ओलीजी ! जनताले साथ दिएका छन्, दह्रा खुट्टा टेक्नुस्ः केसी

प्रकाश थापा मगर

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिले पहिले सोभियत सङ्घलाई घेरे झैँ अहिले चीनलाई घेर्न इन्डो–प्यासिफिक रणनीति अगाडि दावी गर्नुभएको छ । एमसिसी र सीमा अतिक्रमणका विरुद्ध २०७६ माघ १० गते १३ राजनीतिक पार्टी तथा सङ्गठनले राजधानीको शान्तिवाटिका आयोजित विरोधसभामा उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।

‘सोभियत सङ्घमा समाजवाद छँदाखेरि जर्मन, बेलायत, अमेरिकाजस्ता देशहरूले घेर्ने गर्थे नि’ राजमो अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘आज चीनको विरुद्ध पनि त्यस्तै भइरहेको छ ।’ अहिले अमेरिकालाई टक्कर दिने गरी चीन अगाडि आइरहेका बेला अमेरिकाले त्यसलाई रोक्न सकेसम्मको पहल गरिरहेको उहाँले बताउनुभयो ।

‘चीनले बिआरआई परियोजना के अगाडि ल्याएको थियो, अमेरिकाको कन्सिरी तातिहाल्यो’ केसीले भन्नुभयो– ‘बिआरआईको विकल्पमा अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अगाडि सारेको हो ।’ उहाँले हिन्द प्रसान्त क्षेत्रमा अमेरिकी प्रभाव विस्तार गर्नका लागि इन्डो–प्यासिफिक रणनीति अघि सारिएको दावी गर्नुभयो । उसले इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई सामेल गर्न चाहेको बताउनुभयो ।

एमसिसीको प्रसङ्गमा उहाँले भन्नुभयो– ‘इन्डो–प्यासिफिक रणनीतिकै एउटा अङ्ग हो भनेर त अमेरिका मन्त्री नै बोलिसके नि ¤ राजदूत ठुला कि मन्त्री ?’ उहाँले अमेरिकाको मन्त्रीको बोलीका अगाडि राजदूतावासको विज्ञप्तीको अर्थ नरहेको बताउनुभयो । ‘सिधै इन्डो–प्यासिफिक भनेर आउन त भएन’ केसीले अगाडि भन्नुभयो– ‘त्यही भएर सडक, बिजुली भनेर एमसिसी नामबाट आएको अवस्था हो ।’

लिम्पियाधुरादेखि कालापानी हुँदै लिपुलेकसम्मको भूमि भारतले अतिक्रमण गरेको सन्दर्भमा उहाँले त्यसलाई भारतीय साम्राज्यवादको विस्तारवादी नीति बताउनुभयो । भारतको दादागिरी लगातार बढ्दै गइरहेको बताउँदै उहाँले नेपाली शासकको दब्बु नीतिको परिणामस्वरूप नेपालमा भारतीय हस्तक्षेप बढ्दै गइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले नाकाबन्दीका बेला राम्रो अडान लिए पनि अहिले भारतले जाली नक्सा सार्वजनिक गरेको मामिला अलि जोशिलो भएर बोल्न नसकेको हो कि भन्ने नेपाली जनतालाई लागिरहेको बताउनुभयो ।

‘सीमा अतिक्रमणका विरुद्ध राजनीतिक दलहरू एकमत छन्, जनता सडकबाट साथ दिइरहेका छन्’ उहाँले भन्नुभयो– ‘ओलीजी दह्रो खुट्टा टेक्नुस्, भारतसित सिधै कुरा गर्नुस् ।

नेकपा (माले) का महासचिव सिपी मैनालीको अध्यक्षतामा अगाडि बढेको उक्त सभाको उद्घोषण गर्दै नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले इन्डो–प्यासिफिककै एउटा अङ्ग एमसिसी भएको स्वयं अमेरिकी मन्त्रीहरूको अभिव्यक्तिबाट पुष्टि भइसकेको बताउनुभयो । ‘नेपालमा एमसिसीको विरोध बढ्दै गएपछि अमेरिकी दूतावासले बोली फेरेको हो’ प्रवक्ता पुरीले अगाडि भन्नुभयो– ‘तर दूतावासले बोली फेरे पनि नेपाली जनता झुक्किनेवाला छैनन् ।’ उहाँले देशभक्त नेपाली जनताले एमसिसी सम्झौता खारेज गरेरै छाड्ने दावी पनि गर्नुभयो । उहाँले राष्ट्रियताको पक्षमा नेपाली जनतामा उच्चस्तरको चेतना भएको बताउँदै एमसिसीको विरुद्धमा पनि नेपाली जनता सशक्त रूपमा सडकमा उत्रिने बताउनुभयो ।

एमसिसी सम्झौता खारेज अभियानका संयोजक नारायण शर्माको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, जनसमाजवादी पार्टी नेपालका उपमहासचिव डम्बर कार्की, नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी, नेकपा (माओवादी–केन्द्र) का गोपाल किराँती, सर्वहारा नेकपा (माओवादी) की भावना विद्रोही, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरतबहादुर शाही, राष्ट्रिय जागरण परिषद् नेपालका सचिव हेमन्त सेढाई, पुष्पलाल अध्ययन समाज काठमाडौँका संयोजक लोककृष्ण भट्टराई र राष्ट्रिय पुनर्जागरण परिषद् नेपालका कमल वाइबाले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार