एमसिसी पूरै खारेज गर्न मसालको आग्रह

काठमाठौँ । नेकपा (मसाल) ले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे भएको भ्रष्टाचार प्रकरणमा उच्चस्तरीय छानबिन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७६ फागुन ९ गते जारी प्रेस वक्तव्यमार्फत् पार्टीले सो अवधारणा व्यक्त गरेको हो । पार्टीले उक्त घटनाको छानबिनपछि दोषीलाई कडा सजाय दिन पनि आग्रह गरेको छ ।

सत्तारूढ नेकपाको एसिसी कार्यदलले प्रतिवेदन बुझाएको सन्दर्भमा पार्टीले एमसिसीलाई पूरै खारेज गर्नुपर्ने र त्यससम्बन्धी कुनै पनि प्रकारको संशोधन मान्य नहुने धारणा व्यक्त गरेको छ । एमसिसी इन्डो–प्यासिफिक रणनीतिकै अङ्ग भएको दावी गर्दै वक्तव्यमा त्यसलाई खारेज गर्न सम्पूर्ण देशभक्त नेपाली जनतासित आग्रह गरिएको छ ।

वक्तव्यमा अगाडि भनिएको छ– “सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी भ्रष्टाचारको काण्डप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यो काण्डले सरकारमा गम्भीर प्रकारको भ्रष्टाचार व्याप्त भएको कुरालाई पुनः उदाङ्गो बनाएको छ । त्यसकारण हामीले अन्य भ्रष्टाचारका काण्डहरू जस्तै उक्त सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी काण्डबारे पनि उच्चस्तरीय छानबिन गरेर सबै दोषीलाई कडा सजाय दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

नेकपाले गठन गरेको एमसिसीसम्बन्धी आयोगले आफ्नो प्रतिवेदन नेतृत्वलाई बुझाएको कुरा प्रेस माध्यमले बाहिर ल्याएका छन् । तर त्यो प्रतिवेदनमा उनीहरूले के राय दिएका छन् ? आधिकारिक रूपमा त्यो कुरा सार्वजनिक गरिएको छैन । तर उनीहरुको राय जेजस्तो भए पनि एमसिसीलाई कुनै संशोधनसहित पारित गर्ने कुरालाई हाम्रो पार्टीले दृढतापूर्वक विरोध गर्दछ र त्यसलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

एमसिसीबारे जुनसुकै प्रकारले भ्रम दिने वा वास्तविकतामाथि पर्दा हाल्ने प्रयत्न गरिए पनि सार रुपमा त्यो इन्डो–प्यासिफिक रणनीतिको नै अङ्ग भएको र त्यसको मुख्य उद्देश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै भएको कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ । त्यसकारण त्यसले कुनै पनि अवस्थामा नेपालको हित नगर्ने र त्यसलाई स्वीकार गरेमा नेपालको असलग्न नीति समाप्त हुने छ र हाम्रो देश घोषित रूपमा नै अमेरिकी साम्राज्यवादको रणनीतिक गोटी बन्न जाने कुरा प्रष्ट छ । त्यसकारण हाम्रो पार्टीले त्यसलाई अस्वीकार गर्नका लागि सबै देशभक्त जनताको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार