काठमाडौं । नेपाली कांग्रेस रुपान्तरणका लागि भन्दै अभियान सञ्चालन गरिरहेको असन्तुष्ट समूहले पार्टीको विशेष महाधिवेशन बोलाउने चेतावनी दिएको छ ।
अभियानअन्तर्गत मंगलबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित बागमती प्रदेश विशेष कार्यक्रम गर्दै पार्टीका औपचारिक समितिका बैठकहरु नबोलाए विधानले दिएको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन बोलाउने चेतावनी दिएको हो ।
सो अभियानको नेतृत्व गरेका कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसमिति बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने बताए । नेता आचार्यले उपसभापति र महामन्त्रीहरुले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे पनि नेतृत्वले नसुनेकोभन्दै आपत्ति जनाए।
कांग्रेसको विधानअनुरुप हरेक २ महिनामा कम्तिमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने व्यवस्था छ। तर, १० महिनादेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन।
भ्रष्टाचारका कुराहरुलाई पार्टीले ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने आचार्यको भनाइ थियो। कांग्रेस बिग्रिन र सिद्धिन लागेको भन्दै उनले पार्टीलाई जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गरे।