सन २००४ को वर्ष अखिल नेपाल जनजाति सम्मेलन (तात्कालिन भारत शाखा) ले भारतव्यापी प्रशिक्षण अभियान सञ्चालन गरेको थियो । त्यो वेला जनजाति सम्मेलन केन्द्रले मलाई पनि प्रशिक्षकको रुपमा नेपालबाट भारत जाने निणर्य गरेको थियो । निणर्य अनुसार म नेपालगञ्जबाट भारततर्फको यात्रामा लागें । महाराष्ट्रको नागपुरमा तात्कालिन केन्द्रीय उपाध्यक्ष एवं भाशा अध्यक्ष कुल बहादुर थापासँग सम्पर्कमा पुग्नु थियो । त्यो स्थानमा जनजाति सम्मेलनका महासचिव फूर्वानाम्गेल मोक्तान र म एकैदिन विहान नागपुर स्टेशन पुग्यौं । स्टेशनबाट रुपलाल जिएमले हामीलाई लिएर सम्बन्धित स्थानमा पुर्याउनु भएको थियो ।
नागपुरमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर हामी भोलिपल्ट तीनैजना हैदरावाद पुग्यौं । त्यहाँको दुईदिने प्रशिक्षण सकाएर हामी पुनः मुम्बईतर्फ लाग्यौं र तारापुरमा तीन दिने प्रशिक्षण सम्पन्न गरिएको थियो । त्यसपछि हामी मुम्बईबाट बाँढियौं । त्यहाँबाट धनवीर पुन मगर र महासचिव फूर्वानाम्गेल मोक्तान बेंगलोर हिंड्नु भयो भने कुल बहादुर थापा र म सुरततर्फ लाग्यौं । मुम्बईमा हामी दुबैथरिलाई बर्षा र बाढिले सताउनु सतायो । तैपनि हामी दुबैथरि आ-आफ्नो मिशनमा अगाडि बढिरह्यौं । बेंगलोर पुगेर धनवीर पुन मगर र महासचिव फूर्वानाम्गेल मोक्तानले प्रशिक्षण कार्यक्रम र सभा सम्पन्न पार्नुभएको थियो भने कुल बहादुर थापा र म दमन, सिलवास र सुरत हुँदै एक सातामा हामी दिल्ली पुग्यौं ।
दिल्लीबाट हामी चण्डिगढमा सुदुर पश्चिमोत्तर क्षेत्रको तीन दिने प्रशिक्षण सकायौं र तात्कालिन वामपन्थी युवक मोर्चाको नगर सम्मेलनमा सहभागि भयौं । त्यसपछि पञ्जाबका विभिन्न नगरहरु रोपड, लुधियाना, जालन्धर, हिसार, काल्का र परवाणुमा कार्यक्रम सम्पन्न गरि हामी ९ दिनमा पुनः दिल्ली फर्कियौं ।
दिल्लीमा पश्चिमोत्तर क्षेत्रको तीन दिने प्रशिक्षण डा. ओम गुरुङ र केवी थापा सहितको उपस्थितिमा सम्पन्न गरियो । त्यस लगत्तै मलाई मौसमी ज्वरोले ग्रस्त पार्यो । दिल्लीबाट हामीलाई दक्षिण भारत चेन्नई जाने टिकट बुकिङ थियो । रेलको यात्रा ज्वरोको औषधि खाँदै लामो यात्रा पछि चेन्नई पुगियो । त्यहाँ पुगेपछि भाउजु देवी थापा (जो अहिले निमोनियाले ग्रस्त हुनुहुन्छ) ले राम्रो हेरचाह गर्नु भयो र मलाई निको हुँदै पनि गयो । त्यसको लगत्तै त्यहाँबाट हामी कोयम्बटोर जानु थियो । खुशीको कुरा जनजाति सम्मेलनका केन्द्रीय सदस्य भिम बहादुर थापासँगै कोयम्बटोर पुगियो । कोयम्बटोरमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो । त्यहाँको सितलो हावापानीले मलाई निको र फूर्तिलो पनि बनायो । कोयम्बटोरको प्रशिक्षण सकाएर हामी तामिलनाडुको पहाडी जिल्ला निलगिरी जाने निणर्य भयो । निलगिरीको यो यात्रा एउटा भिन्दै किसिमको सुनौलो र अविष्मरणीय रहन गयो । यो यात्रा मानसपटलमा बारम्बार आइरहने गरेकोले यो लेख लेख्न पे्ररणा मिल्यो ।
निलगिरीको त्यो सुन्दर टापु जहाँ उटी र केटी नामको कफि र चिया बगान रहेछन् । मुटू काप्ने जाडो गाँजर, मुला, गोभि, आलु जस्ता तरकारीहरु प्रसस्त रुपमा उब्जाउ हुने ठाउँ रहेछ निलगिरी । जताततै सल्लाघारी, रंगीविरंगी बोटविरुवाहरुको नर्सरी, त्यही टापुमा घुम्ने छकछके रेल, डोकोमा चिया र कफिको स्याउला भर्दै गरेका मानिसहरुको दृष्य देखिन्थ्यो । त्यो हुलमा हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरु पनि सामेल भएको भेटिन्थ्यो । जताबाट हेर्दा पनि त्यो ठाउँ नेपालको कुनै पनि पहाडी जिल्लासँग दाँज्न सकिने प्राकृतिक दृष्यहरु प्रसस्त भेटिन्थ्यो । नेपालदेखि हजारौं मिल टाढाबाट त्यो ठाउँमा पुगेर थुप्रै हाम्रा नेपाली श्रमिकहरु काम गरेको भेटियो । अचम्मको कुरा बाग्लुङबाट गएर सल्लाहघारीको नर्सरीमा चौकिदारी गर्ने एकजाना ७० वर्ष नाघेका बुढा बाले हामीलाई निलगिरीको बारेमा धेरै कुराहरु बताए । विहानको समयमा एकजना साथीले हामीलाई पार्कतिर घुमाउन लानु भयो । प्राकृतिक सुन्दरताले भरिएको त्यो पार्कमा केहीबेर घुमेर हामी चिया पसलको बेंचमा बस्यौं । घुमाउन लाने साथीले चिया पसलेतिर फर्केर ‘हेल्लो-मुन्टी’ भन्नु भयो । चिया पसलेले केहीबेर पछि तीनकप चिया ल्याएर राखि दियो । ‘मुन्टी’ भन्ने शब्दले म अल्लमल्ल परेको थिएँ तर, तामिल भाषामा ‘तीनवटा’ चियालाई ‘मुन्टी’ भन्दो रहेछ । नेपाली भाषामा ‘मुन्टी’ को अर्थ अरुकुनै लाग्ने गर्दछ ।
दिउँसो हामी कार्यक्रम स्थलतिर लाग्यौं, जहाँ इराकमा मारिएका १३ जना नेपालीहरुहको स्मृती एवं दुई मुस्लिम सिया र सुन्नी समुदाय बीच भएको जातीय युद्धको मारमा परि वित्स हत्या गरिएकाहरुको विरोधमा सभाको आयोजना गरिएको थियो । साथै ठाउँठाउँबाट जुटेका नेपाली युवाहरुको बीचमा भलिवल प्रतियोगिता पनि सान्दाररुपमा सञ्चालन गर्दै विरोध सभा सम्पन्न गरियो । साँझ अबेरसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरेर भोलिपल्ट हामी कोयम्बटोरको लागि हिड्यौं ।
बाटोमा अर्को एउटा रोचक दृष्य देखियो । जहाँ जंगलको बीचमा एउटा सानो बजार थियो, गाडी चालकले रोकेर यात्रुहरु सहित खाना खान लागे । हामी गाडी मैं बसेका थियौं । बाटो किनारामा थुप्रै ठेलागाडीहरु बजारको रुपमा राखिएका थिए । त्यहाँ फलफूल लगायतका विभिन्न खानेकुराहरु पनि राखेर मान्छेहरु पंक्तिवद्ध भएर व्यापार गर्दै थिए । ठिक त्यसको पछाडी बाउन्ड्री वालमा बाँदरहरु लामो लस्कर लागेर बसेका थिए । हामी भन्दा अगाडिको एकजना यात्रीले केरा किनेर एउटा बादरलाई दियो । त्यो बाँदरले सुस्तरी केरा हातमा लिएर बोक्रा छिलेर सभ्य तरिकाले खायो । त्यसको दायाँबायाँका अन्य बादरहरुले छिनझम्टी गरेनन् । हामी अचम्भीत हुँदै हेर्यौं । केरा खाएपछि त्यो बाँदर बु्रक्क उफ्रेर आफू पछाडिको रुखमा गएर गाडितिरै फर्किदै दुईहात खडा गरेर बस्यो । हेर्दा यस्तो लाग्थ्यो कि केरा दिनेलाई धन्यवाद स्वरुप नमस्कार गरेको अनुभूति हुन्थ्यो ।
बाँदरले देखाएको त्यो दृष्य देखेर मलाई काठमाडौंको सम्झना आयो, जहाँ पशुपतिका बाँदरहरुले भक्तजनका प्रसाद खोसेर खाइदिन्थे र स्वयम्भुका बाँदरहरुले प्रयटकहरुका क्यामेरा खोसेर फालिदिन्थे । तर, निलगिरीका बाँदरहरुको अनुशासन देखेर भिम बहादुर थापाले तामिल भाषामा पसलेसँग बाँदरको बारेका सोध्नु भयो । पसलेले भन्यो- ‘केही गर्दैनन्, दिए खान्छन्, नदिए चुपलागेर बस्छन् ।’ त्यो सुनेर हामी अझ अचम्भित भयौं । त्यहाँबाट हामी कोयम्बटोर पुगेर एउटा होटलमा केराको पातमा खाना खाएर रेलको यात्रा गर्दै चेन्नई फर्कियौं ।
चेन्नईमा दक्षिण भारत स्तरको तीन दिने प्रशिक्षण कार्यक्रम तात्कालिन केन्द्रीय अध्यक्ष केवी गुरुङको विशेष उपस्थितिमा सम्पन्न गर्दै भारतव्यापी अभियानको पहिलो चरणको दुई महिने प्रशिक्षण कार्यक्रम त्यहीं समापन गरियो । उक्त दुई महिने अभियानलाई भारतमा रहेको हाम्रो गौरवशाली छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र तात्कालिन वामपन्थी युवक मोर्चा लगायतको संगठनहरुको विशेष सहयोग, समर्थन र थुप्रै नेता कार्यकर्ताहरुको व्यापक उपस्थितिमा नै सम्पन्न गर्न हामी सफल भएका थियौं । त्यसको लागि जनजाति सम्मेलन संधै आभारि रहेको छ ।
दोश्रो चरणको प्रशिक्षण अभियान हामीले उत्तरपूर्वी भारतमा सम्पन्न गर्नुपर्ने थियो । तर, केही समय पश्चात नै संगठनमा समस्या देखापरेको थियो । त्यो समस्या पार्टी संगठन र मोर्चामा समेत झाँगिदै गएर अन्ततः संगठन फूटमा नै परिणत भएको थियो । त्यसको नकारात्मक असरले देश र प्रवासको संगठनलाई पनि पर्यो । त्यो भूमिकामा संगठनका तात्कालिन नेतृत्व तह नै लाग्यो र त्यो भूमरिमा स्वयं यो पंक्तिकार पनि अछुतो रहन सकेन । अहिले त्यो वेलाका नेतृत्व तहका केही व्यक्तिहरु मध्य डा. ओम गुरुङ (जो अहिले हामी बीच जिवीत हुनुहुन्न) र त्यतिवेलाका अध्यक्ष-महासचिव लगायत केही साथीहरु जो अहिले हाम्रो संगठनमा हुनुहुन्न । तात्कालिन अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष-महासचिवले नै त्यो मोर्चा समाप्त पार्ने क्रियाकलामा लाग्नु भएको थियो तर पनि संगठन पुनर्गठित हुँदै अगाडि बढिरह्यो र रहेको छ । केही मान्छे वा नेतृत्वमा रहेका केही व्यक्तिहरुले संगठन छोडेता पनि संगठन सदासर्वदा जिवित रहन्छ भन्ने अखिल नेपाल जनजाति सम्मेलनले पनि प्रमाणित गरिसकेको छ ।
अहिले पनि मूल प्रवाहलाई कतिपय व्यक्तिहरुले समाप्त पार्ने वा सिध्याउने अभियानमा हिंडेका छन् । कुनै व्यक्तिले चाहँदैमा कुनै पार्टी, संगठन, संघसंस्था सिद्धिने वा समाप्त हुने भन्ने हुँदैन । त्यसको आयु उसको गतिविधि, नीति, कार्यक्रम र योजनामा नै निर्भर हुन्छ । केही व्यक्तिहरुले लगाएको विभिन्न प्रकारका आरोप/प्रत्यारोप र भ्रम सिर्जना गरेको आधारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समाप्त हुनेछैन । मूल प्रवाह अझै सशक्त र दृढतापूर्वक अगाडि बढिरहेको र रहनेछ ।
अहिले जनजाति सम्मेलनको संगठन लगायत कतिपय मोर्चाहरु प्रवासको सन्दर्भमा विभागीय रुपमा रहेका छन् । यसलाई केन्द्र, क्षेत्र, नगरसम्म व्यापक बनाएर लैजानु पर्ने अतिआवश्यकता छ । सबै विभागहरुले संयुक्त रुपमा या एकल रुपमा भएपनि व्यापक जनसमुदायलाई संगठित र प्रशिक्षित गर्न जरुरी छ ।