
काठमाडौँ । सरकारले सवारी दुर्घटना न्यूनीकरणलगायत यातायात क्षेत्रमा सुधारका लागि अध्ययन कार्यदल बनाएको छ ।
२०७९ माघ १२ गते बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी प्रदूषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरण’ बारे अध्ययन गर्न कार्यदल गठन गरेको हो ।
उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको निर्णयअनुसार गठित उक्त सात सदस्यीय कार्यदलको संयोजक पूर्वसचिव शरद्चन्द्र पौडेल छन् ।
कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. पदमबहादुर शाही, यातायात विज्ञ मधुसूदन आचार्य र इन्जिनियर विजय गौतम सदस्य छन् ।
यातायात व्यवसायी महासङ्घका अध्यक्ष वा प्रतिनिधिलाई समेत सदस्य तोकिएको उक्त कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक सदस्य सचिव रहेका छन् । कार्यदलले अध्ययनलाई प्रतिवेदनका रूपमा पेस गर्ने भएको छ ।
















