कविता : आमा

– मधु क्षेत्री

आमा तिमी बलात्कृत हुँदा
रमाएर हेर्ने ती कपूतहरु !
आमा तिम्रो अस्मितामाथि धावा बोल्दा
ती विषालु नङ्ग्रा काट्न नसक्ने तिम्रा कपूतहरु
निर्लज्ज भएर हेरिरहेछन्
आफ्नो आमा बलात्कृत भएको
आमाका शरीर अङ्गभङ्ग भएको
अनि, लुछिरहेको ती नरपिचासहरुलाई
टुलुटुलु हेरिरहेछ, ती दुष्ट कपूतले
हो आमा ! तिम्रो शरीर बेच्ने ती कपूतहरु
आज चिल्लाकारमा गुडिरहेछन्
हवाइजहाज र हेलिकप्टरमा उडिरहेछन्
तिमी छटपटाइरहेकी छौँ
तिमी पीडा र वेदनामा डुबेकी छौँ
तिम्रा हात काटिँदा, तिम्रा खुट्टा भाचिँदा
तिम्रा शरीरका अङ्गप्रत्यङ्ग
टुक्रा–टुक्रा पारिँदा
ती कपूतहरु निर्लज्ज र निःशब्द भएर
टुलुटुलु हेरिरहेछन्
हो ! हिजोसम्म तिनिहरुले भन्ने गर्थे–
आमा चिन्ता नलिनुस् !
तिम्रा शरीरसित खेलवाड गर्ने
ती दुष्टहरुलाई सफाया गर्नेछौँ
तिम्रो अस्मिताको रक्षाका निम्ति
हामी सिरमा कात्रो बाँधेर रणभूमिमा उत्रनेछौँ
तर ती सबै ढोङ रहेछ, तिम्रा कपूतका
ती सबै जालझेल रहेछ, ती दुष्टहरुका
जब सत्तास्वादमा लिप्त भए ती कपूतहरु
आमालाई बेचेर जारी खान पल्के ती दुष्टहरु
तिम्रा शरीरका प्रत्येक अङ्गहरु
काटेर अलग गरिदिए
गण्डकी, कोशी र महाकालीको रुपमा
मालिकलाई भेटी दिए
आमा तिमीभित्र रहेका अनमोल खजानाहरु
कौडीको भाउमा मालिकलाई सुम्पिदिए
तिम्रो सिङ्गो शरीरलाई सात टुक्रा पारिदिए
तिम्रो टाउकोरुपी माने भञ्ज्याङमा
दुष्टहरु परेड खेल्दा
तिम्रा खुट्टारुपी लिपुलेक र लिम्पियाधुरामा
प्रतिकृयावादी दुश्मनले नङ्ग्रा गाड्दा
ती दुष्टहरुले अससल गरिसकेका थिए
तिम्रो मूल्य
ती कपूतहरुले आमाको बदला
जारी बुझिसकेका थिए
तर आमा ! यति पीडा सहादासहादै पनि
ती स्याना सपूतहरु
आफ्ना दूधका लाम्टा चुसाएर हुर्कायो
हो, पक्कै पनि आमा
आज ती सपूतहरु हुर्कदैछन्
स्यानाबाट ठुला हुँदैछन
तिम्रा काटिएका ती प्रत्येक अङ्गहरुलाई
जोड्नका निम्ति, टाउकोमा कात्रो बेरेर
रणभूमिमा हेलिनेछन्
आँधीबेहरी सृजना गर्नेछन्
जनसागर उर्लनेछ
तिम्रो अस्मिता बेच्ने ती गद्दारहरुलाई
जनताको कठघरामा उभ्याउनेछन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार