वर्तमान सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको छ :  सिंह

जीवन शाही

७ माघ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मार्फत अनुदान सहयोग लिनु नेपालको असंग्लन परराष्ट्र नीतिविपरीत भएको दाबी गर्नुभएको छ ।

वर्तमान सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको महामन्त्री सिंहले आरोप लगाउनु भयो । “यो सरकारले आर्थिक प्रभोलनमा परेर देश बेच्न लागेको छ” उहाँले भन्नु भयो– “आर्थिक लाभका लागि देश नै बन्धकी राख्न पाइँदैन ।”

आन्तरिक पार्टी कार्यक्रममा सुर्खेत आएका सिंहसँग सञ्चार क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले एमसीसी चीन घेर्ने नीतिका साथ आएकाले यो सरकारको असंग्लन परराष्ट्र नीतिविपरीत भएको बताउनु भएको हो ।

नेपालले असंग्लन परराष्ट्र नीति अपनाएको अवस्थामा “अमेरिकाले कहिल्यै पनि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) इन्डो प्यासेफिक योजनाभन्दा अलग छ भनेको छैन” सिंहले भन्नु भयो– “यो त्यसैको एक हिस्सा हो । त्यसैले यो राष्ट्र हितविपरीत छ ।”

सरकारले एमसीसीलाई समर्थन गर्ने कार्यलाई अत्यन्त हल्का, अपरिपक्व र अदूरदर्शीतापूर्ण रूपमा लिएको छ । सर्वप्रथम त त्यसले यो कुरामा ध्यान दिएको पाइन्न कि त्यसको परिणामस्वरूप, अर्थात् एमसीसीलाई समर्थन गर्नुको परिणामस्वरूप नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ । त्यो अवस्थामा नेपाल, अमेरिकी साम्राज्यवादको क्याम्पमा मिल्न जानेछ, त्यसको परिणामस्वरूप चीनसितको नेपालको मैत्री सम्बन्धमा नकारात्मक वा प्रतिकूल असर पर्नेछ । विश्वका अन्य देशहरूका आँखाका अगाडि पनि नेपाल अमेरिकाको पिछलग्गू देशको रूपमा देखापर्ने बताउनु भयो ।

सिंहले अगाडी भन्नु भयो – “एमसीसीको साम्राज्यवादी र सैनिक स्वरूप बाहेक त्यसलाई जुन रूपमा अगाडि ल्याइएको छ । त्यसको कार्यान्वयनको सन्दर्भमा जुन शर्तहरू समावेश गरिएको छ, ती पनि असमान र गम्भीर प्रकारले आपत्तिजनक छन् । त्यसमा यो बताइएको छ कि त्यो सन्धिका धारणाहरूसित मेल नखाने नेपालका सबै कानुनहरू निष्क्रिय हुनेछन् । त्यसै गरेर त्यसको अडिटिङको अधिकार पनि अमेरिकालाई मात्र हुने बताइएको छ । त्यसप्रकारका शर्तहरू नेपालको सार्वभौमिकताका विरुद्ध भएको कुरा प्रष्ट छ ।”

महामन्त्री सिंहले – एमसीसी आईपीएस रणनीतिको अंग होइन भनेर प्रमाणित गर्नको लागि सरकारले जुन तर्कको सबैभन्दा बढी सहायता दिएको छ, त्यो हो स्वयं अमेरिकाले आधिकारिक रूपमा नै (एमसीसीलाई) आईपीएस रणनीतिको अंग बताइसकेपछि त्यसलाई अस्वीकार गर्ने नेपाल सरकारको प्रयत्नले उनीहरूले जसरी पनि त्यसलाई पारित गराउन गरेको प्रयत्न हो त्यसले वर्तमान सरकारको अमेरिकापरस्त चरित्रमाथि पर्दा हाल्ने प्रयत्न हो र त्यसप्रकारको चरित्रले नेपाली जनतासितको गम्भीर धोकाहुने बताउनु भएको छ ।

वर्तमान सरकार कम्युनिस्टको नभई यो सरकार वामपन्थीको सरकार भएको महामन्त्री सिंहले बताउनु भयो । “हामीले यो सरकार वामपन्थी सरकार भनेका छौं । जनपक्षीय सवालमा सहयोग र समर्थन गरेका छौं” उहाँले भन्नु भयो– “तर, यिनीहरूले आफ्नै घोषणापत्रमा उल्लेख गरेको समाजवाद उन्मुख कार्यक्रम पनि लागू गरेका छैनन् ।”

संघीयताले देशलाई टुक्रा–टुक्रा पार्ने भएकाले अहिले संघीयता आवश्यक नभएको भन्दै उनले त्यसकाविरुद्ध संघर्ष गर्न देशभर जागरण अभियान चलाइएको महामन्त्रि सिंहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार