
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (जेठ १७ गते) नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै जन्मका आधारमा अंगीकृत नागरिकता लिएकाहरुका सन्तान अब वंशजको नेपाली नागरिक हुनेछन् । अंगीकृतका करिब पाँच लाख सन्तानले अब वंशजको नेपाली नागरिकता पाउने बाटो खुलेको हो ।
विधेयक प्रमाणीकरण भएपछि २०७२ असोज ३ अघि जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबुआमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन्।
कानुन नभएकैले जन्मका आधारमा यसअघि नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा बढीले नागरिकता पाएका थिएनन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब विधेयक ऐन बनेर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ।
राजपत्रमा प्रकाशित भएपछि गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा नयाँ व्यवस्थासहितको नागरिकता दिन परिपत्र गर्नेछ।
यस्तै, नेपालभित्र फेला परेका बुबाआमाको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने बाटो खुलेको छ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकमा भएका कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै थन्क्याएर राखेको सो विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको छेको पारेर राष्ट्रपति रामचन्द्र पौडेललले प्रमाणीकरण गरेका हुन् । विधेयक अघिल्लो वर्ष भदौदेखि शीतल निवासमा थन्किएर रहेको थियो ।
नौ महिना बढी समयदेखि रोकिएको विधेयकलाई सरकारले प्रमाणीकरणका लागि जेठ ९ र १२ गते राष्ट्रपतिसमक्ष अनुरोध गरेको थियो। त्यही आधारमा आफूले विधेयक प्रमाणीकरण गरिदिएको राष्ट्रपति पौडेलले बताएका छन्।
विज्ञप्तिमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘..संघीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः २०७९/०५/२० गते राष्ट्रपतिज्यूसमक्ष पठाइएकोमा हालसम्म उक्त विधेयक ऐन बन्नको लागि प्रमाणीकरण नभएकोले विभिन्न अवस्था र स्थितिसमेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको मिति २०८०/०२/१२ को निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मिति २०८०/०२/१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मबै ३२१/६९७४ को पत्रबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु।’
२०७९ साउन २९ गते संघीय संसद्का दुवै सदनबाट पारित भएको विधेयकलाई तत्कालिन राष्ट्रपति भण्डारीले फिर्ता पठाइन्। उनले त्यसबेला १५ बुँदे सुझाव समेत दिएकी थिइन्।
त्यसपछि फेरि भदौ २० गते संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाएको विधेयकलाई भण्डारीले असोज ५ गतेसम्म रोकेकी थिइन् भने त्यसपछि निर्वाचनका कारण संसद निस्क्रिय बनेको थियो ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि अंगीकृतले वंशजको र वैवाहिक नागरिकका सन्तानले नेपाली नागरिकता लिन पाउने बाटो खुलेको छ । यसले नेपालमाथि जनसांख्यिक अतिक्रमण बढ्ने र भविष्यमा वास्तविक नेपाली अल्पमतमा पर्ने भन्दै चिन्ता जाहेर भएको छ ।
















