वरिपरिका अरू गाउँलेहरू अमेरिका गएको देखेपछि मलाई पनि त्यतै जाऊँ जाऊँ लाग्यो । त्यसपछि अमेरिका पठाउने एजेन्ट खोज्न थालियो । त्यसै क्रममा एक जना भेटिए ।
उनले अमेरिका जान ४० लाख रुपियाँ लाग्दछ भनेका थिए । पछि त त्यो रकम बढ्दै गएर ४५ लाख, हुँदै ५५ लाख हुँदै ६५ लाख रुपियाँसम्म पुग्यो ।
पहिला नेपाली एजेन्टलाई पाँच लाख रुपियाँ बुझाइयो । त्यसको १५ महिनापछि मात्रै एजेन्टले तिम्रो पालो आयो भने । त्यसपछि उनकै सूचनाअनुसार काठमाडौँ आइयो ।
काठमाडौँ आएर दुई महिनाजति बसियो । त्यसपछि हवाईजहाजबाट मलेसिया पुगियो । मलेसियामा एयरपोर्टभित्रै तीन दिन बस्नुपर्यो । त्यसपछि मलेसियाबाट टर्कीको एयरपोर्ट पुगियो । त्यहाँ पाँच दिनजति बसियो । त्यहाँ हामी जस्तै अमेरिका जान हिँडेका ४०–५० जनाजति मानिस थिए । हामी नेपाली त दुई जना मात्रै थियौँ । उनीहरूले आफू त्यहाँ गत तीनचार महिनादेखि बसिरहेका छौँ भन्थे । उनीहरूसँग पैसा थिएन । त्यहाँ उनीहरू अरूले सहयोगस्वरूप दिएको खाना खाएर बसिरहेका थिए ।
हामी त्यहाँबाट प्लेनबाटै स्पेन पुग्यौँ । स्पेनको एयरपोर्टमा पुग्दा त्यहाँ पनि २०–२५ जना अमेरिका जान हिँडेका मानिसहरू लिए । उनीहरू पनि अलपत्र अवस्थामै थिए ।
हामी स्पेनबाट इक्वेडर पुग्यौँ । त्यहाँ हामीलाई लिन अर्को डङ्कर (स्पेनिस भाषामा एजेन्टलाई डङ्कर भनिँदो रहेछ) आए । हामीले ती डङ्करलाई पाँच हजार अमेरिकी डलर दियौँ । उनले हामीलाई कोलम्बिया जाने बसमा चढाइदिए ।
कोलम्बियामा पुगेपछि अरू डङ्कर आइपुगे । त्यहाँ दुईओटा डङ्कर थिए । उनीहरूले हामीलाई बाइकमा बसालेर जङ्गलैजङ्गलको बाटो हिँडालेर अनकण्टार गाउँ जस्तो ठाउँमा लगे । बारी जस्तो झाडीमाझ एउटा घर थियो । हामीलाई त्यही बस्न भनियो । हामी त्यहाँ पुग्दा रात परिसकेको थियो । हामीलाई प्याकिङ खाना खान दिइयो । हामीले त्यहाँ चार हजार अमेरिकी डलर ती डङ्करलाई दियौँ । त्यसपछि हामीसित एक सय डलर मात्रै बाँकी रह्यो । चार दिनजति हामीलाई त्यही बसालियो ।
त्यहाँबाट हामी बसमा चढ्यौँ । हामीसँग अरू पाँचछ जना नेपाली पनि थपिए ।
हामी यतिखेरसम्म कोलम्बियामा नै थियौँ । त्यहाँ ठाउँ ठाउँमा प्रहरीले चेक गर्दै गरे । उनीहरूले हामीसित भएका पैसा पनि लगे ।
त्यसै क्रममा हामीलाई त्यहाँका स्थानीय जस्ताले समुद्रनजिकैको होटेलमा पुर्याए । त्यहाँ २० जनाजति नेपालीसहित अरू ४० जना अमेरिका जान हिँडेका मानिसहरू थिए । हामीलाई त्यहीँ एक हप्ताजति बसालियो ।
हामीले यस दौरान दिनमा एकपटक मात्र खाना खान पाउँथ्यौँ । कहिले दिउँसो १२ बजेतिर त कहिले ३ बजेतिर, त्यो पनि एक मुठी मात्रै । खाना आएपछि लाइन लागेर उभिनुपथ्र्यो । प्लास्टिकको कचौरामा एक मुठीभन्दा बढी भात अट्दैनथ्यो । त्यो पनि जो अघि छ, उसले खान पाउँथ्यो, पछि बसेकाहरू भोकै हुन्थे ।
सात दिनपछि हामीलाई डुङ्गामा राखेर अगाडिको यात्रा गराइयो । करिब दुई घण्टाको डुङ्गायात्रापछि हामीलाई कपुरगाना पुर्याइयो । त्यहाँ अर्को डङ्कर हामीले लिन आए । उनले हामीलाई होटलबाट ल्याएको खाना खान दिए । तबसम्म हामीसित भएको सबै पैसा सकिएकाले उनले हामीलाई १५० अमेरिकी डलर पनि दिए ।
साँझ परेपछि हामीले फेरि जङ्गलको यात्रा सुरु गर्यौँ । अब हामी पनामाको बोर्डरतर्फ लाग्दै थियौँ । करिब चार घण्टा बसमा हिँड्यौँ । हामीलाई प्राय:जसो रातिमा हिँडाइन्थ्यो । त्यो समूहमा हामी सात जना नेपाली थियौँ, एक डङ्करको जिम्मामा । सिमसिम पानी परिरहन्थ्यो । हामी पूरै भिजेका हुन्थ्यौँ ।
बसबाट ओर्लेर अब हामी राति राति पैदलै हिँडिरहेका थियौँ । सायद रातको २ बजेको थियो होला, हामीलाई बाटो देखाइरहेको डङ्करले बाटो भुले । उनले हामीलाई घुमाई घुमाई एकै ठाउँमा ल्याइपुर्याउथे । वरिपरिबाट जङ्गली जनावरका डरलाग्दो आवाज आइरहेको हुन्थ्यो । त्यहाँ खोला पनि थियो । हामी डराई डराई हिँडिरहेका थियौँ । डङ्करसित हामी बोल्नै हुँदैनथ्यो । बोल्यो कि हामीलाई कुटिहाल्थे ।
करिब आठ किलोमिटरको बाटोसम्म हामी पानी पानी, खोला खोला हुँदै हिँड्यौँ । रातभरि हिँडेपछि बिहानपख एउटा टेन्टमुनि पुग्यौँ । त्यहाँ अरू २०–२५ जनामा मानिस जम्मा भएका थिए । हामीलाई खुसी लाग्यो, सायद यहाँ बस्न पाइन्छ कि भनेर । बसौँ भन्दा डङ्करले मानेनन् । सायद बिहानको उज्यालो हुन आँटेको थियो तर हामी हिँडिरह्यौँ ।
हाम्रो टोलीमा गर्भवती महिलाहरू पनि थिए । उनीहरू बडो कष्टपूर्वक हिँडिरहेका थिए । हामी सिमसिम पानीमा भिज्दै सातआठ किलोमिटर उकालो हिँड्यौँ । करिब १२ घण्टासम्म हामी हिँडिरह्यौँ, हिँडिरह्यौँ । त्यसपछि डङ्करले हामीलाई मात्रै छोडिदिए र हामीलाई मात्र जान भने । हामीले नचिनेको ठाउँमा कसरी जाने त भनेर सोध्यौँ । उनले भने– त्यस्तो केही हुँदैन, सिग्नल हेर्दै जानू, पुगिन्छ ।
हामी यतिखेर पनामाको जङ्गलबाट अगाडि बढ्दै थियौँ । त्यसै क्रममा ओरालो बाटो हिँड्यौँ । ओरालो बाटो के भन्नु ? तीनचार किलोमिटर चिप्लेटी बाटो हिँड्यौँ । तल पुगिसकेपछि एउटा पानिकुलो जस्तो आयो । त्यहाँ अरू पनि मानिस थिए । हाम्रो घाटी प्यासले सुकिरहेको थियो । पानी सफा छ वा फोहोर ? त्यसको वास्तै नगरिकन पानी खायौँ ।
त्यसपछि हामीलाई दक्षिणतर्फको खोलाको बाटो अगाडि बढ्न भनियो । त्यो बाटो हामी करिब दुई घण्टाजति हिँड्यौँ । त्यसपछि एउटा सैन्यक्याम्प आयो ।
हामी त्यहाँ पुग्दासम्म एक जनाको मृत्यु भइसकेको थियो हाम्रै अगाडि । हामी सपनामा हो कि विपनामा जस्तो अवस्थामा थियौँ । हामीलाई नसा लागे जस्तो भइरहेको थियो ।
त्यही यात्रामा हिँड्दा आमासहित एक जना बच्चालाई खोलाले बगायो । बच्चालाई छोप्न उनका बाबु खोलामा हाम फाले । अरू मान्छे पनि तिनलाई बचाउन खोलामा पुगे । उनीहरूले बच्चा र आमालाई बचाए तर बाबुलाई खोलाले बगाइहाल्यो ।
त्यतिखेर हाम्रा आँखाभरि आँसु थिए । बच्चासहितका ती महिला पनि रुँदै थिइन् । उनी फर्किँदै बच्चाको बाबुलाई बगाएको दिशातिर पटक पटक हेर्दै गर्थिन् । हाम्रो मनमा भक्कानो फुटिरहेको थियो । हामी आँखाभरि आँसु लिएर अगाडि बढ्यौँ ।
अगाडि बढेर हामी एक ठाउँमा टेन्ट लगाएका ठाउँमा बास बस्यौँ । अविरल झरी परिरहेकै थियो । बास बस्यौँ के भन्नु ? हामी थाकेर लखतरान परिसकेका थियौँ । त्यसैले त्यहाँ टेकिनासाथ हामी निदाइहाल्यौँ ।
बिहान उठ्दा हाम्रो खुट्टा सुन्निएर तोरी पेल्ने कोल जस्तो भइसकेको थियो । हामी हिँड्न सक्ने अवस्थामा थिएनौँ तर पनि हिँड्नैपर्ने थियो हामीलाई ।
त्यसपछि पनि हामी करिब १० किलोमिटरजति हिँड्यौँ । त्यस क्रममा टेन्टमै बास बस्यौँ, चिसै कपडामा । हामीसित कपडा धुने, सुकाउने वा ओभानो कपडा लगाउने सुविधा केही थिएन । ओभानो कपडा लगाउन पाए पनि कस्तो हुन्थ्यो भन्ने अवस्थामा हामी पुगेका थियौँ ।
खोलैखोला, घरि खोलावारि, घरि खोलापारि गर्दै हामी वारिपारि गर्दै रह्यौँ । यस्तो कैयौँ दिनसम्म भइरह्यो । बिस्कुट, चक्लेट, ब्रेड जस्तै खाना, फोहोरपानी खाएर हामी चार दिनसम्म लगातार हिँडिरह्यौँ । हाम्रा खाना पनि पानीमा भिज्दथ्यो, खालि चक्लेट मात्रै ओभानो हुन्थ्यो ।
त्यसपछि हामी डुङ्गामा चढेर अगाडि बढ्नुपर्ने थियो । त्यहाँ डुङ्गा चढ्न २०० जति मान्छे थिए । त्यसमध्ये कति त जङ्गलको बाटो पार गरेर आएकोमा बाच्यौँ भनेर खुसीले रोएका त कोही नाचेका देखिन्थे । त्यो पनामाको जङ्गलकै छेउको समुद्री भाग थियो ।
दुई घण्टा कुरेपछि हाम्रो पालो आयो । एउटा डुङ्गाले २० जना जति बोक्दथ्यो । त्यसबापत् प्रत्येकले २० अमेरिकी डलर तिर्नुपर्दथ्यो । हामीले पनि २० डलर तिरेर डुङ्गा चढ्यौँ ।
डुङ्गाको यात्रा खतरनाक थियो । पानीमा गोही र गोही बच्चाहरू घुमिरहेका देखिन्थे । पूरा क्षमता डौडिरहेको डुङ्गाबाट कोही खस्यो भने बाँच्ने कुनै सम्भावना थिएन ।
डुङ्गाबाट ओर्लेपछि हामीलाई सैन्य क्याम्पका सेनाले चेकजाँच गर्यो । त्यसपछि हामीलाई टेन्टभित्र बस्नू भनियो । त्यहाँ एक हजार जनाजति मानिस थिए, सबै अमेरिका जान हिँडेका ।
हामी त्यहाँबाट बसमा चढ्यौँ । हामीलाई अब कोस्टारिका जाने भनिएको थियो । त्यस क्रममा हामी तीन दिनसम्म यात्रा गर्यौँ, उही टेन्टमा बास, दिनमा एकपटक खाना खाँदै ।
बसको यात्रा गरेर हामी निकारागुआ पुग्यौँ राति नै । रातमा नै हामीलाई अर्को वाहनमा चढाएर पठाइयो । अब अर्को डङ्कर हामीलाई लिन आए । उनले हामीलाई एउटा होटेलमा पुर्याए तर हाम्रा लागि होटेलभित्र बस्ने व्यवस्था गरिएको थिएन । त्यसैले हामी होटेलबाहिरको पेटीमा नै सुत्यौँ ।
त्यसपछि फेरि होन्डुरसको यात्रा सुरु भयो । तबसम्म हामीसित पैसा सकिएको थियो । पैसा नभएको भन्दै हामीलाई बसवालाले बिचैमा ओरालिदियो । एउटा डङ्करले अर्को डङ्करलाई फोन गरिदिएपछि हामीलाई पुन: अर्को बसमा चढाइयो ।
यस्तो लागिरहेको थियो, डङ्कर जताकतै हुँदा रहेछन् । हाम्रो नेपालमा मात्रै होइन, युरोप, अमेरिकातिर पनि डङ्कर नै डङ्कर रहेछन् । अहिलेसम्म धेरै डङ्कर फेरिइसकेका थिए । एक डङ्करले अर्को डङ्करलाई रिले गर्दै, हामीलाई अर्कोको जिम्मामा सुम्पिँदै उनीहरूले हाम्रो यात्रा अगाडि बढाइरहेका थिए ।
यात्राको क्रममा हामीलाई घोडामाथि पनि हिँडालियो । करिब एक घण्टासम्म पानी पानीको बाटोमा घोडामाथि चढेर हिँड्नुपर्यो । घोडा हिँडाल्ने भाइ पनि चोटैचोटले रक्ताम्य थिए । उनको खुट्टा हेरिसक्नु थिएन । त्यसै क्रममा हामीलाई दुई घण्टाजति फोहोर दुर्गन्धित ठाउँमा बसालियो ।
त्यसपछि सुरु भयो बाइकको यात्रा । बाइकको गति यति तीव्र थियो, हामीलाई यस्तो लागिरहेको थियो, अब जिन्दगी यत्तिमै खत्तम हुने छ । अब हाम्रो यात्रा यत्तिमै समाप्त हुने छ । त्यो बाटोमा बाइक अधिकतम गतिमा जति हिँड्न सक्थ्यो, हिँडालियो । हामीले मनमनै प्रार्थना गर्यौँ : हे पशुपतिनाथ ! हाम्रो रक्षा गर ।
दुई घण्टा बाइकको यात्रापछि हामीलाई कारमा बसालियो । कारको गति पनि त्यस्तै । त्यहाँ पनि हाम्रो जिन्दगी यत्तिकै रहेछ जस्तो लागेको थियो ।
कारवालाले हामीलाई एउटा होटेलनेर लगेर राखिदियो । त्यहाँ मोबाइलको नेटवर्कले काम गर्दैनथ्यो । सायद त्यो कुनै दुर्गम गाउँ थियो । हामीलाई त्यहाँ चार दिनसम्म बसालियो । दिनमा एकपटक प्याकिङ खाना आउँथ्यो । बाहिरबाट ताल्चा लगाइएको थियो । हामी भित्रै बसिरहन्थ्यौँ ।
पाँचौँ दिन दुई जना भारतीय हाम्रो समूहमा थपिए । छैटौँ दिन त्यहाँ सानो वाहन आइपुग्यो । हामीलाई त्यसैमा राखेर ग्वाटेमालातिर हिँडालियो तर मध्यराततिर हामीलाई बाटोमा ओरालियो । त्यसपछि फेरि बाइक र डुङ्गाको यात्रा सुुरु भयो । चार घण्टाजति हामी त्यही क्रममा बाटोमा बस्यौँ । यसैबिच अर्को डङ्करले हामीलाई लिएर अगाडि बढे ।
डङ्करले हामीलाई गाडीबाट ओराले । त्यसपछि हामीलाई केराको घारीमा लुक्न भनियो ।
ग्वाटेमालामा पुग्दा हामी नेपाली २० जनाजति थिए, अन्य मानिस गर्दा कुल ४० जनाजति थिए । उनीहरू भन्थे– हामी यहाँ गत दुई महिनादेखि बसिरहेका छौँ ।
त्यहाँबाट फेरि हामीलाई दुई दिनजति ट्रकमा बसालेर अगाडि पुर्याएर ओरालियो । अब हामी मेक्सिको पुगेका थियौँ । त्यो ठाउँ तामाजुला हो भन्दथे ।
