कविता: देश दोबाटोमा छोड्नेहरू

– लक्ष्मणदेव पाण्डे

खबरदार देश दोबाटोमा छाड्नेहरू
कथित १५ सालको क्रान्ति गर्नेहरू
कथित २८ सालको विद्रोह गर्नेहरू
कथित ५२ सालको क्रान्ति गर्नेहरू

आज म तीनैथरिको अनुहार नियाँलिरहेको छु
म तीनैथरिको कुरूप अनुहार एउटै देखिरहेको छु
हो तिम्रा कथित क्रान्तिका समय फरक थिए
तिम्रा जनता झुक्याउने झुटा नारा फरक थिए

फरक समयमा देश चलाउने ठेकेदार तिमी
आफ्ना कार्यकर्ता र निर्दोष जनता मराउने तिमी
सत्तामा टिकिरहन देशको टुक्रा गराउने तिमी
अरबौँ भ्रष्टाचार गरी डुङ्डुङ्ती गन्हाउने तिमी

जनतालाई सपना बाँड्दै आन्दोलनमा होम्ने तिमी
जनतालाई दोबाटोमा छाड्दै दरबार घुस्ने तिमी
निर्दोष युवाहरूलाई सहिद बनाउने तिमी
सहिदको आलो रगत कुल्चिँदै सत्तामा पुग्ने तिमी

नेपालआमाको अङ्गमा साम्राज्यवादले नङ्ग्रा गाड्दा
तिमी कुपुत्रहरू टाढा बसी अट्टहास हाँसो हाँस्दा
अझै पनि नेपाली हुँ र क्रान्ति गरेको हुँ भनी डकार्दा
तिमी ज्युँदै छौँ र ? महान् सहिदको रगतले दुत्कार्दा

देश च्यातिएको छ, साम्राज्यवादबाट सीमा मिचिएको छ
भ्रष्ट र तिम्रा शरीरहरू सडकभरि निर्वस्त्र पारिएको छ
तिमीबाट देशलाई धोका दिँदै दोबाटोमा छाडिएको छ
तर तिमीहरूका विरुद्ध खबरदारी आवाज घन्किएको छ
स्वाभिमानीको तर्फबाट होशियार आवाज घन्किएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार