काठमाडौं । संसदबाट जबर्जस्ती पास गरिएको विवादित अमेरिकी परियोजना एमसीसीविरुद्ध काठमाडौंको शङ्खरापुर नगरपालिका–३ पाँच वटा बस्तीका बोझनी, पाख्रिन टोल, सोझे, ढोक्साङ, नारायण थानका बासिन्दा हप्ता दिनदेखि आन्दोलित छन् ।
एमसीसीअन्तर्गतको परियोजनाले ५० जना स्थानीयबासीको करिब २ सय रोपनी जग्गा अधिग्रहण गरेपछि केही दिनयता यहाँ आन्दोलन चर्किएको हो । पछिल्लो समय विद्युत प्राधिकरणले यस क्षेत्रमा सब स्टेशन र प्रसारण लाइन बनाउन सर्वेक्षण गर्न थालेपछि स्थानीयबासी एक हप्तादेखि आन्दोलन गरिरहेका छन् । शंखरापुर– ३ का पाँच वटा बस्तीका सबैजसो घरमा दिनभर ताल्चा लागेको हुन्छ । घरका बालबच्चा, बुढा, युवा सबै सब स्टेशन निर्माण स्थलमा आएर नाराबाजी गरिरहेका छन् । यो आन्दोलनमा अधिकांश महिला छन् ।
अप्पर तामाकोशी जलविद्युत् आयोजना तथा एमसीसीअन्तर्गत बन्न लागेको सब–स्टेशन स्थानान्तरण मागसहित स्थानीय आन्दोलित भएका हुन् ।
आन्दोलनलाई दबाउन प्रहरीले स्थानीयमाथि बल प्रयोग गर्नुका साथै लाठीचार्ज समेत गरिएको छ । बिहीबार १२ वर्षे दोर्जे तामाङ र तीन जना महिला घाइते भएका थिए । प्रहरीले बल प्रयोग गर्न सुरु गरेपछि स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी पनि दिएका छन् ।