३७ सालमा पुलिसद्वारा माक्र्सवादी भीम पुस्तक केन्द्रको तहसनहस, २०४६ सालको आन्दोलन तथा २०४८ सालको संसदीय चुनाव बहिस्कार आन्दोलन, २०५९ सालको सड्ढकटकालमा मिलिट्री क्याम्प बोराडाँडी ब्यारेकमा चरम यातना दिइएकोलगायत धेरै कुरामा मैले सरकारी दमन ब्यहोरेको छु ।

० निरङ्कुश पञ्चायती व्यवस्था र अहिलेको खुला राजनीतिक परिवेशमाझ के कस्ता अन्तर पाउनुभएको छ ?

– सामन्ती पञ्चायती व्यवस्था र लोकशाही (बहुदलीय) व्यवस्थामा शासकीय प्रकृतिले अवश्य पनि फरक राजनीतिक व्यवस्था हो । बहुदलीय व्यवस्था सार रूपमा पुँजीवादी तर तुलनात्मक रूपमा प्रगतिशील व्यवस्था हो । फेरि पनि यस व्यवस्थामा देशको मूल कानुनले जनताका हक–अधिकारलाई संरक्षण गरेको हुन्छ । बोल्न, लेख्न, सभा–सङ्गठन खोल्न पाउने अधिकार हुन्छ । कानुनी रूपमा देशका सबै तहका जनता समान मानिन्छन् यद्यपि सार रूपमा यो पुँजीवादी व्यवस्था पनि प्रतिकृयावादी नै हो । व्यवहारमा निमुखा, गरिबदुखीका लागि ऐन र धनीका लागि चैन भने जस्तै हो । अहिलेको हाम्रो शासन व्यवस्था अर्धसामन्ती तथा अर्धऔपनिवेशिक बुर्जुवा पुँजीवादी व्यवस्था हो । पूर्ण रूपले गणतान्त्रिक अवस्था अहिले विद्यमान छैन तर पनि यसको पूर्णताका लागि सङ्घर्ष गर्दै प्राप्त उपलब्धिको रक्षा गरेरै जानुपर्ने आवश्यकता छ ।

० २०६२–६३ सालको जनआन्दोलनपछि नेपाली जनताले ठोस रूपमा के पाए भन्ने लाग्छ तपाईंलाई ?

– ०६२–६३ सालको जनआन्दोलनबाट प्राप्त सङ्घीय गणतान्त्रिक शासन व्यवस्था जनताले चाहना गरेअनुसारको भएन । जनताका आधारभूत समस्या ज्युँकात्युँ रहे । समाधानतिर सत्ताधारीहरूले ध्यान दिनुको सट्टा मनपरी गर्दै आफ्नो स्वार्थसिद्ध गर्ने यो क्रम जारी छ । सामाजिक सुधारका योजना र कार्यक्रम, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड कृषिक्षेत्र चौपट छ । कृषिकार्यका लागि आवश्यक मल, बिउ, सिँचाइको सुविधा छैन । कृषिउपजको बजार व्यवस्था छैन । मजदुरी, रोजगारी छैन । भ्रष्टाचार व्याप्त छ । शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा पनि रीतिथिति छैन । देशमा विदेशीको हैकम एकदम बढेर गएको छ । राष्ट्रियता खतरामा छ । जनताको जीवन दिनहु“ कष्टकर हु“दै गइरहेको छ । यी सबै समस्याको समाधानका लागि नौलो शासन प्रणाली (नया“ जनवादी व्यवस्था) स्थापना आन्दोलनको विकल्प देखिन्न ।

० नेकपा (मसाल) को राजनीतिलाई किन बोकेर हिँड्नुभएको हो ?

– नेकपा (मसाल) ले हाम्रो जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक देशका लागि नया“ जनवादी व्यवस्था उपयुक्त हुन्छ भन्ने कुरा स्वीकार गर्दछ, जसलाई माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराले निर्देशित गरेको छ । यो राजनीतिक प्रणाली (नयाँ जनवादी व्यवस्था) मजदुर, किसान, देशभक्त क्रान्तिकारी र जनताको संयुक्त पहलमा सशस्त्र सङ्घर्षमार्फत् सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्न हुन्छ । नेकपा (मसाल) ले यसकै आधारमा आफ्नो कार्यनीति र रणनीति तय गरेको छ । मसालले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर राजनीति तय गर्दछ । आजसम्म यसको नीति सही सावित भएको छ । यसर्थ यसकै राजनीतिमा मेरो निरन्तरता छ ।

० वर्तमान राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

– देशमा भर्खरै चुनाव सम्पन्न भएको छ । विभिन्न पार्टी सङ्गठनका सांसदलगायत स्वतन्त्र उमेदवारको संसद्मा प्रवेश हुँदै छ । त्यसपछि सरकार गठनको काम हुने छ । त्यसपछिको परिस्थितिको मूल्याङ्कन पछि नै हुने छ । तत्कालको परिस्थिति जटिल र डरलाग्दो छ । राजनीतिमा बाह्य साम्राज्यवादीको खुला रूपले हस्तक्षेप भइरहेको छ । उनकै इसारामा सत्ताधारी चलिरहेका छन् । देशमा शान्ति र सुव्यवस्था कायम गर्न बडो अप्ठ्यारो छ ।

० सुदूर पश्चिममा नेकपा (मसाल) को राजनीतिक प्रभाव कस्तो छ ? त्यहा“ स·ठन र गतिविधिको अवस्था कस्तो रहेको छ ?

– चौथो महाधिवेशन (२०३१ साल) को राजनीति चित्त बुझेकाले २०३८ सालदेखि सुदूर पश्चिममा मसालको राजनीतिक गतिविधि अगाडि बढेको हो । २०३७ सालमा जिल्लापार्टी गठन गर्दै तलका सङ्गठन निर्माणका कार्य अगाडि बढाइएका हुन् । कैलाली क्याम्पसमा विद्यार्थी सङ्गठन, कत्था फ्याक्ट्री, लिसो कम्पनी, बिम्का सलाई फ्याक्ट्रीमा मजदुर सङ्गठन, रक्सी भट्टी हटाउने कार्य, किसान सङ्गठन निर्माण गर्दै थारू, कमैयाले कमैया, हलिया प्रथाको अन्तको नारा पनि सुरुमा कैलाली जिल्लाबाटै उठाइएको हो । पछि कमैयाहरू मुक्त हुने घोषणा सरकारबाट भएको हो ।
पञ्चायती चुनाव बहिष्कारको नीतिले पनि मसालको राजनीति विस्तार भएको छ । सुदूर पश्चिमको कम्युनिस्ट आन्दोलनमा नेकपा (मसाल) को प्रभाव राम्रो छ । समय समयमा टुटफुट हु“दाहु“दै पनि यसको सफल महत्त्वपूर्ण कार्यलाई कसैले इन्कार गर्दैनन् । आम जनता हुन् वा राजनीतिक पार्टी सङ्गठन नै किन नहोउन्, सुदूर पश्चिममा नेकपा (मसाल)ं को प्रभाव छ । आजसम्म पनि यहाँ सङ्गठनको राम्रो प्रभाव छ । प्रदेशभरि नै मसालका गतिविधि सञ्चालित छन् । साङ्गठनिक अवस्था पनि ठिकै छ ।

० मङ्सिर ४ गतेको निर्वाचनमा सुदूर पश्चिममा राष्ट्रिय जनमोर्चाको प्रदर्शन कस्तो रह्यो ? राजमोको प्रदर्शनलाई कसरी लिनुभएको छ ?

– २०७९ मङ्सिर ४ गतेको निर्वाचनमा सुदूर पश्चिममा राष्ट्रिय जनमोर्चाको प्रदर्शन राम्रै रहेको छ । गठबन्धनमा रहेका पार्टीहरूको शक्तिभन्दा कम भएता पनि यसको काम–कारबाहीको ठुलो महत्त्व छ ।

चुनावको दौरानमा सुदूर पश्चिमका सबैजसो जिल्ला सङ्गठनको शक्तिअनुसार पार्टीका साथीहरू जनसम्पर्कमा गयौँ र मत माग्ने काम गर्‍यौँ । जनतामा राष्ट्रिय जनमोर्चा प्राय: परिचित छ । राजमोको सङ्गठन खासगरी ग्रामीण किसानमा भएको हुनाले मङ्सिर ४ गतेको चुनावको समय धानबाली भित्राउने र बाली लगाउने समय परेको हुनाले प्रचार प्रसार र भोट माग्न सबै ठाउँमा कमै पुग्न सकियो, जसले गर्दा मत बढ्ने कुरामा पनि कमी आयो ।

० नेकपा (मसाल) ले प्रतिगमन विरोधी गठबन्धनको निरन्तरता आवश्यक भएको विचार अगाडि सारेको छ । यता, तपाईंहरूले प्रतिगामी भूमिकामा अथ्र्याएको एमालेले सामान्य बहुमत पनि पाएको छैन । फेरि पनि गठबन्धनको निरन्तरता किन आवश्यक ठान्नुभयो ?

– एमाले पार्टीको बहुमत होस् वा नहोस्, त्यसको उद्देश्य भनेको प्रतिगमन नै हो । त्यसको गठबन्धन अथवा तालमेल प्रतिगामी, राजावादी पार्टी सङ्गठन र समूहसँग छ । त्यसले मौका पाउनासाथ उद्देश्य प्राप्तितिर लाग्ने छ । यसलाई रोक्न, परास्त गर्न गठबन्धनको निरन्तरता अहिलेको आवश्यकता हो ।

० वामपन्थी पार्टीहरूको सरकार गठनको आवश्यकता र औचित्यबारे तपाईंको विचार के छ ?

– वामपन्थी पार्टीहरूको सरकार आवश्यकता त हो नै तर कसलाई वामपन्थी भन्ने ? कसलाई नभन्ने ? बहुदलीय व्यवस्था अर्थात् गणतन्त्रलाई सुदृढ पार्न, यसको रक्षा गर्नुको सट्टा यसको समाप्तितिर गइरहेका शक्ति (वामशक्ति) सँग कसरी मिलाप हुन्छ र वामपन्थी सरकारको गठन हुन सक्छ ? उनीहरू नसच्चिएसम्म वाम तालमेल सम्भव छैन ।

० नेपालको राजनीतिमा प्रवेश गरिरहेका नयाँ पिँढी कसरी अगाडि बढ्नुपर्दछ ? यसबारेमा तपाईंको भनाइ के छ ?

– राजनीतिमा नयाँ पिँढीको आगमन खुशीको कुरा हो र आवश्यकता पनि हो । यसका लागि राजनीतिक दर्शन, प्रष्ट दृष्टिकोण, सिद्धान्त अपरिहार्य विषय हो । राजनीति रहरले हैन, करले गर्ने हो । युवा पिँढीले नै भविष्यको राजनीति समाल्नुपर्छ, जुन राजीतिले नेपाल र नेपालीको हित होस् ।

० अन्तमा, जोड दिएर भन्नुपर्ने केही छन् कि ?

– युगदर्शनले जनपक्षीय प्रगतिशील र परिवर्तनकारी विचारको पक्षषोषण गर्दछ । सामाजिक, राजनीतिक विकासको क्रममा कसैले रोकेर रोकिँदैन भन्ने विचार यसले बोकेको पाइन्छ । समाज परिवर्तनको उद्देश्य राखी सम्बन्धित सबै पक्षहरू नेपालको राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने कुरामा नै जोड दिन चाहन्छु ।

अन्तमा, युगदर्शन साप्ताहिक र युगदर्शन डट कम न्युज पोर्टलको उत्तरोत्तर विकासको पनि अपेक्षा व्यक्त गर्दछु ।

प्रस्तुति : प्रकाश थापामगर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार