भूउपयोग नीति आउनु स्वागतयोग्य : रेग्मी

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले भूउपयोग नीति आउनु स्वागतयोग्य काम भएको बताउनुभएको छ ।

राष्ट्रिय किसान सञ्जालको आयोजनामा २०८० मङ्सिर ११ गते सोमबार बागबजारस्थित हार्दिक होटलमा आयोजित एक अन्तरक्रियामा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

‘जति बेला जमिनमा भूमाफियाको बोलवाला थियो’ उहाँले भन्नुभयो– ‘त्यति बेला जमिनको वर्गीकरण गरी कृषि र वनक्षेत्रका भूमिमा घर बनाउन नपाउने गरी भूउपयोग नीति आउनु स्वागतयोग्य काम थियो ।’

उहाँले भूउपयोग नीति नआउँदा भूमिको मनपरी प्रयोग भइरहेको स्मरण गर्न सहभागी सबैसित आग्रह गर्नुभयो । उहाँले भूउपयोगसम्बन्धी नीतिले त्यस्तो विकृतिमा थोरै भए पनि रोक लागेको बताउनुभयो ।

राष्ट्रिय भूमि आयोगका सदस्यसमेत रहनुभएका रेग्मीले भूमि उपयोगको सवालमा नेपालमा अहिले पनि जडता रहेको धारणा राख्नुभयो ।

‘अहिले पनि हामी २०२१ सालको भूमि ऐनअनुसार भूमि समस्या समाधान गर्न खोजिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘२०२१ सालमा खोला भएको ठाउँमा अहिले बस्ती छ । हामीले अहिले २०८० सालमा आएर बस्तीमा खोला खोजिरहेका छौँ । यस्तो जडताले भूमिसमस्याको समाधान भइरहेको छैन ।’

उहाँले भूमिसम्बन्धी ऐन तथा नियमावलीमा समयानुकूल संशोधनको आवश्यकता रहेको औल्याउनुभयो ।

मन्तव्यको क्रममा उहाँले भूमिहीनलाई जमिन दिने विषयमा थप सहयोगी ऐनकानुन आवश्यक रहेको बताउनुभयो ।

‘हामीले जब भूमिहीनलाई जमिन दिने कुरा गर्छौं’ भूमि आयोगको काम गरिरहँदाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो– ‘नापी विभाग र वन विभागका कर्मचारीहरू भन्नुहुन्छ, भूमि आयोगले व्यवस्था गरेको नियम हाम्रा विभागको नियमावलीमा नै छैनन् ।’

उहाँले भूमि आयोगले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जमिन दिलाउनका लागि नापी विभाग र वन विभागका ऐनकानुन पनि संशोधन हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

अध्यक्ष रेग्मीले नीतिगत स्तरमा देखा परेका समस्यालाई सम्बोधन गर्न सम्बन्धित मन्त्रालयको पहलकदमीमा ऐनकानुन संशोधन गर्न सुझाव दिनुभयो ।

जनस्तरबाट भूउपयोसम्बन्धी कानुन कार्यान्वयनमा देखा परेका समस्यालाई समाधान गर्न यस खालको कार्यक्रम आयोजना गरेको बताउँदै उहाँले भन्नुभयो– ‘अहिले यहाँ भूमि आयोगका सदस्य तथा कृषिक्षेत्रका विभिन्न सरोकारवालाले आआफ्ना क्षेत्रका समस्या राख्नुभयो । त्यसलाई राष्ट्रिय किसान सञ्जाल र राष्ट्रिय भूमि आयोगले सम्बन्धित मन्त्रालयमार्फत कानुन निर्माणको प्रक्रियासम्म पुर्‍याउनुपर्दछ ।’

अन्तरक्रिया कार्यक्रमको शीर्षक थियो– “भूउपयोग नियमावलीको कार्यान्वयन र कृषि उत्पादन तथा उत्पादकत्वमा यसले पार्ने प्रभावबारे” । कार्यक्रमका उद्घाटन राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटा, संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रमका प्रतिनिधि राजाराम छत्कुली, भूमि आयोगका विभिन्न जिल्लाका प्रतिनिधि, विभिन्न किसान सङ्घसंस्थाका प्रतिनिधिले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा नापी विभागका उपमहानिर्देशक सुशीलकुमार डङ्गोल र विभिन्न किसान सङ्गठनको तर्फबाट राष्ट्रिय भूमि अधिकार मञ्चका संयोजक नरिराम लोहारले भूउपयोग नियमावलीको कार्यान्वयन र कृषि उत्पादन तथा उत्पादकत्वमा यसले पार्ने प्रभावाबारे अन्तर्गत रहेर स्लाइड सो प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अप्फाका प्रतिनिधि अधिवक्ता रामप्रसाद भुसाल तथा विभिन्न किसान सङ्घसङ्गठनका प्रतिनिधिको आतिथ्य रहेको थियो ।

किसान सञ्जालका महासचिव नहेन्द्र खड्काको अध्यक्षता तथा अखिल नेपाल युवा किसान सङ्घ (क्रान्तिकारी) का अध्यक्ष निर्दोष तिमिल्सिनाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राष्ट्रिय कृषक महासङ्घका उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार