तिजलाई विकृतिबाट बचाएर प्रगतिशीलतातर्फ लैजाऔँ : खनाल

गुडगाँव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले तिजलाई विकृतिबाट बचाएर प्रगतिशील बाटोतर्फ लैजानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

भारत हरियाणाको गुडगाँवमा मूल प्रवाहले सेप्टेम्बर १७, २०२३ आइतबारका दिन आयोजित कार्यक्रम उहाँले यस्तो भनाइ राख्नुभएको हो ।

‘तिजी कार्यक्रममा विकृति, विसङ्गति बढ्दै गएका छन्’ उहाँले भन्नुभयो– ‘हामीले यस्तो विकृतिको सट्टा प्रगतिशील संस्कृतिको प्रचार गर्नपट्टि ध्यान दिनुपर्दछ ।’

उहाँले तिजलाई भगवान्प्रतिको श्रद्धा वा तडकभडक जस्तो पुँजीवादी विकृतिबाट बचाउनुपर्ने आवश्यकता पनि जोड दिनुभयो ।

‘तिजमा पति पाउनका लागि भगवान्को पूजा गर्ने संस्कार हामीले बदल्नुपर्दछ’ उहाँले भन्नुभयो– ‘त्यस्तै तिजमा तडकभडकपूर्ण तरिकाले नारीलाई नै वस्तु बनाउने पुँजीवादी तथा उपभोक्तावादी संस्कृतिको पनि हामीले विरोध गर्नुपर्दछ ।’

कार्यक्रममा मूल प्रवाहका नेताहरू शेरबहादुर थापा, रामबहादुर विक, रणबहादुर थापा, सुरज गतराज, गोपाल भट्टराई, सुमित्रा थापा, समुन्द्रसिंह गौतम र गोपाल खनालको पनि आतिथ्य रहेको थियो ।

मीना परियारको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन सुशीला गौतमले तथा स्वागत सीता गतराजले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार