संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध एकगठ हुन राजमोको अपील

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संविधान असफल पार्ने षडयन्त्रविरुद्ध एकगठ हुन सम्पूर्ण जनतासित अपील गरेको छ ।

नवौं संविधान दिवसका अवसरमा विज्ञप्ति प्रकाशित गर्दै राजमोले वर्तमान संविधानविरुद्ध विभिन्न प्रतिक्रियावादी कोणबाट आक्रमण भइरहेको उल्लेख गरेको छ ।

जनताको बलिदानीपूर्ण संघर्षबाट देशमा गणतन्त्र र धर्मनिरपेक्षतासहितको लाकतान्त्रिक संविधान बनेको स्पष्ट पार्दै राजमोले संविधानको रक्षामा जोड दिएको छ । साथै, २०६२/०६३ सालको जनआन्दोलनको मागविपरित आएको संघीयतालाई खारेज गर्नुपर्नेमा पनि राजमोको जोड छ ।

यस्तो छ, अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्य

“संविधान दिवसको अवसरमा नेपालको लोकतान्त्रिक वाम आन्दोलनमा राजनीतिक परिवर्तनका लागि आफ्नो प्राणको आहुति गर्ने महान शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

संविधानसभाबाट संविधानको निर्माण नेपाली जनताको सात दशक लामो चाहना यसै संविधान मार्फत् पुरा भएको छ । त्यसैले हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले संविधानसभाबाट जारी भएको संविधानलाई समर्थन गर्ने नीति अपनाएको छ । संविधानमा व्यवस्था भएका २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरुलाई हामीले समर्थन गर्नुका साथै ती उपलब्धिहरुको रक्षामा जोड दिएका छौँ ।

त्यसका साथै संविधानमा जनताका चाहना विपरीत तथा ०६२÷०६३ को जनआन्दोलनको माग नै नभएको संघीयता लगायतका गलत प्रावधानको हाम्रो पार्टीले जोडदार विरोध गर्नुका साथै यसको खारेजीका लागि संघर्ष गर्दै आएको छ । संघीयता लगायतका संविधानका गलत प्रावधानका विरुद्ध हाम्रो गम्भीर असहमति भए पनि वर्तमान संविधानमाथि राजावादी शक्ति, भारतीय साम्राज्यवाद तथा स्वयं गणतन्त्रवादी शक्तिहरुको कुशासनको परिणाम त्रिकोणात्मक आक्रमण भइरहेको छ । विगतमा एमालेले भारतीय साम्राज्यवादको मिलेमतोमा संविधान विपरीत दुई–दुईपटक संसद विघटन गरी संविधानको मूलआत्मामाथि प्रहार गरेको थियो ।

अहिले पनि एमाले त्यो नीतिबाट पछाडि हटेको छैन । गणतन्त्रवादी शक्तिहरुको कुशासनका कारण जनतामा देखा परेको असन्तोषलाई प्रतिक्रियावादी शक्तिहरुले प्रतिगामी दिशा दिनका लागि पुरा प्रयत्न गरिरहेको परिप्रेक्ष्यमा संविधानको रक्षाको प्रश्न नेपाली राजनीतिको महत्वपूर्ण कार्यभार बन्न जान्छ । त्यही आवश्यकतालाई बोध गरेर नै हाम्रो पार्टीले प्रतिगमन विरुद्धको गठबन्धनमा जोड दिने नीति अपनाउँदै आएको छ ।

संविधानसभाबाट संविधानको निर्माण आफैमा नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ परिघटना हो । त्यो परिघटनालाई निस्तेज तुल्याउन विभिन्न प्रतिक्रियावादी शक्तिहरु क्रियाशील भैरहेको अवस्थामा ती जनविरोधी शक्तिहरुको संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध सम्पूर्ण नेपाली जनतालाई एकगठ हुन आव्हान गर्दछौँ ।

अन्तमा संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार