पार्टी फुटेको दिन (कविता)

गिरीप्रसाद बुढा

कुर्सी कै झगडा गरे दिनदिनै केन्द्रीय नेताहरू
बिर्से दुःख र पीर यो मुलुकको पार्टी फुटाले बरु
स्वार्थी हो अथवा पवित्र मनको नेता सबैले चिन
के लाग्छौ भन ब्यार्थको जुलुसमा पार्टी फुटेको दिन

जिन्दावाद भनेर उच्च स्वरमा आकाश बोक्नेहरू
मुर्दावाद भनेर खण्डहरमा आक्रोश पोख्नेहरू
तिम्रो रक्त बग्यो कयौं समरमा खोसेर सत्ता लिन
नारा व्यर्थ लगाउँछौ जुलुसमा पार्टी फुटेको दिन

फ्याँक्नै पर्छ सबै मिलेर अब ता थोत्रा ती पर्थाहरू
ठूलाका निजि स्वार्थ बुझ्नु छ, सबै ए कार्यकर्ताहरू त्त्
बुझ्नै पर्छ यहाँ गरिब जनको आएन सत्ता किन ?
के हिड्छौ निजि स्वार्थको जुलुसमा पार्टी फुटेको दिन

बोल्थे लाल सलाम यै भुवनमा मुठ्ठी उचाली सदा
थर्केथ्यो रुढिवादका सब शिला नेताहरू गर्जदा
यस्तालाई रछ्यानका सुँगुर झै देखेर लाग्यो घिन
खै के भन्नू र आज नै सब कुरा पार्टी फुटेको दिन

नेता मिल्नु पर्यो भनेर जनको धड्किन्छ चोखो दिल
नेताका मनपेट मिल्न नसके भोका र नांगा मिल
प्यारो देश उठाउने मन लिई दुःखी नजुट्ने किन ?
दुःखी जुट्नुछ आज क्रान्ति हितमा पार्टी फुटेको दिन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार