पार्टी अनुशासन र एकता

माओत्सेतुङ

कमरेडहरू ! यो भेला अत्यन्त फलदायी बनेको छ ।

म के भन्छु भने ती जो दिलैदेखि विषालु भावना पाल्छन्, उनीहरू अन्नतः आफ्नै खुट्टामा बञ्चरो हान्छन् । त्यस्तै, ती जो अन्तर्राष्ट्रिय वर्ग, अन्तर्राष्ट्रिय पार्टी, पार्टीका सबल, वर्ग र जनताका सवालप्रति दिलैदेखि शत्रुता साँध्छन्, उनीहरूले पनि अन्ततः आफ्नैै खुट्टामा बञ्चरो प्रहार गर्छन् । त्यसैले त्यस्ताले आफ्नो लक्ष्य पूरा गर्न सक्दैनन् । जस्तो कि यस्ता खालका मान्छेहरू चिताएको कुरा पूरा नहुँदा मानसिक रूपमा आफू गिरेको अनुभूति गर्छन् र सबैबाट टाढिन्छन् ।

यहाँ यस्ता धेरै कमरेहरू हुनुहुन्छ, जो मेरो दृष्टिकोणमा मार्क्सवादी होइनन्, न कहिल्यै मार्क्सवादी हुन सके । त्यसो भए ती को हुन् त  ? निश्चय पनि उनीहरू मार्क्सवादका सहयात्री हुन् । यसबारेमा जमेर कुराकानी गर्न चाह्यौँ भने हामीसँग त्यस्ता प्रशस्त विषय छन् । जस्तो कि थुप्रै त्यस्ता विषय भर्खरै मात्र बाहिर आएका छन् । ती हुन्- जापान विरुद्ध लडाइँको अवधिका कुरा, लङ मार्च (लामो अभियान) को बेलाका कुरा ।

जापान विरोधी मोर्चालाई वाम, केन्द्र र दक्षिणपन्थीका रूपमा बाँड्नुहुँदैन भन्ने हो । त्यसलाई वाम, केन्द्र र दक्षिणपन्थी भनेर बाँड्नु गलत हो भन्ने हो ।

जहाँ वर्गीय सम्बन्धले जरो गाडेको छ । जहाँ सर्वहारा र बुर्जुवा हुन्छन् । उत्पीडित र उत्पीडक हुन्छन् । त्यस्तो अवस्थामा ‘कुनै राजकुमारले अपराध स्वीकार गर्‍यो भन्दैमा जनताले उसलाई आममाफी दिनुपर्छ’ भन्ने जस्तो सिद्धान्त अघि सार्नु मार्क्सवादी दृष्टिकोण होइन । त्यसलाई कुनै पनि हालतमा मार्क्सवादी दृष्टिकोण भन्न सकिन्न । यो गैरमार्क्सवादी दृष्टिकोण हो । जसले जनतालाई धोकाधडीमा पार्छ, त्यो बुर्जुवा दृष्टिकोण हो ।

त्यस्तै गरेर काओ, जाओ, पेङ, हुआङको पार्टी विरोधी विचार छ । उनीहरूको ‘सैन्य पार्टी’ को सिद्धान्तलाई लिन सकिन्छ । त्यसले पार्टीभित्रको चुस्त सम्बन्धलाई खल्बल्याइदिएको छ । पार्टीभित्र गुटबन्दी सिर्जना गरिदिएको छ । उनीहरूको विचार र व्यवहार मार्क्सवादी जस्तो हुँदै होइन । लुसान सम्मेलनको धेरै पछि र लुसान सम्मेलनयता उनीहरूका थुप्रै अनुशासनविहीन गतिविधि सार्वजनिक भएका छन् । त्यससँगै ली ली सान धारबारेका थुपै सामग्रीहरू अधिकांश लेख्य रूपमा आएका छन् ।

तपाईंहरूमध्ये हरेकले जे कुरा औल्याउन खोज्नुभएको हो, त्यही कुराका बारेमा मैले भर्खरै मात्र बोलेँ । दृष्टिकोणकै कुरा गर्ने हो भने उनीहरू कदापि मार्क्सवादी होइनन् तर माक्र्सवादका सहयात्री मात्र हुन् । उनीहरूमा बुर्जुवा र अवसरवादी तत्व हुन्छ । त्यस्ता व्यक्तिहरू हाम्रो पार्टीमा घुसेका छन् । त्यस्ता कुरा प्रमाणित गर्ने हो भने त्यसलाई निचोडमा पुर्‍याउने थुप्रै तथ्य हाम्रासामु उपलब्ध छन् । म अहिले नै त्यसो गरिहाल्ने स्थितिमा छैन किनभने त्यसबारेमा थुप्रै लेख लेख्न सकिन्छ थुप्रै कमरेडले त्यससम्बन्धी काम गर्नुपर्ने हुन्छ । त्यसो भएकाले मैले यो कुराको उठान मात्र गरेको हुँ ।

यो कुरा प्रष्ट छ, बुर्जुवा क्रान्तिकारीहरू कम्युनिस्ट पार्टीमा कसरी कसरी घुस्छन् नै । त्यहाँ पनि उनीहरूको बुर्जुवा विश्व दृष्टिकोण र पक्षधरता बदलिएको हुँदैन । उनीहरू आफ्नो कमजोरीबाट जोगिन सक्दैनन् । जब निर्णायक घडी आउँछ, त्यस्तो बेलामा यस्ता सहयात्रीले आफ्नो सक्कली चरित्र लुकाउन सक्दै-सक्दैनन् ।

लुसान सम्मेलन, यो भेला र देशव्यापी रूपमा पार्टी संगठनका विभिन्न तहमा आठौँ प्लेनम (विस्तारित बैठक) को आठौँ सत्रका निणर्यका बारेमा छलफल चलाइएको छ । हामीले त्यसलाई व्यापक रूपमा जनतालाई प्रशिक्षित गर्न, उनीहरूको स्तर उकास्न र अझ बढी सचेत बनाउन उपयोग गरेका छौँ । त्यसले पुर्ण रूपमा प्रमाणित गरेको छ, जनताको ठुलो बहुसङ्ख्या, सिंगो पार्टीको ठुलो बहुसङ्ख्यक कार्यकर्ताहरू (नब्बे प्रतिशत जति नै भनौँ न), त्यस्ता गलत मान्छेसँग असहमत छन् । त्यस्ता व्यक्तिको क्रियाकलापप्रति कमरेडहरूले व्यक्त गर्नुभएको प्रतिक्रियाले हाम्रो पार्टी परिपक्व बन्दै गएको कुरा पनि प्रमाणित हुन्छ ।

बुर्जुवा तत्वले हाम्रो पार्टीलाई प्रदूषित तुल्याएका छन् । हाम्रा पार्टीसदस्यमध्ये थुप्रै बुर्जुवा तथा निम्नबुर्जुवा तत्व छन् । यसको विश्लेषण गरेर उनीहरूलाई दुई भागमा बाँड्नुपर्छ । अत्यधिक बहुसङ्ख्यामा रहेका जनता असल छन् । उनीहरू साम्यवादमा प्रवेश गर्न सक्छन् किनभने उनीहरू मार्क्सवाद स्वीकार गर्न तम्तयार छन् । त्यसको विरुद्धमा रहेका अल्पसङ्ख्यकहरू सायद एक प्रतिशत, दुई प्रतिशत, तीन प्रतिशत, चार प्रतिशत अथवा बढीमा पाँच प्रतिशतमा होलान् । बितेका केही हप्ताका बिचमा प्रादेशिक तहमा भएका सम्मेलनमा माथिल्लै तहका कार्यकर्ताले आफूलाई बखेडा निर्माताका रूपमा प्रस्तुत गरेका छन् । उनीहरूको एउटै मात्र डर विश्व झमेलाबाट मुक्त हुने छ कि भन्नेमा छ । जति बेला त्यस्ता झमेला पैदा हुन्छन्, उनीहरू प्रसन्न हुन्छन् । उनीहरूको सिद्धान्त यस्तो छ : “विश्वमा शान्ति छायो भने एकचौथाइ मान्छे सुखी शान्त हुने छन् र सुव्यवस्था कायम हुने छ । त्यसले उनीहरूलाई अप्ठ्यारोमा पार्ने छ । जति चाँडो आँधीहुरी चल्ने छ, उनीहरू खुसी हुने छन् । जस्तो कि पुग्दो सुँगुरको मासु, पुग्दो तरकारी, पुग्दो साबुन, पुग्दो मात्रामा महिलाको कपाल च्याप्ने चिम्टी पाइएन भने उनीहरू त्यसैलाई पक्रेर भन्ने छन्- “तिमीहरूले बर्बाद बनायौ !” उनीहरूले यसो पनि भन्ने छन् कि त्यो पूरा गर्ने जिम्मा तिमीहरूको हो, हाम्रो होइन ।

संगठनले बैठक र निणर्य गर्दा उनीहरू चुँसम्म पनि गर्दैनन् । जस्तो कि पेइताइहो सम्मेलन भयो, न त्यहाँ चेङचाउ सम्मेलन भयो, न त उचाङ सम्मेलनमा नै होस्, उनीहरू फिटिक्कै बोलेनन् । साङ्घाई सम्मेलनमा भने उनीहरूले थोरै बकबक गरे तर हामीले उनीहरूको कुरा सुनेनौँ । त्यसपछि भने उनीहरू लगातार बकबक गरिरहेका छन् । ती सब बकबक तरकारी, मासु, अन्न, साबुन र यहाँसम्म कि छाताका बारेमा समेत गरिएका छन् । जस्तो कि जति बेला चेकिआङमा छाताको अभाव भयो, उनीहरूले त्यसलाई ‘बाँडफाँडमा गरिएको विमाख’, ‘निम्नबुर्जुवा चाला’ आदि भने । अल्पसङ्ख्यामा रहेका यस्ता मान्छेहरू कम्युनिज्ममा प्रवेश गर्नु र साँचो मार्क्सवादी बन्नु चर्कै गीत हो । मैले यसरी निकै चर्को छ भन्नुको अर्थ सम्भव छँदै छैन भनेको होइन । लिउ पोचेङले भने झैँ उनीहरू पूणर् रूपमा फेरिएर नयाँ रूपमा आउनु आवश्यक छ । ती जो युद्ध सरदार थिए, ती त युद्ध सरदार नै भए तर जो युद्ध सरदार थिएनन्, जस्तो कि अमुक कमरेडलाई लिन सकिन्छ, उनीहरूलाई ‘ के भन्ने  ? उनीहरू युद्धसरदार ठहरिए त  ? उनीहरूलाई शिक्षित सरदार या प्राज्ञिक सरदार भन्न सकिन्छ । यदि तपाईं पूणर् रूपमा फेरिनुभएन भने कम्युनिज्मको ढोकाबाट भित्र छिर्न सक्नुहुन्न ।

पाँचपटक त लाइनकै बारेमा गल्ती भएका छन् । ली ली सान लाइन पहिलो र दोस्रो वाङ मिङ लाइन, काओ-जाओ लाइन र अहिले पेङ-हुआङ-चाङ-चाउ लाइन । कसैले पाँच पाँचपटकसम्म गल्ती गर्छन्, कसैले त्यति धेरै गल्ती गरिरहँदैनन् । जस्तो कि ली ली सान लाइनका समयमा हामीसँग रहनुभएका अमुक कमरेडहरू अहिले हामीसँग हुनुहुन्न ।

पेङ र हुआङको कुरा गर्ने हो भने ली ली सान लाइनका समयमा उनीहरूमाथि आक्रमण भयो । यो कुनै संयोग थिएन । ती पाँचओटा गलत लाइनको गम्भीर प्रकृति हेर्दा पछिल्ला दुईओटा अर्थात् काओ-जाओ र पेङ-हुखाङ लाइन पार्टीलाई चिराचिरा पार्न कोरलिएको षड्यन्त्र थियो । यो पार्टी अनुशासनको उल्लङ्खन हो ।

मार्क्सवादी पार्टी अनुशासित पार्टी हुनुपर्छ तर उनीहरू सर्वहाराको पार्टी अनुशासित हुनुपर्छ । लौह अनुशासनमा रहनुपर्छ भन्ने लेनिनको विचार बुझ्दैनन् तर यी कमरेडसँग कस्तो खालको अनुशासन छ  ? लौह अनुशासन, स्टिल अनुशासन, काठ, पानी, आगो अथवा पृथ्वी अनुशासन, कुन अनुशासन छ उनीहरूसँग  ? कि काठे अनुशासन अथवा क्वाँटी अनुशासन  ? पानी अनुशासन भन्नु कुनै अनुशासन नै नहुनु हो । त्यस्तो अवस्थामा हामी उनीहरूसँग कसरी लौह अनुशासनको बारेमा कुरा गर्न सक्छौँ  ? फुटवादी गतिविधि सञ्चालन गर्नु भनेको अनुशासन तोड्नु हो, त्यसको उद्देश्य र परिणाम सर्वहारा अधिनायकवाद सखाप गरेर अर्को खालको अधिनायकवाद स्थापित गर्नु नै हो ।

एकताको नारा अत्यन्तै महत्वपूर्ण छ । मार्क्सवादीको एकतासम्बन्धी नारा हो- ‘विश्वका मजदुरहरू एक होऔँ !’ तर ती फुटवादी होइनन् । उनीहरूका लागि जति थोरै भयो, त्यति जाति हुन्छ नि । उनीहरू आफ्नै हातमा सबै तालाचाभी राखेर बहुसङ्ख्यक जनतालाई आफ्नो खटनअनुसार चलाउन चाहन्छन् । लुसान सम्मेलनमा उनीहरूले एकताको नारा उठाएनन् किनभने त्यसो गर्दा उनीहरूले खुट्टा घुमाउन पाउँदैनथे । एकताको नारा उनीहरूको चासोको कुरा नै थिएन । त्यसैले त उनीहरूले त्यो नारा उठाउने हिम्मत गरेनन् ।

एकताको प्रश्नभित्र ती जनता पनि पर्छन्, जसले गल्ती गर्छन् । उनीहरूलाई एकगठ गर्नकै लागि गल्ती सच्याउन मदत गरिन्छ, ती जो गल्ती गर्दैैनन्, उनीहरूलाई नछुनुहोस् तर ती अनुशासनविहीन उनीहरूलाई सखाप गर्न चाहन्छन् । उनीहरूको नीति भन्नु नै एकताको होइन, ध्वंसको हो । उनीहरूले बुनेको ब्यानर ध्वंसमा बुनिएको ब्यानर हो । त्यसो भन्नुको अर्थ हो : आफूभन्दा फरक विचार राख्नेलाई सिध्याउनु । उनीहरू त्यसरी फरक विचार भएकालाई खराब ठान्छन् । अहिले उनीहरूले कथित खराब भनेका जनता वास्तवमा अत्यधिक बहुसङ्ख्यामा छन् । उनीहरू झन्डै ९५ प्रतिशतको हाराहारीमा छन् ।

तपाईं एकता चाहनुहुन्छ भने तपाईंमा अनुशासन हुनुपर्छ । त्यसो भयो भने हाम्रो मुलुक एकदुईओटा पञ्चवर्षीय योजनामै अभूतपूर्व रूपमा शक्तिशाली राष्ट्र बन्ने छ । अहिले सिंगो देशका जनता, सिंगो पार्टीको ध्यान एकदुईओटा पञ्चवर्षीय योजनाकै अवधिमा देशलाई कसरी बलियो बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्दछ । त्यसका लागि चाहिन्छ- लौह अनुशासन । त्यसो नभईकन देशलाई बलियो बनाउन सकिन्न । त्यसैले हामीले एक हुनैपर्छ ।

म प्रश्न सोध्न चाहन्छु : अन्यथा हामी कसरी हाम्रो लक्ष्य पूरा गर्न सक्छौँ त  ? अन्यथा के हामी समाजवादी देशको निर्माण एकदुईओटा पञ्चवर्षीय योजनाकै बिचमा गर्न सक्छौँ त  ? हिजो हामीले क्रान्ति गर्नैपथ्र्यौ, आज हामीले निर्माण गर्नैपर्छ । यो सम्भव छ कि छैन  ? बिनाअनुशासन केही पनि गर्न सकिन्न । एकताका निमित्त अनुशासन नितान्त जरुरी छ ।

ताइहाङ पहाडमा पेङतेहुई भन्नेबारेमा थुप्रै सामग्री उपलब्ध छन् । कृपया पेङतेहुईले ताइहाङ पहाडमा जापान विरोधी युद्ध चालु रहँदा बोलेको कुरा र सनयात सेनले कोमिन्ताङ पार्टीको प्रमुख राष्ट्रिय सम्मेलनमा तयार पारेको घोषणापत्र तुलना गरेर हेर्नुहोस् । एक जना कोमिन्ताङ सदस्य छन्, अर्को कम्युनिस्ट पार्टीको । समयकै कुरा गर्ने हो भने एउटा १९२४ मा लेखिएको छ भने अर्को १९३८/३९ र ४० मा । कम्युनिस्टहरू कोमिन्ताङ पार्टीका सदस्य सनयात सेनको तुलनामा पछि देखिन्छन् ।

सनयात सेन कम्युनिस्ट पार्टीबाट प्रभावित थिए । उनले त्यो घोषणापत्र किन लेखे त  ? मैले उनको घोषणापत्र भर्खरै हेर्न पाएँ । कोमिन्ताङ पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको सनयात सेनको त्यो घोषणापत्रमा वर्गीय विश्लेषणको गुदी छ । कसरी उनले कम्युनिस्टको लौह अनुशासन अवलम्बन गरे  ? कसरी उनी सर्वहारा अनुशासनसँग सहमत भए  ?

कम्युनिस्टको भाषा, आम पक्षधरता र आम दृष्टिकोणबिना अनुशासन कायम हुनै सक्दैन । म त भन्छु, पेङतेहुई सनयात सेन बराबर छैनन् । चाङवेन तेन पनि सनयात सेनसँग तुलनायोग्य व्यक्ति होइनन । सनयात सेन त्यस बेलाका खरो क्रान्तिकारी थिए तर यी कामरेडहरू भने डरपोक । उनीहरूको ध्याउन्ना कसरी संगठन बलियो बनाउन सकिन्छ भन्नेमा भन्दा पनि कसरी भत्काउन सकिन्छ भन्नेमा बढी छ । उनीहरूले जुन नारा अघि सारेका छन्, त्यसले शत्रुलाई फाइदा, जनता र वर्गलाई क्षति पुर्‍याउने खालको छ । यहाँ त्यस्ता थुपै्र विचार छन् ।

पितृभूमिको विरुद्धमा विदेशीको पछि लागेर षड्यन्त्र गर्नेहरूको कदापि समर्थन गर्न सकिन्न । कमरेडहरूले यस विषयमा प्रशस्त कुरा उठाए किनभने ती सबै हाम्रै संगठन कम्युनिस्ट पार्टीका सदस्य थिए । उनीहरू सबै मार्क्सवादी थिए । हामी एउटा समूहले अर्कोलाई सिध्याउने कुराको कहिल्यै समर्थन गर्न सक्दैनौँ । हामी कम्युनिस्ट पार्टीका कुनै पनि सदस्यलाई विदेशी मुलुकका पार्टी संगठन सखाप पार्न अनुमति दिन सक्दैनौँ अथवा एउटा समूहका जनता विरुद्ध अर्को पक्षलाई उचाल्न दिँदैनौँ । त्यस्तै गरेर हामी यसो पनि गर्न दिँदैनौँ, केन्द्रको आडमा विदेशीले फैलाएको अफवाहमा जनता रमिते होउन् ।

अब म गल्ती गरेका हाम्रा कमरेडहरूलाई सचेत गराउन गइरहेको छु । गल्ती गर्ने कमरेडहरू अनपेक्षित र आकस्मिक ढंगले हुने आलोचना खप्न तयार भएर रहनुहोस् ।

विगतमा मैले केही कमरेडको गल्ती औँल्याइदिएको थिएँ । जस्तो कि कमरेड लोपिङ हुइलाई लिन सकिन्छ । त्यस बखत् उहाँले गल्ती स्वीकार पनि गर्नुभएको थियो । उहाँ त्यति बेला रिसले आगो हुनुभयो । त्यसपछि मैले उहाँलाई भनेँ- “तपाईं यसरी नरिसाउनुहोस् । तपाईंंले आफ्नो गल्ती स्वीकार गरिसक्नुभएको छ । त्यसैले जनतालाई यसबारेमा बोल्न दिनुहोस् । जनतालाई त्यति बेलासम्म बोल्न दिनुहोस्, जति बेलासम्म उनीहरूको बोल्ने कुरा सकिँदैन । उनीहरूले तपाईंका बारेमा कुरा काट्न छोडे भने तपाईंले बुझ्नुहोस् कि तपाईं सच्चिसक्नुभयो । यदि तपाईंले जनताप्रति मित्रवत व्यवहार गर्नुभयो । आफ्नै कमजोरीका बारेमा आत्मालोचना गर्नुभयो भने कसले तपाईंको खोइरो खनेर बसिरहन्छ  ? उनीहरू त्यसपछि तपाईंका बारेमा कुनै नाकनिक गर्ने छैनन् ।”

तपाईं कमरेडहरू जजसले यति बेला आफ्नो गल्ती स्वीकार गर्नुभएको छ, म तपाईंहरूलाई अनपेक्षित र आकस्मिक ढंगले हुने आलोचना खप्न सक्ने भएर बस्न आग्रह गर्छु । चाँडै तपाईंहरूका एक एक गल्ती औँल्याइने छन् । त्यसबाट तपाईं तर्सनुहुन्न । जनताले तपाईंका बारेमा वर्षौं आलोचना गर्छन् । तपाईंका बारेमा टीकाटिप्पणी कति लामो समयसम्म चल्छ भन्ने कुरा तपाईंमै निर्भर हुन्छ । तपाईंले आफ्ना कमजोरी सच्चाउन जति समय लगाउनुहुन्छ, त्यही आधारमा तपाईंको टीकाटिप्पणी पनि हुने हो । तपाईंको आफ्नो गल्ती चाँडै सच्याउनुभयो भने केही महिनाकै बिचमा जनताले तपाईंको कुरा गर्न छाड्छन् । यदि तपाईंले आफ्नो गल्ती कछुवाको तालमा सच्याउनुहुन्छ भने जनताले पनि तपाईंमाथि टीकाटिप्पणी गर्ने काम वर्षौं पछि मात्र छाड्छन् ।

चाँडो होस् या ढिलो—मुख्य कुरा गल्ती सच्याउनु हो । तपाईं जनताप्रति इमानदार हुनुपर्छ । कपटी हुनुहुँदैन । तपाईं इमानदार हुनुपर्छ र इमानदारिपूर्वक बोल्नुपर्छ । म गल्ती गर्ने कमरेडलाई के अनुरोध गर्छ भने तपाईंहरू सदैव अत्यधिक बहुसङ्ख्याकै पक्षमा खडा हुनुपर्छ । उनीहरूलाई सहयोग गर्नुपर्छ । तपाईंहरू तपाईंसँग बोलीमा लोली मिलाउने मुट्ठिभर मान्छेको पछि लाग्नु हुँदै-हुँदैन । त्यसपछि मात्र तपाईंले यी दुईओटा कुरा गर्न सक्नुहुन्छ : पहिलो- तपाईं आफूमाथि भएका टिप्पणी खप्न सक्ने हुनैपर्छ । तपाईं सुन्न तयार हुनैपर्छ र तपाईंले आफ्नो खप्परलाई बन्धिलो बनाउनैपर्छ । जब तपाईं बोल्नुभयो, मैले सुनेँ, म तपाईंको कुरासँग सहमत भएँ । मैले आफ्नो गल्ती स्वीकार गरेँ ।

एक जना आह क्यु भन्ने पात्रमा केही समस्या थियो । उनको दिमाग चुस्तदुरुस्त थिएन । किरैकिराले भरिएको थियो । उनी यो कुरा मान्न तयार थिएनन् । अरूले त्यसबारेमा कुरा गर्ने निधो गरे र तुरुन्तै उनीसँग कुरा पनि गरे तर उनी रिसले आगो भए । जस्तो कि उनको दिमागको किरा खैरो भइसकेको थियो तर त्यसबारेका उनी कुरै गर्दैनथे । अरूले त्यो किरा त खैरो भइसकेछ नि भन्दा उनी राँकिएर जाइलाग्थे ।

लेखक लुसुनले यहाँ रैथाने किसानको चित्रण गरेका हुन्, जो सचेत भइसकेको थिएन । आह क्यु असल मान्छे हुन् । उनले कहिल्यै गुट बनाएनन् तर उनी त्यस्ता मान्छे थिए, जसमा सचेतना आइसकेको थिएन, जो कमजोरीका बारेमा गरिएका कुरा खप्न सक्ने खालका थिएनन् । उनले यसबारेमा कहिल्यै नसोचेकाले अरू उनीसँग त्यसबारेमा कुरा गर्न चाहन्थे तर जब अरूले यसबारेमा कुरा गर्न सुरु गर्थे, उनी तुरुन्तै रिसले आगो भइहाल्थे, तुरुन्तै राँकिएर जुध्न आइलाग्थे । लाप्पा जुध्दा उनी कहिल्यै जित्दैनथे । त्यसलाई उनी जसरी बाबु आफ्नै छोराको हातबाट चुटिन्छ, यो त्यस्तै भयो भनेर आफू चुटिनुको व्याख्या गर्थे ।

मान्छेहरू उनलाई भन्थे- “आह क्यु यदि मबाट पिटाइ नखाने हो भने तिमीले छोराले होइन, बाबुले छोरालाई गोद्यो भन न त । त्यसो भन्यौ भने म तिमीलाई पिट्दिनँ ।” ‘ठिक छ’ त्यसपछि आह क्यु भन्थे- ‘बाबुले आफ्नो छोरालाई पिट्यो ।’ उनले यति भनिसकेपछि उनलाई पिट्ने मान्छेहरू आफ्नो बाटो लाग्थे । आह भने आफूले पिटाइ खाएको कुरालाई बुबाले होइन, छोराले पिटाइ खाएको हो भनेर के जातिको न्यानो भने जस्तो गरेर मख्ख पर्थे ।

कमरेडहरूलाई म फेरि पनि के भन्छु भने जजसले गल्ती गर्नुभएको छ, उहाँहरूले आफूलाई तिखा टिप्पणी सुन्न तयार पार्नैपर्छ । थुप्रै थुप्रै आलोचना खप्न तयार पार्नैपर्छ । उहाँहरू जनताप्रति इमान्दार हुनैपर्छ ।

जनतालाई ढाँट्नु हुँदैन । अर्को कुरा, उहाँहरू बहुसङ्ख्यकको पक्षमा उभिन छाड्नुहुन्न । उहाँहरूले गर्ने कामको मूल्याड्ढन यिनै आधारमा गरिन्छ ।

मलाई के लाग्छ भने उहाँहरूले आफूलाई शुद्धीकरण गर्नुहुने छ अन्यथा भएमा उहाँहरूले आफूलाई सच्याउन सक्नुहुन्न । उहाँहरू आलोचना सुन्न तयारै हुनुहुन्न । जनताप्रति इमान्दारै हुनुहुन्न । ढाट्ने काम नै गर्नुहुन्छ । त्यसमा थप बहुसङ्ख्यकको पक्षमा पनि उभिनुहुन्न भने त त्यो चर्कै गल्ती हुन्छ । ती जसले ऋषिमुनि तथा साधुसन्त र प्रकाण्ड व्यक्तिहरूको रक्षा गर्छ, उसले गल्ती गर्दैन भन्ने जो उखान छ, त्यो वास्तविक जीवनमा कामलाग्दो छैन किनभने स्वयम् ती ऋषिमुनिहरू गल्ती गर्छन् । ठुलाले गरेको गल्ती त सूर्य र चन्द्रमामा लागेको कालो धब्बा अर्थात् ग्रहण जस्तै हो । उनीहरूले गरेका गल्ती झन् सारा संसारले हेर्छन् । उनीहरूले आफूलाई फेर्छन् । त्यसैले अरू मान्छे फेरि उनीहरूप्रति ढल्कन्छन् ।

हुन त हामी कन्फ्युसियस होइनौँ तर हामीले कन्फ्युसियसले गरेका गल्ती पनि हेरेका छौँ । यसले के देखाउँछ भने गल्ती गर्दै नगर्ने अपवादका मान्छे कोही पनि हुँदैन । फरक यति हो कि कसैले बढी गल्ती गर्छन्, कसैले कम । कसैले ठुला गल्ती गर्लान्, कसैले साना । गल्ती हुन्छ—त्यो अस्वाभाविक होइन तर हामीले हाम्रा गल्तीलाई ऐजेरु बन्न दिनुहुँदैन । हामीले त्यसलाई त्यत्रो आश्चर्य मान्नुपर्ने छैन । अग्रसर भएर सच्याउनुपर्छ । ‘ठुलाले गरेको गल्ती त सूर्य र चन्द्रमामा लागेको कालो धब्बा अर्थात् ग्रहण जस्तै हो’ यो कुरा भनेको त्यस्तो कुरा हो, जति बेला दैवी कुकुरले सूर्य र चन्द्रमालाई खाइदिन्छ । उनीहरूले गल्ती गरेकाले त्यसरी कुकुरले खाएको हो । त्यति बेला पनि मान्छेहरूले सूर्य र चन्द्रमालाई हेर्छन् । फेरि उनीहरूले आफ्ना गल्ती सच्याउँछन् र कुकुरले छाडिदिन्छ । त्यति बेला पनि ‘सारा संसारले उनीहरूलाई नै हेर्छन् ।’

हामीले केही सिक्नु छ भने मार्क्सवाद-लेनिनवादको अध्ययन गर्नैपर्छ । फलाना कमरेडहले अध्ययनको सवालमा अगाडि सार्नुभएको प्रस्तावको म पूरापूर समर्थन गर्छु । अपवादबाहेक हामी सबले अध्ययन गर्नुपर्छ तर हामीसँग अध्ययन गर्ने पर्याप्त समय छैन भने के गर्ने त  ? त्यस्तो अवस्थामा सबैतिरबाट समय उबार्नुपर्छ । समस्याका जड पढ्ने बानी बसाल्न नसक्नुमा छ । एकचोटी त्यो बानी बसालिसकेपछि विस्तारै विस्तारै त्यसमा हाम्रो रस बस्दै जान्छ ।

म यो कुरा सर्वप्रथमतः ती कमरेडहरूको भलाइका लागि पनि भनिरहेको छु र म स्वयम्का लागि पनि । मैले नपढेका थुप्रै कुरा छन् । म पनि थुप्रै विषयमा आलोकाँचो मान्छे हुँ । म सबै कुरा जान्ने मान्छे होइन । कतिपय मेरा यस्ता सन्दर्भ पनि छन्, जति बेला म आफैँलाई मन पराउँदिनँ । म स्वयम् पनि माक्र्सवादको सबै पक्षमा पोख्त छैनँ । म त्यति धेरै विदेशी भाषा जान्दिनँ । अर्थशास्त्रको अध्ययन त भर्खर भर्खर सुरु गरेको छु तर कमरेडहरू ! म मन बाँधेर पढ्छु । नमरुन्जेल पढ्छु । जब म मर्छु, त्यसपछि मात्र मेरो पढ्ने कुरा ठेगान लाग्ने छ । छोटकरीमा भन्दा नमरुन्जेलसम्म म दिनदिनै केही न केही पढ्छु । आउनुहोस्, हामी सबै मिलेर त्यस्तो पढ्ने वातावरण सिर्जना गरौँ । मैले थोरै थोरै नै सही तर अझ बढी सिक्नु छ, नत्र त मानिलिऊँ, माक्र्ससँग भेट भएँ भने र मलाई सोध्नुभयो भने मैले के जवाफ दिने  ? होइन र  ? उहाँले पक्कै पनि चिनियाँ क्रान्तिका सबै पक्षका बारेमा चासो राख्नुहुने छ । जबकि म न प्रकृति विज्ञान, न त इन्जिनियरिङका बारेमा नै धेरै जानकार छु ।

अहिले पढ्नुपर्ने कुरा धेरै छन् तर ती सबै कसरी पढ्ने त  ? थोरै पढ्नुहोस् । निरन्तर पढ्नुहोस् तर घोत्लिएर पढ्नुहोस् । यही नै हो, काइदाको कुरा ।

म तपाईंहरूसित भन्छु, तपाईंले साँच्चै वाचा गरेर लागिपर्नुभयो भने अवश्य छिचोल्नुहुने छ । त्यसमा तपाईं पाको हुनुहुन्छ या ठिटा, त्यसले केही फरक पर्नेवाला छैन । म तपाईंहरूलाई त्यसको उदाहरण दिन सक्छु ।

वास्तवमा मैले राम्ररी पौडन जानेको भनेको १९५४ मा न हो । त्यसभन्दा पहिले म राम्ररी पौडिन सक्दिनथेँ । १९५४ मा म सिङ्घुआ विश्वविद्यालयको स्विमिङ पुलमा हरेक साँझ झोला बोकेर जान्थेँ । कपडा फेर्थे र लगातार तीन महिनासम्म एक दिन पनि नबिराइकन पौडी खेल्दै पानीको प्रकृति कस्तो हुँदो रहेछ त भन्ने कुरा बुझ्थेँ । पानीले मान्छेलाई नडुबाउँदो रहेछ । पानी मान्छेदेखि डराउँदो रहेछ तर मान्छे नडराउँदो रहेछ । यद्यपि त्यस्ता अपवाद पनि छन् तर जस्तोसुकै पानीमा पनि पौडिन सकिने रहेछ । मूल कुरा यो हो । जस्तो कि उहानको याङसेमा पानी छ, त्यसैले त्यहाँ मज्जाले पौडिन सकिन्छ । म याङसे नदीमा पौडिन सकिँदैन भन्ने कमरेडहरूको पक्षमा छैनँ । म उहाँहरूलाई भन्छु- “तपाईंहरूले अझै पनि तर्कशास्त्रको बारेमा अध्ययन नै गर्नुभएको छैन ।” एकदुईओटा अपवादबाहेक तपाईं पानीमा पौडिन सक्नुहुन्छ । यो तर्कशास्त्र हो तर तपाईं यस्तो अवस्थामा भने पौडन सक्नुहुन्न, जस्तो कि पानी एक इन्च मात्रै गहिरो छ । पानी चिसिएर जाम भएको छ अथवा त्यहाँ सार्क जस्ता माछाहरूको बिगबिगी छ या याङसे नदीको तीनओटा ठुल्ठुला घाँटीमा जस्तो भुमरी परेको छ भने त्यस्तो ठाउँमा पौडी खेल्न सकिन्न । यस्ता केही निश्चित अवस्थामा बाहेक पानीमा पौडी खेल्न सकिन्छ । गुदी कुरा यही हो, जुन व्यवहारबाट जानिन्छ ।

छोटकरीमा भन्दा उहानको याङसे पानी हो । त्यसैले त्यसमा मज्जाले पौडिन सकिन्छ । त्यस्तै, मिलो र पर्ल नदी पनि पानी नै हुन् । त्यसकारण तपाईंहरू त्यसमा पौडिन सक्नुहुन्छ । तपाईंहरू पौताहोमा पौडिन सक्नुहुन्छ । यो पनि पानी नै हो नि । होइन र   ? जहाँ पानी छ, त्यहाँ पौडिन सकिन्छ । गुदी कुरा यही हो तर एकदुईओटा परिस्थितिमा तपाईं पौडिन सक्नुहुन्न । जस्तो कि माथि भनिए झैँ पानीको गहिराइ एक इन्च मात्र छ, पानीको तापक्रम १०० डिग्री या त्यसभन्दा बढी छ अथवा पानी अत्यधिक चिसोले जाम भएको छ अथवा सार्क माछा र भमुरीको खतरा छ । यस्ता परिस्थितिबाहेक जस्तोसुकै पानीमा पनि पौडिन सकिन्छ । सत्य यो हो ।
के तपाईंहरूलाई यसमा विश्वास छ  ? यदि तपाईंसँग इच्छाशक्ति छ, तपाईं तत्पर हुनुहुन्छ भने जुनसुकै पनि काम पूणर् गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । म कमरेडहरूलाई पढ्न जोडदार आग्रह गर्छु ।

हामीले हालसालै मात्र तियानमेनमा भव्य हल देख्यौँ । यो बडा गजबको चिज भएको छ । के तपाईंहरू त्यो हेर्न चाहनुहुन्छ  ? (सबै सहभागीहरूले एकै स्वरमा भने- ‘हो !’) । यसबारेमा तपाईंहरूलाई कामरेड वान लीले बताउनुहुने छ । ती ठिटाको नाम वान हो, होइन  ? उहाँ दिनमा दस हजार लीको गतिमा काम गर्न सक्नुहुन्छ । मात्र दस महिनामा हामीले त्यो भवन बनायौँ भन्दा धेरैले विश्वासै गरेनन् । यहाँसम्म कि हामीले सोभियत विज्ञहरूलाई पनि यो कुरा भन्यौँ तर उनीहरूले समेत विश्वास गरेनन् । यही वर्षको जुनमा आएर भने उनीहरूले यो करा स्वीकार गरे । सेप्टेम्बरमा त उनीहरूले चीनले साँच्चै महान् फड्को मारेको छ भनेर प्रशंसा नै गरे ।

त्यो हल निर्माण गर्न मुलुकभरिबाट विभिन्न प्रदेशबाट १२ हजार जति दक्ष जनशक्ति र विज्ञ झिकाइएको थियो । आइतबारसमेत बिदा नबसी उनीहरूले दिनमा तीन सिफ्ट काम गरे । सुरुमा आठ घण्टाबाट काम गर्न थालेका उनीहरूले पछि त बाह्र घण्टासम्म काम गरे तर के उनीहरूले त्यो अतिरिक्त चार घण्टाको छुट्टै ज्याला मागे  ? अहँ ! त्यस्ता थुप्रै छन्, जो निर्माणकार्य सम्पन्न नहुँदासम्म लगातार काम गरे । त्यस्ता मान्छेह पनि छन्, जो लगातार दुई दिन, दुई रातसम्म झिमिक्क पनि गरेनन् । उनीहरू आठ या बाह्र घण्टा मात्र होइन, ४८ घण्टासम्म खटे । त्यसका लागि उनीहरूले भौतिक सुविधा चाहे  ? के उनीहरूले थप युआन भुक्तानी मागे  ? के उनीहरूले एक घण्टाको एक युआन भुक्तानी गर भनेर माग गरे  ? अहँ । उनीहरूले त्यस्तो केही पनि मागेनन् । उनीहरूका लागि भौतिक वस्तुप्रतिको लालचको पनि कुनै अर्थ थिएन । नाथे महिनाको ५० युआन ज्यालाका लागि पनि उनीहरू मरिहत्ते गरिरहेका थिएनन् तर उनीहरू साझा कामका लागि डटिरहेका थिए ।

१२ हजार स्टाफ र मजदुरले त्यो विशाल काम दस महिनाकै अवधिमा सम्पन्न गर्नु चानचुने कुरा होइन । त्यसमा ‘हरेकलाई कामअनुसारको दाम’ भन्ने आधारमा होइन बरु हरेकले लेनिनले भने जस्तै “कम्युनिस्ट शनिबार” भन्ने त्यागको भावनाले आफ्नो रगत, पसिना खर्चेका हुन्, जसका लागि उनीहरूले थप दाम मागेका थिएनन् ।

कमरेडहरू, गएर हेर्नुहोस् । त्यस्तै, अर्को मियुन रिजभ्र्वाएर (पानी जम्मा गर्ने ट्याङ्की/पोखरी) पनि छ । राजनीतिक कमान्ड र भौतिक सुविधा तथा राजनीतिक काम र कामअनुसारको उचित ज्यालाको संयोजन हुनु धेरै राम्रो कुरा हो । हामी सबैमा तत्परता र दृढ इच्छाशक्ति छ । त्यसै भएकाले मान्छेहरूले नपत्याएका काम हामीले गरेरै छाडेका छौँ ।

मैले त्यही विशाल अडिटोरियम हलको कुरा गरेको हुँ, जुन पूरा गर्न सम्भव छैन भनेर धेरै खिज्याएका थिए तर उनीहरूले हावा खाए । हामी भने लगातार अगाडि बढिरहेका छौँ । जस्तो कि हामीले आइरन र स्टिल उत्पादन उद्योग र कृषिमा तीव्र गतिमा प्रगति गरिरहेका छौँ । अध्ययनको कुरा पनि त्यस्तै हो । हामीले लागिपर्‍यौँ भने अध्ययनको क्षेत्रमा पनि यसरी नै प्रगति गर्न सक्छौँ ।

हामीले गर्नु धेरै छ तर समय साह्रै थोरै छ भनेर तर्सनुपर्दैन । त्यसलाई मिलाउने खुबी हामीसँग छ । यस्तो बानीको विकास गर्न थालिहालौँ । हामीले संसार जित्ने छौँ । हाम्रो ध्येय संसार जित्नु हो । अहिले नै सूर्यको कुरा नगरौँ । जहाँसम्म चन्द्रमा, बुध, मंगल जस्ता पृथ्वीबाहेकका आठओटा ग्रहका कुरा छन्, निकट भविष्यमा तिनीहरूको अध्ययन-अनुसन्धान गर्ने छौँ र सक्यौँ भने हामी ती ग्रहमा समेत पाइला राख्ने छौँ । यस धर्तीमा हामीले जुन रूपमा काम गरिराखेका छौँ, त्यो जारी रहने छ । हामी साँच्चै शक्तिशाली मुलुक निर्माण गर्न गइराखेका छौँ भने, हामीले यस्तो भव्य सभाहल, थुप्रै नहर र कारखाना खोल्नु छ भन्ने दृढसड्ढल्प गर्नैपर्छ । यो नै हाम्रो उत्तम बाटो हो । सिंगो पार्टी र आम जनता एक होऔँ ! विश्वका सर्वहारा एक होऔँ ! हामीले अवश्य पनि जित्ने छौँ ।

(सेप्टेम्बर ११, १९५९ मा सम्पन्न सैन्य मामिला र बाह्य मामिलासम्बन्धी सम्मेलनमा अध्यक्ष माओद्वारा दिइएको भाषण)
माओत्सेतुङ, माओका दुर्लभ रचनाहरू (दोस्रो संस्करण : वि.सं. २०६९), सम्पादक : भोगीराज चाम्लिङ, काठमाडौँ : खोजी प्रकाशन गृह ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार