फुटपाथमा बेचिने छ देश (कविता)

हेम बिजी ##

देशमा अनगिन्ती चिज बेचियो
नेताहरूकै
सत्ता र स्वार्थ किन्न
राष्ट्रियता पनि बेचियो
स्वाधीनता पनि बेचियो
र सार्वभौमिकता पनि बेचियो
देशमा
कुन चिज बेचिएन र
देशमा अनगिन्ती चिज बेचियो

नेताहरूकै
आनन्द र आराम किन्न
देशमा अनगिन्ती चिज बेचियो
युवाहरूको तातो
र रातो रगत बेचियो
श्रमिकको सस्तो मूल्यमा
श्रम बेचियो
अस्तित्व र स्वाभिमान बेचियो
देशमा
कुन चिज बेचिएन र
देशमा अनगिन्ती चिज बेचियो

नेताहरूकै
महल र मनोरञ्जन किन्न
देशभित्रै पनि
देशमा अनगिन्ती चिज बेचियो
जग्गा लुटेर बेचियो
सुन छलेर बेचियो
जनता शरणार्थी बनाएर बेचियो
देशमा
कुन चिज बेचिएन र
देशमा अनगिन्ती चिज बेचियो

अब
देशमा बेच्न
एउटै चिज बाँकी छ देश
त्यो पनि
नेताहरूले नै
छोरा नातीहरूलाई वनभोज खुवाउन
बेच्ने छन् देश
र देश बेच्न
फुटपाथमा राखिने छ देश
फुटपाथमा बेचिने छ देश ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार