के छैन मेरो देशमा (कविता)

हेम बिजी ##

के छैन मेरो देशमा
सबै चिज छ
सुन लुकाउन विमानस्थल छ
जग्गा हडप्न ललितानिवास छ
पैसा छल्न एनसेल छ
के छैन मेरो देशमा
सबै चिज छ ।

देश टुक्राउन सङ्घीयता छ
भूमिदान दिन एमसिसी छ
नागरिक बेच्न भुटानी शरणार्थी छ
के छैन मेरो देशमा
सबै चिज छ ।

बलात्कारी छुटाउन कानुन छ
हत्यारा छुटाउन आममाफी छ
भ्रष्टाचारी छुटाउन नेता छ
के छैन मेरो देशमा
सबै चिज छ ।

अधिकार दबाउन सत्ता छ
आवाज दबाउन बन्दुक छ
मतदाता भुलाउन भाषण छ
के छैन मेरो देशमा
सबै चिज छ ।

त्यसैले
के छैन मेरो देशमा
सबै चिज छ
मेरो देशमा विदेशबाट किन्नुपर्ने
सुशासन, समृद्धि र समानता मात्र छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार