डग्दैन हाम्रो स्वाभिमान (कविता)

#जनक बिसी

हामीलाई घरको ओत लाउने छानो
बनेर ओत दिइरहँदा थाहा छैन के भयो ?
कति वर्षियो तिम्रो शरिरमा खुकुरी र मुढाहरू
दुःखका पहाड, वर्षा र असिनाका डल्लाहरू ।

हामीलाई अनुभूति त नहोला
तिमी ठुलो ओत बनेर सितल दिई रहँदा
कैयौं समय दुःख सह्यौ होला ?
चलिरहने अभावका हुरी र बतासहरूसंगै
हामीलाई मुक्ति मार्ग पहिल्याई रहेका छौ ।
नयन अश्रुको साथमा खुसि छन् यि मनहरू
तल्ला घरे साहुले एकछत्र दमन गरिरहँदा
तिमीले संघर्ष गर्ने डोव पहिल्याई रह्यौ
त्यो दुश्मनको कालकोठरी भित्र कैयौं वर्ष वितायौ ।
हामीलाई महशुस त नहोला,
तिमी ठुलो छहारी बनेर सितल दिईरहँदा
कति वर्षियो तिम्रो शरिरमा खुकुरी मुढाहरू
दुःखका पहाड, वर्षा र असिनाका डल्लाहरू ।

अब त धर्तिका प्राणिहरू पनि,
जंगलमा चर्न थालिरहन सक्ने भए
पालुवाको रफ्तारसंगै गम्भिर बन्न सक्ने भए
आफ्नो मुक्ति मार्ग पहिल्याई हिँड्न सक्ने भए
नानीहरू पानीमा पौडी रहेका छन्
नदिहरु सागर भेटन कुदिरहेका छन् ।
हामीलाई खुशी त नहोला,
तिमी ठुलो ढाल बनेर संरक्षक बनीरहँदा
कति वर्षियो तिम्रो शरिरमा खुकुरी र तलवारहरू
दुःखका पहाड, वर्षा र असिनाका वर्षाहरू ।
अब दुःखका वर्षा र असिनाका डल्लाहरूमा
झुक्दै झुक्दैनन् यि सिरहरू
डग्मगाउँदैनन् हाम्रा उत्साहहरू,
प्रदुषित र बिशालु हावाहरू
फोहोर र डङगुरको डल्लाहरू ॥
३१ जनवरी २०२४

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार