ओली र बास्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा अनियमितता गरिएको भन्दै प्रधानमन्त्री ओली र बास्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए।

उनले राजीनामा दिए पनि त्यतिकै उन्मुक्ति दिन नहुने चौतर्फी दबाब बढिरहेको बेला बास्कोटासहित सो प्रक्रियमा संलग्न चारजना विरुद्ध उजुरी परेको जनाइएको छ ।

नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुरका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सीईओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

अख्तियारमा परेको उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट निज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुन्छ।’ सेक्युरेटी प्रेस खरिदमा स्वीजरल्याण्डका एजेन्ट विजयप्रकाश मिश्रसँग १६ महिनाअघि बास्कोटाले गरेको अडियो बुधबार राति बाहिरिएको थियो ।

मिश्रविरुद्ध साइबर क्राइमको उजुरी यता, निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइमको उजुरी दर्ता भएको छ । संसदको सार्वजनिक लेखा समितिका

सदस्यहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको थियो । मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार