तराई–मधेशमा किसान जागरण अभियान सुरु

वीरगञ्ज । तराई–मधेशमा किसान जागरण अभियान सुरु भएको छ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) र तराई–मधेस जनवादी मोर्चाको संयुक्त आयोजनामा सो अभियान सुरु भएको हो । “तराई–मधेशका जनतामाथिका शोषण, उत्पीडन र भेदभाव अन्त गरौँ, किसान आन्दोलनमा सहभागी बनौँ” भन्ने मूल नाराका साथ सञ्चालित सो अभियान माघ महिनाभरि सङ्गठन–सङ्घर्षको विविध कार्यक्रमसाथ सम्पन्न हुने दुवै सङ्गठनले बताएका छन् ।

अभियानअन्तर्गत २०७६ पुस ६ गते पर्सा जिल्लाको वीरगञ्ज घण्टाघरमा कोणसभा सम्पन्न भएको छ । जिल्लास्तरमा अभियानको उद्घाटन गर्ने निर्णयानुसार पर्सामा अभियानको उद्घाटन किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले गर्नुभएको थियो ।

सो अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले तराई–मधेशका जनताकाले आफूमाथिको भेदभावको अन्त गर्नका लागि सङ्गठनमा जुट्न आह्वान गर्नुभयो । “तराई–मधेशलाई लक्षित गरेर दुवै मोर्चाहरूले किसानलाई सङ्गठित गर्ने अभियान सञ्चालन गरेका छन्” उहाँले अगाडि भन्नुभयो– “यहाँका जनताले आफूमाथिको शोषण, उत्पीडनको विरुद्ध जुट्नुको विकल्प छैन ।”

तराईमा सुकुम्बासी र दलित किसानसँग एकधुर पनि जमिन नरहेको तथा उनीहरूलाई बस्नका लागि सुरक्षित बास पनि नभएको बताउँदै उहाँले केन्द्र, प्रदेश र स्थानीय सरकारले तराई–मधेशको समस्याप्रति बेवास्ता गरिरहेको दावी गर्नुभयो । देशमा राजनीतिक परिवर्तन आएता पनि आम जनताको जीवनमा आमूल परिवर्तन नआएको भन्दै उहाँले यहाँका किसान–मजदुरसमेतको व्यवस्थामा सुधार ल्याउन सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।

किसानले उत्पादन गरेका वस्तुले मूल्य नपाएको, उखु किसानको भुक्तानी चिनी मिलले नदिएको, अनुदान पनि सरकारले भुक्तानी नगरेको, सिँचाइको व्यवस्था नभएको, मल, बिउ सर्वसुलभ नभएको भन्दै किसान महासङ्घका अध्यक्ष रेग्मीले सीमित रूपमा दिइएको अनुदानमा पनि बिचैमा कमिसन खाने काम भएको बताउनुभयो । सबै प्रकारका भ्रष्टाचारलाई अन्त गर्दै किसानको कमाइमा समेत कमिसनलाई प्रवृत्ति अन्त गर्नेगरी भ्रष्टाचार विरोधी ऐन बनाउनुपर्ने आवश्यकताप्रति पनि उहाँको थियो ।

नागरिकताको सम्बन्धमा बोल्दै उहाँले रैथाने तराईवासीले नागरिकता नपाएको, तर लाखौँ भारतीयले नागरिकतासम्बन्धी खुकुलो कानुनका कारण नागरिकता पाएको बताउनुभयो । गतकालका सरकारहरूले अपनाएको नागरिकतासम्बन्धी खुकुलो नीतिको भत्र्सना गर्दै उहाँले विदेशीले लिएका नागरिकता तत्कालै खारेज गरी वास्तविक तराईवासी नेपालीलाई नागरिकता वितरण गर्न माग गर्नुभयो ।

अहिले भारतद्वारा गरिएको सीमा अतिक्रमणको प्रसङ्गमा मन्तव्य राख्दै अध्यक्ष रेग्मीले नेपालको पश्चिम–उत्तरको सिमाना लिम्पियाधुरासम्म भएको बताउनुभयो । “लिपुलेक मात्रै होइन नेपालको सिमाना” उहाँले अगाडि भन्नुभयो– “लिम्पियाधुरासम्मै नेपालको पश्चिमी सिमाना हो ।” त्यस क्षेत्रमा मात्रै ३७२ वर्गकिलोमिटरभन्दा बढी नेपाली भूमि भारतद्वारा अतिक्रमण भएको बताउनुभयो । भारतीय सीमासँग जोडिएका नेपाली भूभागको रक्षाका लागि देशभक्त तराई–मधेशका जनताले सङ्घर्ष गरिरहेको इतिहासलाई स्मरण गर्दै उहाँले नेपालको भूभागको रक्षाका लागि सबै नेपालीहरू एकजुट हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

कोणसभालाई तराई–मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य तथा रौतहट जिल्लाका नेता हरिकिशन महतो, तराई–मधेस जनवादी मोर्चा केन्द्रीय सदस्य तथा अभियानका संयोजक दिपक चौधरी र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कर्ण थापाले पनि सम्बोधन गर्नुभएको थियो । तराई–मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य अक्षयलाल साहले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

माघ ६ गते नै बारा जिल्लाको कलैयामा पनि कोणसभा सम्पन्न भएको थियो । सभाको सञ्चालन अखिल नेपाल किसान महासङ्घअन्तर्गत रहेको पशुपालन तथा दुग्ध उत्पादक किसान सङ्घका महासचिव जीवन भट्टराईले गर्नुभएको थियो ।

कोणसभाको प्रमुख अतिथि किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी रेग्मी हुनुहुन्थ्यो । कार्यक्रममा सम्बोधन गर्दै उहाँले राजाको शासन हुँदा जमिन्दारहरू शासक थिए, बहुदल र गणतन्त्र आउँदा पनि उनीहरू नै शासक कायम रहेको दाबी गर्नुभयो । देशमा राजनैतिक परिवर्तन भए पनि वास्तविक किसानको जीवनमा परिवर्तन नआएको दावी गर्दै उहाँले यसका लागि सङ्घर्ष गर्न तराई–मधेशवादी आम जनतालाई आह्वान गर्नुभयो ।

सभालाई तराई–मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य हरिकिशन महतो, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कर्ण थापा, नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराई र राजमो बाराका कोषाध्यक्ष शेरबहादुर केसीले पनि सम्बोधन गर्नुभएको थियो ।

यता दाङमा माघ ५ गते नै अभियानको उद्घाटन भएको छ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रमुख अतिथिको रूपमा सो अभियनको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा सम्बोधन गर्दै उहाँले तराईमा मोही समस्या अहिले पनि विद्यमान रहेको बताउनुभयो । भूमिको समस्या तराईमा अझै कायम रहेको बताउँदै राजमो नेता नेपालीले जोताहा किसानले जमिन नपाउने समस्यालाई समाधान गर्न राज्यपक्षले ध्यान दिनुपर्ने बताउनुभयो । किसान महासङ्घ र तराई–मधेश जनवादी मोर्चाले तराई–मधेशमा सङ्गठनात्मक अभियान चलाएकोमा स्वागत गर्दै उहाँले बहुसङ्ख्यक किसानलाई जगाउन सकिएको खण्डमा यहाँको समस्या समाधान हुने बताउनुभयो ।

सम्बोधनको क्रममा उहाँले राष्ट्रियता, सार्वभौमिकता र भू अखण्डताको सवालमा देशमा सामु गम्भीर समस्या आइपरेको बताउनुभयो । नेपालको पश्चिमी सिमानामा भारतीय अतिक्रमणलाई भारतीय साम्राज्यवादले बैधता दिन खोजेको भन्दै उहाँले जाली नक्सा खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । अर्कातिर, एमसिसी मार्फत् अमेरिकाले नेपाललाई चीनको विरुद्ध प्रयोग गर्न खोजेको बनाउँदै उहाँले यसप्रति सतर्क रहन सरकारसित आग्रह गर्नुभयो । एमसिसीलाई स्वीकार गरिए स्वयं नेपालको सार्वभौमत्ता कमजोर हुने तथा स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिको समेत परित्याग हुने उहाँले दाबी गर्नुभयो ।


कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य तथा अखिल नेपाल सुकुम्वासी सङ्घका अध्यक्ष तुल्सीराम सापकोटा, तराई–मधेश जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार नारायण योगी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चित्र एमसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष पूर्णिमा आचार्य, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य कपिलदेव खनाल, राजमो ५ नं. प्रदेशका सचिवलाय सदस्य रेशम बिसी, अखिल (छैठौं) दाङका अध्यक्ष धु्रव बेलबासे, किसान महासङ्घ राप्ती गाउँपालिका समितिका अध्यक्ष यमदग्नि शर्मालगायतले आतिथ्यता तथा मन्तव्य राख्नुभएको थियो ।

उद्घाटन कार्यक्रमपछि अभियानको टोली दुई भागमा विभाजन भएर प्रेमनारायण आचार्य नेतृत्वको टोली राप्ती गाउँपालिकातर्फ प्रस्थान गरेको थियो । अर्को तुलसीराम सापकोटा नेतृत्वको टोली गढवातर्फ प्रस्थान गरेको थियो । उक्त टोलीले गढवा–२ कोठरीमा पुगेर किसान महासङ्घको टोल समिति गठन गरेको थियो ।

टोल समितिमा अध्यक्ष ओमकुमारी चौधरी रहनुभएको छ भने उपाध्यक्षमा मनतुनी चौधरी, सचिवमा सन्दिप चौधरी, कोषाध्यक्षमा कल्पना चौधरी तथा सदस्यहरूमा जगदीश चौधरी, शिवरत्नी चौधरी, कुमाली चौधरी, लखन चौधरी र सावित्रा चौधरी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार