आफैलाई सर्वोपरि देख्नेहरू

विष्णु शर्मा ##

घर सपार्ने बेला भाग्नेहरू
घर बिगार्नकै लागि जाग्नेहरू ।
पद, मान र सम्मान माग्नेहरू
सामूहिक निर्णयलाई त्याग्नेहरू ।।

आफ्नैलाई झुटा आरोप लगाउनेहरू
उसैलाई नोक्सान पुर्‍याउन सघाउनेहरू ।
आफ्नाको ब्यइज्जत गर्नेहरू
ब्याकवाइटिङ गर्न लागि पर्नेहरू ।।

माथिको निर्देशनलाई नमान्नेहरू
गल्तीलाई स्वीकार्न नजान्नेहरू ।
लेख, कविता निर्देशनात्मक लेख्नेहरू
दुनियामा आफूलाई नै सर्वोपरि देख्नेहरू ।।

समाज रूपान्तरणबाट टाढा भाग्नेहरू
अरूबाट परिवर्तनको आशा राख्नेहरू ।
प्रगतिको श्रेय आफै लिनेहरू
दुर्गतिको अपजस अरूलाई दिनेहरू ।।

सामाजिक कामबाट टाढै रहनेहरू
अरूको होहल्लामा हावा झैँ बहनेहरू ।
आर्थिकमा पारदर्शिता नहुनेहरू
कामको नाममा सिन्कोसम्म नछुनेहरू ।।

प्रतिबद्धता पूरा गर्न नआउनेहरू
स्वयम्को आत्मप्रशंसा गरी रमाउनेहरू ।
झुट बोलेर सम्बन्ध टिकाउन खोज्नेहरू
जिम्माहरू आफूअनुकूल रोज्नेहरू ।।

तलकालाई आफ्नो कब्जामा राख्नेहरू
पर्दाभित्र तथानाम भाक्नेहरू ।
अरूको नाममा आफ्नै गोजी भर्नेहरू
अप्ठ्यारो देख्दा पछाडि सर्नेहरू ।।

लेखाइले जनवाद भर्खर ल्याउनेहरू
केही होइनन् भनी हातखुट्टा ख्याउनेहरू ।
मुखले समानता ल्याइदिनेहरू
व्यवहारमा उहीँ तगारो भइदिनेहरू ।।

कलमले दुनियाका महिलाको मुक्ति गर्नेहरू
आमा दिदीबहिनीलाई नै परिबन्दमा पार्नेहरू ।
सब कुराको मतियार आफू नै ठान्नेहरू
स्वयम्लाई सबैभन्दा क्रान्तिकारी मान्नेहरू ।।

बर्सौंसम्म मबाट हामीमा सम्म नबदलिनेहरू
सामान्य विषयमा नै सलबलिनेहरू ।
उपर्युक्त प्रवृत्ति जहाँ पनि घातक हुन्छन्
यस्ता बानीले घरसमाज जीर्ण बनाउन पुग्छन् ।।

यस्ता कृयाकलाप प्रवेशद्वारबाटै निस्तेज पार्नुपर्छ
यो विषालु रोगलाई जरैदेखि मार्नुपर्छ ।
हट्ने छन् बल्ल सबैमा भएका भुलहरू
समाजमा फुल्ने छन् सुनौला बासनादार फूलहरू ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार