काठमाडौँ । रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।
रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै भएको बहसपछि २०८० कात्तिक १६ गते बिहीबार सर्वोच्चले राष्ट्रपतिको निर्णय बदर गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशपछि उनलाई पुन: जेल फर्काइने भएको छ । उक्त आदेशसँगै अब उनलाई जेल फर्काइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी कुबेर कडायतले जानकारी दिए ।
रिगललाई असोज ३ गते संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले आममाफी दिएका थिए । सो निर्णयको विरुद्धमा भारती सर्वोच्च अदालत पुगेकी थिइन् ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवैतर्फको बहस सुनिसकेपछि बिहीबार निर्णय सुनाइएको हो ।
२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय मानन्धरको हत्या गरेको पुष्टि भएको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो ।
२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।
जम्मा ८ वर्ष कैद बसेर राजनीतिक शक्तिको आडमा मुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी तत्कालीन पत्नी भारती शेर्पाले रिट दायर गरेकी थिइन् ।