अब फेरि डङ्कर फेरिएका थिए । उनले हामीलाई बाइकबाट स्कर्टिङ गर्दै अगाडि बढाए । त्यहाँ हजारभन्दा बढी मानिस थिए । त्यहाँसम्म पुग्दा हामीलाई करिब ४५ दिन लाग्यो होला भन्ने लाग्छ । अरूका कुरा सुन्दा हामी छिट्टै त्यहाँ आइपुगेका थियौँ । अरू मानिसलाई त्यहाँ पुग्दा अझै धेरै समय लाग्ने गर्दो रहेछ ।
हामीलाई असाध्यै भोक लागेको थियो । हामीले होटलमा खाना खाने सोचेका थियौँ तर डङ्करले हामीलाई खान दिएनन् र अगाडि बढाए । अब हामीलाई जङ्गलमा रहेको नयाँ बन्दै गरेको घरमा पुर्याइयो । हामीलाई त्यहाँभित्र बस्न भनियो र बाहिरबाट ताल्चा लगाइयो । बिहान ३ बजेतिर होला, पाउरोटी जस्तो खानेकुरा दिइयो । हामीले त्यही खायौँ ।
भोलिपल्ट बिहान हाइस जस्तो वाहनमा हामीलाई पहाडको बाटो हिँडालियो । करिब चारपाँच घण्टा हामी हिँड्यौँ र हाइस जस्तो वाहनले ओरालेको ठाउँमा बास बस्यौँ ।
त्यसको पर्सिपल्ट होला, हामीलाई फेरि पाँचछ घण्टाजति रातमा हिँडालियो । अब फेरि अर्को डङ्कर फेरिएका थिए । उनले पाँचछ घण्टा हिँडालेर एउटा होटलमा पुर्याए । हामी त्यहाँ दुई दिनजति बस्यौँ ।
अब हामी फेरि अगाडि बढ्यौँ । बाटो जङ्गलको थियो । जङ्गलमै हामीलाई १२ बजेतिर छोडियो र राती १२ बजेसम्म त्यहीँ बसालियो । त्यहाँ दुई जना भारतीय एजेन्टका र हामी दुई जना एकै एजेन्टमा मानिस गरी चार जना थियौँ ।
त्यहाँ राती १ बजेतिर हामीलाई लिन दुईओटा बस आए तर हामी त्यहाँ चार जना मात्रै रहेनछौँ, बसमा चढ्ने बेलामा त एकाएक चार सय जनाजति मानिस जम्मा भए । सबै मान्छे त्यहीँ यताउता लुकेर बसेका रहेछन् । डङ्करको अह्रनखटनअनुसार हामीलाई बसमा चढाइयो । एउटा बसमा दुई सय जना । एक जनामाथि तीनचार जना मान्छे बस्नुपर्ने । धौ भयो भन्न नपाइने । भन्यो कि डङ्करले कुट्न आइहाल्ने ।
यो यात्रा पाँच घण्टाजति चल्यो । राति १ बजेदेखि सुरु भएको त्यो कष्टकर यात्रा बिहान ६ बजेसम्म चल्यो । त्यसपछि ती दुईओटा बस ठुलो भवननेर पुगेर रोकियो । तबसम्म बसमा बसी बसी हाम्रा खुट्टा सुन्निएका थिए ।
त्यहाँ करिब एक हजार जना मानिस थिए । बेलुकापख फेरि हामीलाई एउटा कार जस्तो वाहनमा बसालियो । चार जनामध्ये मलाई सुताएर कपडाले ढाकियो । त्यसो गरेको पुलिसले देख्छ भनेर रहेछ । यसरी चार घण्टासम्म कष्टकर यात्रा सुरु गर्नुपर्यो हामीले ।
अब हामी मेक्सिको पुगेका थियौँ । त्यहाँ अर्को डङ्कर हामीले लिन आएका थिए । करिब एक घण्टा हिँडेपछि हामी एउटा घरमा पुग्यौँ । त्यहाँ ४० जनाजति मानिस थिए । त्यहाँ पुग्दासाथ यता नेपालबाट मेरोतर्फबाट परिवारले एजेन्टलाई थप १० लाख बुझाइदिएको जानकारी प्राप्त भयो । उनीहरूले जम्मा गर्न भनेको चार दिनभित्रै सो रकम बुझाइएको थियो । हामीले ४० लाख पहिले नै बुझाइसकेका थियौँ ।
करिब १९ दिनसम्म हामी मेक्सिकोमा हिँडिरह्यौँ । त्यस क्रममा हामीलाई राति राति हिँडालियो । चेकपोस्टमा चेकजाँच पनि हुँदै गर्यो । हामीसँग खर्च नभएकाले एजेन्टले हामीलाई केही पैसा दिएका थिए तर सुरक्षाकर्मीले पैसा भेट्यायो कि लगिहाल्ने गर्थे, कुटपिट भने गर्दैनथे ।
अहिलेसम्म जति पनि चेकजाँच भएको थियो, त्यसमा एउटा कुरा साझा थियो । जुनसुकै ठाउँका प्रहरी वा सुरक्षाकर्मीलाई पनि पैसा देख्नै नहुने, देख्यो कि लगिहाल्ने । पैसा नदिने हो भने पासपोर्ट च्यातिदिन खोज्ने । त्यो संसारभरिका सुरक्षाकर्मीको साझा विशेषता रहेछ जस्तो लाग्यो ।
भोलिपल्ट हामीलाई त्यहाँबाट अगाडि हिँडालियो । राती १–२ बजेतिर अर्को चेकपोस्ट आइपुग्यो । त्यहाँ पनि चेकजाँच भयो ।
अब फेरि हामी बसमा चढ्यौँ । त्यसपछि एउटा घर आइपुग्यो । त्यहाँ पनि ४०–५० जना अमेरिका जान हिँडेका मानिस थिए । कैयौँ सुतेको अवस्थामा थिए ।
उज्यालो भएपछि हामीलाई गाडीमा बसालेर मेक्सिकोको पर्खालनेर पुर्याइयो । पर्खालनेर अमेरिका छिर्ने सानो बाटो बनाइएको रहेछ । कोही पर्खाल नाघेर पनि जाँदा रहेछन् । हामी पुगेको ठाउँमा छिर्नका लागि सानो बाटो थियो । त्यहाँ पुगेपछि डङ्करले हामीलाई त्यही छोडेर भागे । उनले भन्यो, यहीँबाट अमेरिका छिर्नू । त्यसपछि हामी अमेरिका छिर्यौँ ।
अमेरिका छिरेपछि प्रहरीले हामीलाई नियन्त्रणमा लिए । पुलिसले हामीलाई भ्यानमा बसालेर टेन्टमा पुर्याए । त्यहाँ पुर्याएपछि फेरि चेकजाँच गरियो । त्यहाँ हामीमध्ये धेरैको पासपोर्ट च्यातिएको थियो तर मेरो भने पासपोर्ट सुरक्षित राखेको थिएँ ।
त्यहाँबाट एकडेढ घण्टापछि हामीलाई एउटा जेलमा लगियो । त्यहाँ करिब दुईतीन हजार मानिस थिए । त्यहाँबाट मसँग आएको भाइ र मेरो विछोड भयो । मलाई एउटा जेलमा लगियो, भाइलाई अर्को जेलमा ।
मलाई प्रहरीले एउटा गाडीमा हालेर चार घण्टापछि अर्को जेलमा पुर्यायो । त्यहाँ नेपाली मात्रै रहेछन् । त्यो जेलमा म चार दिनसम्म बसेँ ।
चार दिनपछि उनीहरूले मलाई छोडिदिए । उनीहरूले मलाई अस्पताल जस्तो ठाउँमा छोडिदिए । त्यहाँका सायद स्वास्थ्यकर्मी हुन् कि के हो ? उनीहरूले मेरो स्वास्थ्यजाँच गरे । करिब १२ घण्टासम्मलाई मलाई त्यहाँ राखियो र त्यसपछि छोडियो । त्यसपछि मैले आफ्ना आफन्तसँग भेट गर्न सकेँ ।
अन्तमा, मेरो सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीसित अनुरोध छ : आफ्नो ज्यानको बाजी लगाएर अमेरिका नआउनुहोला । पाँचछ महिना भयो, मैले काम पाएको छैन । घरबाटै पैसा मगाएर खाने, बस्ने गरेको छु । अहिले मलाई अमेरिका किन आएँ भन्ने लागिरहेको छ । यस्तो दु:खकष्ट हुने गरी मेरा दाजुभाइ, दिदीबहिनीहरू कोही नआइदिनुहोला । तपाईंहरू सबैसित मेरो विनम्र अनुरोध छ ।