महामन्त्री सिंहले सङ्घीयताको पक्षमा अभिव्यक्ति नदिएको प्रवक्ता पुरीको स्पष्टीकरण

काठमाडौँ । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले भदौ ९ गते शनिबार कैलालीको धनगढीमा सम्पन्न पत्रकार सम्मेलनमा सङ्घीयताको पक्षमा अभिव्यक्ति नदिएको स्पष्टीकरण दिनुभएको छ ।

धनगढीका विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले महामन्त्री सिंहले गणतन्त्र र सङ्घीयतामाथि विदेशी शक्तिबाट खतरा रहेको अभिव्यक्ति दिएको समाचार प्रकाशन गरेपछि प्रवक्ता पुरीको सो स्पष्टीकरण आएको हो ।

२०८० भदौ १० गते आइतबार जारी उक्त स्पष्टीकरणमा नेकपा (मसाल) सङ्घीयताको खारेजीका लागि लगातार सङ्घर्ष गर्दै आएको र सो नीतिमा पार्टी अझै पनि दृढ र प्रतिबद्ध रहेको जानकारी दिइएको छ ।

यस्तो छ, प्रवक्ता पुरीद्वारा जारी स्पष्टीकरणको पूर्ण पाठ :
“२०८० भदौ ९ गते धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंहले “गणतन्त्र र सङ्घीयतामाथि विदेशी शक्तिहरूबाट खतरा रहेको” भनेर बताउनुभएको भन्ने समाचार विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएका छन् । त्यस प्रकारका समाचारबाट हाम्रो पार्टीको सङ्घीयतासम्बन्धी नीतिमा केही भ्रम पैदा भएको छ ।

हाम्रो पार्टीले सुरुदेखि नै नेपालमा सङ्घीयता विरुद्ध कडा सङ्घर्ष गर्दै आएको छ र अहिले पनि सङ्घीयताको खारेजीको लागि हाम्रो पार्टी दृढ र प्रतिबद्ध छ । त्यो सन्दर्भमा हाम्रो पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले सङ्घीयताको पक्षमा अभिव्यक्ति दिएको भन्ने समाचारमा सत्यता छैन । पत्रकार सम्मेलनमा उहाँले सङ्घीयताको खारेजीमा जोड दिएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ ।”

सञ्चारमाध्यमको उपर्युक्त वाक्यबाट नेकपा (मसाल) सङ्घीयताको पक्षमा रहेको अर्थ लाग्ने भएकाले उक्त वक्तव्य जारी गरिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार