भारतमा मृत्यु भएका युवकको परिवारलाई मूल प्रवाहद्वारा सहयोग

हैदराबाद । मजदुरीको शिलशिलामा भारतमा मृत्यु भएका एक नेपाली युवकको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–४ छाङका धर्मराज धमेल र रुदिमाया धमेलका छोरा २६ वर्षीय मदन धमेलको भारतको हैदराबाद अगस्ट ३ तारिखका दिन ह्रदयघातबाट मृत्यु भएको थियो ।

हैदराबादको सैनिकपुरी कलोनीमा बस्ने मदन एउटा होटेलमा काम गर्ने गर्थे । मूल प्रवाहका साधरण सदस्यसमेत रहेका मदन केही समय पहिले काम गर्ने दौरानमा दुर्घटनाका कारण एउटा खुट्टा जलेर उपचार गराइरहेका थिए ।

घाइते भएका कारण उनी डिउटी जान सकेका थिएनन् । होटेलले नै उनको उपचार खर्च बहन गरिरहेको थियो । उनको स्याहार सम्हार गर्न श्रीमती विष्णु नेपालीसमेत केही दिन पहिले आएकी थिइन् ।

३ अगस्ट राति मृत्यु भएका मदनको मूल प्रवाहको पहलमै दाहसंस्कार भएको छ । समाजका मध्यदक्षिण क्षेत्रीय समितिका राजु दुलाल, कुमार थापा, गुमा राना, गङा कडायत, सम्झना दुलाल, सबिता पौडेल, कृष्ण कुमारी विक, प्रेम विक, रामबहादुर आले लगायतका नगर र एरियाका पदाधिकारीहरुको उपस्थितमा उनको दाहसंस्कार गरिएको हो ।

मूल प्रवाहले मृतक मदन धमेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिबारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै उनको आर्थिक अवस्था पनि नाजुक रहेको अवस्थामा संगठनको पहलमा भारु ६० हजार ७१० रुपैयाँ संकलन गरी मृतककी श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।

साथै हैदराबादबाट नमस्ते गुल्मी टुर एण्ड ट्राभलमार्फत उनलाई नेपाल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार