तिज पर्वलाई सांस्कृतिक महत्वका रुपमा मनाऔँ

देवनारायण पोखरेल ##

आउँदै गरेको हरितालिका तिज हिन्दू नारीहरूको एउटा महत्वपूर्ण चाड हो । तिज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने गरिन्छ । अन्य सांस्कृतिक चाडपर्व जस्तै वैदिक र पौराणिक प्रसङ्गसँग सम्बन्धित रहेर भाद्र शुक्ल तृतीया, गणेश चतुर्थी र ऋषिपञ्चमी समेतका दिनहरूको समयोग नै समग्रमा हरितालिका तिज हो ।

शिवपुराण बमोजिम शक्ति, प्रेम र भक्तिकी देवी, हिमालय पुत्री, पार्वतीको प्रसङ्गसँग जोडिने हरितालिका तिजलाई नेपालमा एक विशेष पर्वको रुपमा मानिन्छ । नारी संवेदना, नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचार, सामाजिक र राजनीतिक कुरीतिजस्ता विषयमा समेत मौलिक गीतहरू रचना गर्न, हरितालिका तिज पर्वले प्रवाहित गरेको पाइन्छ । आधुनिक समाजमा तिजको महत्वलाई जुन रूपले व्याख्या गरिएको भए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरित भनेको हरण गरेर र आलिका भनेका सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तिज पर्वलाई हरितालिका तिजको रुपमा नामकरण गरिएको भन्ने पौराणीक भनाई छ ।

हरितालिका तिज पर्वका तमाम सकारात्मक पक्षहरूका बाबजुद महिलावादी, महिला अधिकारकर्मी तथा लैंगिक विश्लेषकहरू हिजोआजको तिज र ऋषिपञ्चमी चाडले हाम्रो समाजको विकृती, पितृसत्तालाई नै जोगाइराखेको मात्र होइन त्यसैको पक्षपोषण गरेको पनि बताउँछन् । साँच्चै भन्नुपर्दा अझ तिजले आजको महिला पुस्तालाई उपभोक्तावादी बनाएको छ । पहिला–पहिला तिजलाई सामन्तवादी संस्कृतिले निर्देशित गर्दथ्यो भने अहिले आएर यसमा पुँजीवादका असङ्गती र विकृति थपिएका छन् । तिजसम्बन्धी धार्मिक विश्वासले हाम्रा नेपाली महिलाहरूलाई कमजोर बनाउँदै गएको प्रष्टै देखिन्छ । पहिले तिजको बेला विभिन्न मन्दिर, खेल मैदानमा भेला भएर वर्षौँदेखि टुटेका, छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरू गाएर मनाउने प्रचलन विस्तारै इतिहास मात्र बन्न थालेको छ । महिलाहरूलाई घरका विभिन्न जिम्मेवारी र तनावबाट केही समयलाई भएपनि माइतिसँग समय बिताउने, सुख, दुःख बाड्ने पर्वको रुपमा पनि लिइन्थ्यो । तर आज तिजको अर्को मौलिक पक्ष भनेको सुख, दुःख र मनको वेदना पोख्ने, गीतहरूमा पनि एउटा छुट्टै संस्कृति बोकेको र गीत कै माध्यमद्वारा सन्देश पनि दिने गरिन्छ ।

पराईघरमा भएका अन्याय अत्याचार ज्यादतिलाई गीत मार्फत् आफ्‌नो भावना प्रस्तुत गर्ने संस्कृति बोकेको पर्वको रुपमा पनि तिजलाई लिइन्छ । तिजको रौनक माइतीको आङ्गन जस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन भन्ने महिलाहरूको भनाई रहँदै आएको छ । माइतीकोमा विशेष स्नेह हुन्छ, माइतीको आँगनमा तिजको उत्साह अनि चहलपहल र सँगैका संगीहरूका साथ माइती गाउँका आफन्त प्रियजनहरूसँगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तिजको सदियौंदेखि चलिआएको जीवन्त संस्कृति हो तर अहिले तिज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको छ । जसले गर्दा हुँदाखानेले हुँनेखानेको देखासिकी गर्दै ऋण खोजेरै भएपनि कपडा र गरगहना किनेर तिज पर्व मनाएका उदाहरण समाजमा व्याप्त देखिन्छन् ।

गरगरहनाहरूको प्रतिस्पर्धामा उत्रिएर तिज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउँदै जाने पनि पुराना पिढीको तर्क रहेको छ । यसरी देखासिकीको रुपले विकृति निम्त्यायो भने निम्न आए भएका महिलाहरूले यो पर्व मनाउने भन्दा पनि कसरी पर्वछल्ने तर्फ चिन्तित बन्ने देखिन्छ । तिजको समयमा तिजकै भड्कीलो प्रवृतिका कारण प्रायसः घरमा श्रीमान् श्रीमतीमा बेमेल, घरायसी झैँझगडा र लैंगिक हिंसा हुने गरेको पनि देखिन्छ । सामाजिक सञ्जाल फेसबुक, टिकटकमा अर्काको मागेरै भएपनि देखाउने र त्यो देखासिकी समुदायका अन्य व्यक्तिले अनुकरण गर्ने प्रवृतिले गर्दा नेपाली मौलिक संस्कार, संस्कृति नै धरापमा पर्दै गएको छ ।

नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा बजारमा आएका गीत, नेपाली मौलिक पन, नेपाली संस्कृतिभन्दा फरक तरिकाबाट तोडमोड हुँदै नयाँ र भड्कीलो पन थपिँदै आएका छन् । पछिल्लो पिढीका नयाँ कलाकारहरूले बजारमा ल्याएका अधिकांश गीतहरूमा नेपाली मौलिकता गुम्दै गएको छ । ति गीतहरूले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् । तिज भनेको गीतका माध्यमबाट महिलाहरूले आफूले भोगेका सुख दुःखका बेदनाहरू महिलाहरू माथी हुने विभेद, तमाम किसिमका उत्पीडनका विरुद्ध संगीतको माध्यमद्वारा बह पोख्ने ठूलो अवसर पनि हो । तर पछिल्लो समयमा तिजमा उत्ताउलो खालको संस्कृति भित्रिन थालेको छ । पर्वको अबसरमा गाउने गीत, पर्वको मर्म तथा नारी बेदनाभन्दा पनि फरक खालको संस्कृति अहिले भित्रिएको छ । तिजको अबसरमा एक महिना अघिदेखि दरखाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तिजको मर्यादा र संस्कृतिलाई अझ विकृतिका रुपमा लैजान थालेको अनुभुती जोकसैलाई पनि हुनसक्छ ।

समय परिवर्तनशील र गतिशील छ । समयको परिवर्तनशीलता र गतिशीलता सँगसँगै मानव समाज र सभ्यताहरूको परिवर्तन हुँदै आएका छन् । समयको गतिसँगै भएका सकारात्मक एवम् श्रृजनशील परिवर्तनहरूले समाज र सभ्यताहरूलाई वैभवता प्रदान गर्दै विकासको उचाईमा पुर्‍याएका छन् ।

समयको बदलिंदो प्रवाहसँगसँगै नकारात्मक र श्रृजनशीलताको अभावमा परिवर्तनहरूले समाज र सभ्यताहरूलाई बदनाम गर्दै बिनाससम्म पुर्‍याएका छन् । तिज पर्व पनि समयको परिवर्तीत चक्रसँगसँगै परिवर्तन हुँदै आएको छ र समय अनुकूल मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरि परिवर्तन हुन आवश्यक छ । हिजो माइती घर, ब्रत, पूजा, पंधेरो, चौतारो अनि मन्दिरहरूमा सिमीत हुने पर्व आज शहर, बजार, वस्ती, ब्यवसाय, विद्युतीय सञ्चार माध्यमहरू, सामाजिक सञ्जालहरू लगायत हुँदै ब्यापकता लिएको छ । हिँजो डम्फू, मादल, थपडी र मुर्चुङ्गामा गाईने तिजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका पनि छन् । एक प्रकारले तिज पर्वको माध्यमबाट सामाजले सांस्कृतिक एवं सांगितिक उपलब्धि हांसिल गरेको छ भन्दा अतिशोक्ति नहोला ।

तर बिगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रीयता, सजिलो आय आर्जनको लोभमा, तिज जस्तो पवित्र चाडलाई विकृती, बिसङ्गती र यौन स्वच्छन्दताको शिकार बनाईदै छ । जेहोस् परापूर्वकालदेखि प्रचलनमा आएको हरितालिका तिजको आफ्‌नै ऐतिहासिक महत्व छ । यसलाई आधुनिकता भित्र फेसन र आडम्बरको रूपमा शहरका होटल, पाटी प्यालेसमा भट्किलो र खर्चिलो बनाउने प्रचलनलाई हामी महिलाहरूले नै त्याग्न सक्नु पर्दछ । यस्ता विकृतिले धार्मिक सांस्कृतिक र ऐतिहासिक मौलिकता नष्ट भई समाजमा कमजोर नागरिकलाई चाडवाड र संस्कृति मनाउने, सुख, दुःख साट्ने प्रचलनमा दरार सिर्जना भई विभेदको अर्को रूप विकाश हुनसक्छ । यस्ता विषयमा विचार नपुर्‍याएर समाजमा विविध अपराधपूर्ण घटनाले प्रश्रय पाउने छ । महिलाहरूले यस्ता धार्मिक सांस्कृतिक महत्वका चाडपर्व मनाउँदा विशेष ध्यान पुर्‍याउनु उत्तम हुनेछ । साथै महिलाहरू माथी हुने उत्पीडिन, दमन, सामाजिक विभेदका विरुद्ध बुलन्द आवाजको रुपमा हरितालिका तिजलाई मनाउन सकेयौँ भने सामाज रुपान्तरणमा महत्वपूर्ण भुमिका बल पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार