एक हजार रामायण : रामको अवतार कति सत्य, कति मिथ्या ?

मोहनविक्रम सिंह ##

कामरेड गोपीरमण उपाध्यायको दर्शनको क्षेत्रमा लामो समयदेखि महŒवपूर्ण योगदान रहँदै आएको छ । माक्र्सवादी–लेनिनवादी दर्शनबारे पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । त्यही क्रममा उहाँले अध्यात्मवाद दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयमा विचारगोष्ठीको आयोजना गर्नुभएको छ । उक्त विचारगोष्ठीका लागि उहाँले तयार पारेको अवधारणापत्र हाम्रा अगाडि छ । त्यो अवधारणापत्रमा उहाँले भौतिकवादी दर्शनको मूलभूत विषयवस्तु तथा अध्यात्मवादसम्बन्धी विभिन्न मिथ्या चेतनाबारे पनि विस्तृत रूपले चिरफार गर्नुभएको छ ।

का. गोपीरमणले आफ्नो अवधारणापत्रमा पुर्पुरो (भाग्यवाद) सम्बन्धी मान्यता, परमेश्वर (ईश्वर) सम्बन्धी मान्यता, परलोक (स्वर्गनर्कको विषय), भूगोलसम्बन्धी मिथ्या चेतना, विद्याविषयक मिथ्या चेतना, सृष्टिविषयक मिथ्या चेतना, काल निर्धारणसम्बन्धी मिथ्या चेतना, महिला र कथित शूद्रमाथिका उत्पीडन र वर्तमान कालमा पनि भएगरेका मिथ्या चेतनाको रूपबारे विस्तृत रूपले प्रकाश हाल्नुभएको छ । उहाँले गरेको त्यस प्रकारको व्याख्याबाट अध्यात्मवाद कति मिथ्या चेतनामाथि आधारित छ र त्यसको स्वरूप पनि कति धेरै समाज विरोधी छ ? त्यो कुरामा कुनै शङ्का रहन्न ।

उहाँले ईश्वरसम्बन्धी मिथ्या धारणाको चर्चा गर्दै अवतारवादको पनि चर्चा गर्नुभएको छ । उहाँले ईश्वरसम्बन्धी मान्यताको चर्चा गर्दै त्यो मान्यता राजाको उत्पत्तिसित जोडिएको बताउनुभएको छ । त्यसबारे व्याख्या गर्दै त्यो अवधारणा पत्रमा लेखिएको छ– “समाजमा परमेश्वरसम्बन्धी मान्यताको उत्पत्ति र विकास मुख्यतया आदिमकालीन सङ्घको सामुदायिक जीवन या ‘यज्ञाग्नि’ आधारित सामाजिक जीवन विघटित भएर जब व्यक्तिगत सम्पत्तिमा आधारित ‘गुह्याग्नि’ को जीवन प्रारम्भ भयो, यस अवस्थामा सो व्यक्तिगत सम्पत्तिको प्रचलनलाई सुदृढ पार्न राज्यसंस्थाको उत्पत्ति भयो । सोही राज्यसंस्थाको प्रमुखलाई सबैको रक्षकका रूपमा स्थापित गरियो । सोही राज्यप्रमुख, जसले विघटित सङ्घीय जीवनको औचित्य र व्यक्तिगत प्रभुत्वमा आधारित व्यक्तिवादी विचारलाई प्रमुख रूपमा स्थापित गर्न सक्यो, त्यसलाई देवत्वका रूपमा स्थापित गरियो ।

देवता भनेको सर्वसाधारणभन्दा अलि माथि उठेको व्यक्तिलाई मानिन्छ । सुरुको मानिस देवता जब राज्यसत्ताको प्रमुख बन्यो । सो देवता सामन्तवादी उत्पादन पद्धतिको विकास भएको अवस्थामा परमेश्वर (ईश्वर) का रूपमा स्थापित भयो । यसरी राज्यसत्ताको प्रमुख भएपछि त्यसले जोसुकैलाई कृपा प्रदान गर्न सक्ने भयो । त्यसलाई लाभ पु¥याउन सक्ने भयो र आफ्ना विरोधी र मन नपरेकालाई घोर रूपमा दण्ड दिन सक्ने भयो, कसैलाई यातनागृह (नरक) मा लगेर यातना दिने भएपछि त्यसले ईश्वरको रूपधारण गर्न पुग्यो । यसै प्रकारको ईश्वरलाई अझै प्रबल स्वरूप प्रदान गर्नका लागि अवतारवादको जन्म भयो । यसै अवतारवादलाई संपुष्ट गर्नका लागि अनेकौँ पौराणिक साहित्यकारको लेखन, श्रवण र प्रचार भयो ।”

भारतका धर्मग्रन्थमा विष्णुका दशओटा अवतारको चर्चा गरिएको छ । तिनीहरूमध्ये अहिलेसम्म नौओटा अवतार भइसकेको र दशौँ कल्की अवतार हुन बाँकी रहेको बताइन्छ । यहाँ हामीले ती दश अवतारको चर्चा नगरेर विष्णुको सातौँ अवतार बताइएको राम अवतारको मात्र चर्चा  गर्दछौँ ।

गोपीरमणजीले आफ्नो अवधारणापत्रमा भौतिकवाद र अध्यात्मबारे जुन प्रश्न उठाउनुभएको छ, रामका विषयमा पनि जुन चर्चा गर्नु भएको छ, त्यो विस्तृत र गहन अध्ययनको विषय हो । संसारका विभिन्न भाषामा त्यसबारे हजारौँ ग्रन्थ लेखिएका छन । त्यसबारे विभिन्न प्रकारका मतमतान्तर पनि छन् । संसारभरि नै त्यसबारे विस्तृत रूपमा छलफल मात्र चल्दै आएको छैन, त्यसका आधारमा विश्वभरि नै ठुल्ठुला आन्दोलन, क्रान्ति र प्रतिक्रान्ति वा विश्वव्यापी उथलपुथल पनि हुँदै आएका छन् । भारतीय दर्शनमा पनि त्यससम्बन्धी धेरै सामग्री छन् र त्यसबारे शताब्दियौँदेखि धेरै विवाद चल्दै आएका छन् तर यो सानो लेखमा तिनीहरूको एउटा अंश राम र रामायणबारे मात्र केही प्रकाश हाल्ने प्रयत्न गरिने छ । त्यसबाट पनि हिन्दु दर्शन वा अध्यात्मवाद कति मिथ्या र अवैज्ञानिक धारणामाथि आधारित छ ? त्यो बुझ्न केही मदत पुग्ने छ ।

विष्णुका दश अवतारमध्ये रामको नै सबैभन्दा बढी महŒव रहेको छ भने पनि फरक पर्ने छैन । जनमानसमा, भारतमा मात्र होइन, संसारका धेरै भागमा रामको जति धेरै प्रचार भएको छ, त्यति अन्य कुनै अवतारको भएको छैन । त्यसरी राम भारतीय दर्शन वा धर्मका आधारशिला नै बनेका छन् भन्दा पनि फरक पर्ने छैन ।

रामलाई प्रतिष्ठापित गर्ने कार्य मुख्य रूपमा वाल्मीकिको रामायणद्वारा नै भएको छ । संसारका विभिन्न भाषामा धेरै महाकाव्य लेखिएका छन् तर यस अर्थमा रामायण संसारका अन्य महाकाव्यभन्दा बेग्लै छ । भारत र हिन्दचीनका देशसमेत गरेर करिब एक हजार रामायण लेखिएको बताइन्छ । कतिपय लेखकले तिब्बत र मङ्गोलियासम्ममा रामायण लेखिएको बताएका छन् । यहाँ उल्लेखनीय कुरा यो छ कि ती बेग्लाबेग्लै रामायण खालि वाल्मीकि रामायणका अनुवाद वा बेग्लाबेग्लै भाषाका संस्करण मात्रै होइनन्, ती बेग्लाबेग्लै रामायणमा रामसम्बन्धी कथा पनि कैयौँ रूपमा बेग्लाबेग्लै छन् । सायद संसारको अन्य कुनै महाकाव्यको यति व्यापक र विविध रूपमा प्रचार भएको छैन ।

रामायणका विषयमा विश्वका धेरै विश्वविद्यालयमा अध्ययन वा अनुसन्धान पनि हुने गरेको वा पिएचडीका शोधपत्र पनि लेख्ने गरिएका छन् । रामायणको विषयमा भारतबाहेक हिन्दचीनका देशमा कैयौँ मेला वा सांस्कृतिक पर्व पनि प्रचलित छन् । त्यस प्रकारको पृष्ठभूमिमा रामायणसम्बन्धी एउटा अन्तर्राष्ट्रिय सङ्ग्रहालय नै स्थापना गरियो भने त्यो सांस्कृतिक, साहित्यिक वा ऐतिहासिक दृष्टिकोणले समेत अत्यन्त महत्त्वपूर्ण र प्रशंसनीय कार्य हुने छ । त्यसमा संसारका सबै भाषामा प्रकाशित रामायण, तिनीका पाण्डुलिपि संसारका विभिन्न देशमा विभिन्न रूपले सम्पन्न हुने रामलीलाका कार्यक्रमका भिडियो, प्रदर्शन कक्ष, अध्ययन र अनुसन्धान कक्ष आदि राख्न सकिने छ ।

रामायणद्वारा रामको विश्वव्यापी रूपमा प्रचार भयो किनभने त्यो एउटा महान् सांस्कृतिक कृति हो र त्यससँग जोडिएका अन्तर्राष्ट्रिय स्तरका सांस्कृतिक पक्षले कैयौँ दृष्टिकोणले महत्त्वपूर्ण स्थान राख्दछ । ती सबैको अध्ययन वा जानकारीका लागि रामायणसम्बन्धी अन्तर्राष्ट्रिय सङ्ग्रहालयले महत्त्वपूर्ण योगदान दिन सक्ने छ तर त्यस प्रकारको सङ्ग्रहालय कहाँ, कसरी र कसले स्थापित गर्ने वा त्यस प्रकारको कार्य सम्पन्न गर्नु सम्भव छ वा छैन ? त्यो यो लेखको विषय होइन । यो लेखले त खालि रामायणसित जोडिएको सांस्कृतिक महŒवमाथि नै प्रकाश हाल्ने प्रयत्न गरेको छ ।

कुनै साहित्यिक कृति इतिहास हुँदैन यद्यपि इतिहाससम्बन्धी कैयौँ विषयको त्यसमा समावेश भएको हुन सक्दछ । त्यसमा लेखकका कल्पना पनि जोडिएका हुन सक्दछन् वा जोडिन्छन् नै तर कल्पनाहरू जोडिएको हुनाले नै कुनै साहित्य कृतिलाई गलत भन्न सकिन्न किनभने कल्पनाहरू कुनै साहित्य कृतिका सधैँ नै महŒवपूर्ण अंश हुन्छन् तर कुनै साहित्य कृतिमा जोडिएका कल्पनालाई साहित्यिक रूपमा नै लिनुपर्दछ यद्यपि तिनीहरूलाई सत्य मान्ने सोचाइ पनि आम रूपमा पाइन्छन् । युनानका महाकाव्यमा समावेश गरिएका कैयौँ कल्पनालाई त्यहाँ सत्य मान्ने गरिन्छ वा ती महाकाव्यमा उल्लेख गरिएका देवीदेवतालाई पनि सत्य मान्ने गरिन्छ । त्यस प्रकारका अवधारणा अन्य कैयौँ देशमा पनि पाइन्छन् । त्यही कुरा रामायणका सन्दर्भमा पनि सत्य हो । रामायण कुनै ऐतिहासिक कृति नभएर साहित्यिक कृति हो । त्यसैले रामायणमा पनि कैयौँ कल्पनाको समावेश गरिएको छन् । त्यो एउटा साहित्यिक कृति भएको हुनाले र त्यसमा कैयौँ कल्पनाको समावेश गरिएको हुनाले अन्य लेखकले पनि आफ्ना बेग्लाबेग्लै कल्पना समावेश गरेर बेग्लाबेग्लै रामायण लेख्ने गरेका छन् । त्यसैले रामायणको सङ्ख्या एक हजारभन्दा बढी पुग्न गएको हो ।

सर्वप्रथम रामको कालबारे नै विचार गरौँ । त्यसमाथि विचार गर्दा रामसम्बन्धी मूल धारणा सम्पूर्ण रूपले मिथ्या भएको कुरामा कुनै शङ्का रहन्न ।

हिन्दु ग्रन्थहरूमा रामको काल त्रेतायुगको अन्त्यतिर भएको बताइएको छ । त्रेतायुगको सम्पूर्ण काल १२ लाख ९६ हजार बताइएको छ । त्रेता युगपछि द्वापरयुगको काल ८ लाख ६४ हजार र कलियुगको ४ लाख ३२ हजार बताइएको छ, जसमध्ये अहिलेसम्म करिब ५ हजार वर्षभन्दा केही बढी समय बितेको बताइन्छ । त्यसरी हिसाब गर्दा रामको काल करिब २४÷२५ लाख पहिलेको हुन जान्छ । यो ढुङ्गेयुगको काल थियो, ढुङ्गे युगको पनि पुरानो ढुङ्गे युगको काल । त्यसैले त्यो बेला गाउँ, सहर, भाषा, लिपि आदिको निर्माण नै भएको थिएन । पशुपालन र कृषियुगको प्रारम्भ करिब १० देखि १५ हजार वर्षपहिले मात्र भएको थियो । त्यसैले जुन काललाई रामको काल भनिन्छ, त्यो बेला घुमन्ते युग थियो र त्यसैले त्यो बेला अयोध्या, जनकपुर, लङ्का आदि जस्ता सहर अस्तित्वमा नै आएका थिएनन् ।

कतिपय मानिसले नेपालको चितवनमा अयोध्या र त्यसका नजिकै वाल्मीकिको आश्रम भएको कुरा पनि प्रमाणित गर्ने प्रयत्न गरिरहेका छन् । जस्तो कि पहिले पनि भनियो, त्यो काल ढुङ्गेकालीन भएको हुनाले विश्वमा कतै पनि गाउँ वा सहर बनेका थिएनन् वा अयोध्या, जनकपुर, लङ्का जस्ता सहर कतै पनि अस्तित्वमा आएका थिएनन् भने नेपालको चितवनमा अयोध्या भएको र त्यहाँ रामको जन्म भएको कल्पनाको नै आधार नभएको कुरा प्रस्ट छ ।

जे होस्, त्यो बेला राम, सीता वा रावणको जन्म हुनु वा वाल्मीकिले रामायण लेख्नु सम्भव नै थिएन तैपनि वाल्मीकिले रामायण महाकाव्य लेखेको कुरा सत्य हा तर वाल्मीकिले रामायण कहिले लेखेका हुन् ? त्यसबारे धेरै नै विवाद छ । त्यसबारे सबैभन्दा बढी विवाद बौद्धमार्गीसित छ ।

बौद्धमार्गीको यो दाबी छ कि रामायणको रचना सिद्धार्थ गौतमको कालभन्दा पछि भएको थियो । बौद्धमार्गीले दशरथ जातक कथामा रामको कथाको वर्णन गरेका छन् । वाल्मीकिकृत रामायणमा गौतम बुद्धको उल्लेख मात्र गरिएको छैन, उनको धेरै आलोचना पनि गरिएको छ ।

वाल्मीकि रामायणमा रामको आलोचना गरिएको कुराबाट रामायणको रचना आधुनिक कालमा र सिद्धार्थ गौतमको कालभन्दा पछि गरिएको हो भन्ने कुरा थाहा हुन्छ । वाल्मीकि रामायणमा गौतम बुद्धलाई चोर, राक्षस आदि जस्ता तल्लो स्तरका शब्दावलीद्वारा गाली गरिएको छ । त्यसमा यो पनि लेखिएको छ, जसरी चोर दण्डनीय हुन्छ, त्यही प्रकारले बुद्धलाई पनि सजाय गर्नुपर्दछ ।

हिन्दु धर्मग्रन्थहरूमा वेद वा हिन्दु धर्मलाई नमान्ने जातिलाई यक्ष, राक्षस, शूद्र आदि शब्दद्वारा भत्र्सना गर्ने गरिएको छ । त्यसअनुसार खस, किन्नर आदिलाई पनि यक्ष, राक्षस, शूद्र आदि भनेर आलोचना गरिएको छ । त्यही दृष्टिकोणअनुसार गौतम बुद्धले पनि ईश्वर, देवीदेवता, हिन्दु धर्म आदि नमान्ने भएको हुनाले उनीमाथि पनि त्यही प्रकारको आक्षेप लगाउने गरिएको छ ।

पछि हिन्दुहरूले उनलाई हिन्दुकरण गरेर उनलाई (गौतम बुद्धलाई) विष्णुका नवौँ अवतार बताएर प्रतिष्ठापित गरेका छन् । गैरवैदिक धर्मावलम्बीलाई वैदिकीकरण गर्ने हिन्दुहरूको त्यो दृष्टिकोण शिवबारे पनि अपनाएको बताइन्छ । कतिपय शोधकर्ताले यो बताएका छन् कि शिव किराँतका देवता थिए । त्यसैले उनको नाम किराँतेश्वर रहेको थियो । हिन्दुहरूले किराँतलाई राक्षस, यक्ष आदि भनेर आलोचना गरेको हुनाले उनीहरू (हिन्दुहरू) का लागि महादेव पनि अवैदिक देवता थिए । तर पछि उनीहरूले महादेवलाई विष्णु, ब्रह्मासरह प्रतिष्ठापित गरेका थिए ।

जुन बेला रामायण लेखियो, त्यो बेला हिन्दु र बौद्धका बिचमा ठुलो सङ्घर्ष चलिरहेको थियो । त्यसैले उनीहरूले गौतम बुद्धलाई चोर, राक्षस जस्ता शब्दले सम्बोधन गरेका थिए । उनीहरूले बौद्धमार्गीलाई राक्षस बताएका थिए । त्यसरी हिन्दुहरूको बौद्धमार्गीसितको तीव्र सङ्घर्षको कालमा नै रामायणको रचना गरिएको थियो र त्यसको मुख्य उद्देश्य राक्षसमाथि प्रहार नै थियो ।
रामायण महाकाव्यको कथाको सार रामद्वारा लङ्कामाथि आक्रमण र रावणको वध नै हो । त्यो बेला लङ्कामा बौद्ध धर्मको धेरै नै प्रभाव थियो र

अहिले पनि त्यो प्रभाव छ । लङ्कामा बौद्धमार्गीको प्रभाव भएको हुनाले नै त्यहाँका बासिन्दालाई राक्षस बताइएको थियो र रामायणलाई राक्षसको राजा । बौद्ध ग्रन्थमा रावणलाई बौद्ध भिक्षु र लोकप्रिय राजा बताइएको छ । भारतवर्षमा, जहाँ बौद्ध भिक्षुका बस्ती थिए, त्यहाँका बौद्ध भिक्षुलाई पनि राक्षस बताएर रामद्वारा तिनीहरूको संहार गरिएको थियो ।

रामायणमा गौतम बुद्धको आलोचना गरिएका कुराबाट दशरथ जातक कथाभन्दा पछि नै रामायण लेखिएको कुरा ता प्रष्ट नै हुन्छ । वाल्मीकिले रामायण लेखेको कुरा सत्य हो । उनले कतिपय किंवदन्ती, दन्त्य कथा वा कुनै ऐतिहासिक घटना र कथनका आधारमा त्यो महाकाव्यको रचना गरेका हुन सक्दछन् । बौद्धमार्गीले दाबी गरे जस्तै दशरथ जातक कथाबाट पनि उनले रामसम्बन्धी प्रसङ्ग लिएका हुन सक्दछन् । प्राचीनकालका वा आदिमकालका पनि कैयौँ साहित्यिक कृतिमा त्यस प्रकारका विधिको प्रयोग गरिएको हुन्छ । त्यही कुरा रामायणको सन्दर्भमा पनि सत्य हो ।

रामायणमा उल्लेख गरेका विभिन्न सहरमध्ये सबैभन्दा महत्त्वपूर्ण सहर अयोध्या नै हो तर प्रथमतः जुन त्रेतायुगमा अयोध्या सहर भएको बताइन्छ, त्यो बेला ढुङ्गेयुगीन काल भएको हुनाले कुनै सहर नै बनेका थिएनन् । त्योबाहेक जुन ठाउँमा अहिले अयोध्या सहर छ, त्यो सहरको अयोध्या नाम पनि धेरै पछि रहेको हो । अहिले जुन ठाउँमा अयोध्या सहर छ, त्यसको नाम पहिले साकेत थियो । त्यसैले श्रीमद्भागवत, स्कन्दपुराण र मत्स्यपुराण आदि ग्रन्थमा प्राचीन तीर्थको नामको उल्लेख गर्दा अयोध्याको कतै उल्लेख गरिएको छैन । कतिपय इतिहासकारले बताएअनुसार इसाको पाँचौँ शताब्दीमा स्कन्द गुप्तले साकेतको नाम अयोध्या राखे र त्यसलाई आफ्नो राजधानी बनाएका थिए । त्यसबाट पनि पहिलेको साकेत सहरको नाम अयोध्या राखिएपछि नै रामायण लेखिएको कुरामा कुनै शङ्का  रहन्न ।

रामायणका राम पूरै काल्पनिक पात्र हुन् तर गौतम बुद्ध एउटा ऐतिहासिक व्यक्ति हुन् तर उनका पिताको राजधानी कहाँ थियो वा उनको जन्म कहाँ भएको थियो ? त्यसबारे कैयौँ विवाद पाइन्छन् ।

कुनै महत्त्वपूर्ण व्यक्ति आफ्नो इलाकामा जन्मेको भनेर दावी गर्ने प्रवृत्ति धेरैतिर पाइन्छन् । त्यही कुरा गौतम बुद्धबारे पनि सत्य हुन सक्दछ । भारतका कैयौँ स्थानलाई तिलौराकोट वा लुम्बिनी भनेर दाबी गर्ने पनि गरिएको छ । एउटा शोधकर्ताले उडिसाको भूवनेश्वरमा नै तिलौराकोट र लुम्बिनी भएको भनेर पिएचडीको एउटा शोधपत्र पनि लेखेका छन् तैपनि ऐतिहासिक, पुरातात्त्विक अध्ययन वा अनुसन्धानद्वारा त्यसबारे सही निष्कर्ष निकाल्न सकिन्छ । त्यस प्रकारको अध्ययन र अनुसन्धानका आधारमा तिलौराकोट उनको पिताको राजधानी भएको र लुम्बिनीमा उनको जन्म भएको कुरा प्रमाणित भइसकेको छ तर रामको जन्मभूमि अयोध्या भएको कुराको कुनै ऐतिहासिक वा पुरातात्त्विक प्रमाण पाइन्न । उनको कालमा कुनै गाउँ वा सहर नै बनेका थिएनन् भने उनको जन्म वा अस्तित्वसित सम्बन्धित कुनै ऐतिहासिक वा पुरातात्त्विक प्रकारको अध्ययन वा अनुसन्धान हुन सक्ने कुरा नै भएन । रामसम्बन्धी कतिपय मूर्ति वा स्मारक पाइए पनि ती २०–२५ लाख वर्षपहिलेका होइनन् ती धेरै पछिका हुन सक्दछन् ।

राम एउटा काल्पनिक पात्र हुन् तर त्यसको अर्थ उनी सम्पूर्ण रूपले काल्पनिक पात्र हुन् भन्ने होइन । कुनै पनि साहित्यका काल्पनिक पात्रमा यथार्थताको पनि ठुलो अंश रहेको हुन्छ । कुनै पनि साहित्यमा कुनै खास बेलाको समाजको असर परेको हुन्छ । निश्चय नै त्यो कुरालाई हामीले यान्त्रिक रूपले लिनु हुँदैन ।

समाजमा कैयौँ प्रकारका विचार वा अन्तर्विरोध हुन्छन् । लेखकका पनि बेग्लाबेग्लै प्रकारका विचार वा मान्यता हुन्छन् । बेग्लाबेग्लै देश, काल वा लेखकका बेग्लाबेग्लै विचारको असर साहित्यिक कृतिमा पनि पर्दछ । त्यही प्रकारले वाल्मीकिले जुन कालमा रामायण लेखे वा उनका जुन प्रकारका विश्वास वा मान्यता थिए, ती सबैको असर उनको कृति वा उनका पात्रमा पनि परेको छ । कुनै पनि साहित्यकारले रचना गरेका पात्र स्वतन्त्र हुँदैनन् । उनीहरूका गतिविधि लेखकका इच्छा वा विचारअनुसार नै सञ्चालित हुन्छन् । त्यस अर्थमा नै कुनै साहित्यिक रचना, त्यसका पात्र वा उनीहरूका गतिविधिमा यथार्थता हुन्छ भनिएको हो । त्यही कुरा रामायण तथा त्यसका पात्रहरू राम, सीता वा रावणबारे समेत सत्य हो ।

वाल्मीकि रामायणमा रामलाई पुरुषोत्तम रामको रूपमा चित्रण गरिएको छ । उनलाई त्यस रूपमा चित्रण गर्नुको अर्थ त्यो बेलाका हिन्दु आदर्शको रूपमा नै उनलाई चित्रण गर्नु हो । कुनै व्यक्तिलाई आदर्श व्यक्तिको रूपमा चित्रण त्यो बेलाको आदर्श मान्यताको आधारमा नै गरिन्छ । त्यो बेलाका हिन्दु धर्मका श्रेष्ठ गुणका आधारमा नै उनलाई पुरुषोत्तम भनिएको हो ।

बेग्लाबेग्लै समाज वा धर्मका आदर्श वा मान्यता बेग्लाबेग्लै प्रकारका हुन्छन् । हिन्दु धर्मका मान्यताका आधारमा रामलाई पुरुषोत्तम बताइयो तर बौद्ध धार्मिक मान्यताका आधारमा रावण आदर्श व्यक्ति थिए । कम्युनिस्टका लागि माक्र्स, एङ्गेल्स आदर्श व्यक्ति हुन् तर त्यही कुरा पुँजीपतिका लागि स्वीकार्य हुँदैन । एउटै पात्रलाई पनि बैग्लाबेग्लै राजनीतिक, सामाजिक वा सांस्कृतिक मान्यताअनुसार बेग्लाबेग्लै प्रकारले प्रशंसा वा निन्दा गरिएको हुन सक्दछ । रामायणमा रामलाई पुरुषोत्तम बताइएको भए पनि सबै समाज वा धर्मका लागि उनी आदर्श व्यक्ति हुन सक्दैनन् । हिन्दुका लागि रावण राक्षस थिए तर बौद्धका लागि उनी एउटा बौद्ध भिक्षु र जैनका लागि जैन दिगम्बर थिए ।

राम एउटा काल्पनिक पात्र थिए भन्ने कुरा उनको त्रेतायुगमा जन्म भएको भनेर लेखिएको कुराबाट नै प्रस्ट हुन्छ तर गौतम बुद्ध एउटा ऐतिहासिक र लौकिक व्यक्ति थिए तैपनि उनका विषयमा कैयौँ कल्पना जोडिएका छन् र उनको दैवीकरण पनि गरिएको छ । त्यो दैवीकरणको प्रक्रिया यो हदसम्म अगाडि बढेको छ कि कुनै बेला हिन्दुद्वारा चोर, राक्षस वा यक्ष भनेर निन्दा गरिएको व्यक्तिलाई विष्णुको नवौँ अवतारसम्म बताइएको छ ।

गौतम बुद्धबारे त्यस प्रकारका एकदम विपरीत र काल्पनिक विचार खालि हिन्दुले मात्र प्रकट गरेका छन् भन्ने होइन, प्रथमतः हिन्दुहरूको अवतारवादको दृष्टिकोणको अनुसरण गर्दै गौतम बुद्धभन्दा पहिले कैयौँ बुद्धको अवतार भएको बताइएको छ । उनको जन्मको समयमा ब्रह्माले हात थापेको, उनी जन्मनेबित्तिकै सात पाइला हिँडेको र उनले टेकेका पाइलामा कमलका फूल फुलेका जस्ता कुरा पनि बताइएको छ । गौतम बुद्धले ईश्वर, देवीदेवता आदिलाई मान्दैनथे तर पछि उनका शिष्यले नै उनलाई ईश्वरका रूपमा प्रतिष्ठापित गरे ।

हिन्दु धार्मिक ग्रन्थमा सीताको जन्मबारे बेग्लाबेग्लै कथन प्रचलित छन् । उनका बारेमा सबैभन्दा बढी प्रचलित कथा एउटा यज्ञको सिलसिलामा राजा जनकले भूमिपूजाका लागि जमिन खन्दा सीता फेला परेको भन्ने छ । एउटा रामायणमा रावणकी जेठी पत्नीबाट सीताको जन्म भएको बताइएको छ । त्यसपछि एउटा ज्योतिषीले त्यही छोरीका कारणले उनको मृत्यु हुने भविष्यवाणी गरेपछि रावणले सीतालाई एउटा बाकसमा हालेर समुद्रमा बगाइदिएको बताइएको छ । त्यो बाकस बग्दै बग्दै जनकपुर पुग्यो र त्यहाँ जमिन खन्दा जनक राजाले सीतालाई फेला पारेका थिए । लङ्कामा समुद्रमा फालिएकी सीता बग्दै बग्दै जनकपुरमा पुग्नु अत्यन्त काल्पनिक र भौगोलिक दृष्टिकोणले सम्भव नै नहुने कुरा हो ।

अद्भुत रामायणमा रावणले ऋषिलाई मारेपछि उनीहरूको रगत एउटा घडामा हालेर श्रीलङ्कामा लगेको बताइन्छ । उनले त्यो घडामा विष छ भनेर आफ्नी पत्नी मन्दोदरीलाई राख्न दिएका थिए । एक पल्ट भ्रमणमा गएका रावण लामो समयसम्म नफर्केपछि मन्दोदोरीले आत्महत्या गर्नका लागि त्यो विष पिएकी थिइन् र त्यसबाट उनलाई गर्भ रह्यो । आफ्नो पति घरमा नभएको बेलामा गर्भ रहेको थाहा पाएपछि उनलाई ठुलो पिर प¥यो । त्यसपछि उनले त्यो भ्रूणलाई जमिनमा गाड्न पठाइन् । पछि जनकले जमिन खन्दा त्यही भ्रूणबाट जन्मेकी सीतालाई फेला पारेका थिए । जनक राजाकी कुनै छोरी नभएपछि उनले आकाशतिर फर्केर छोरीको कामना गरेका थिए । त्यसपछि मेनका उनकी छोरी सीता भएर जन्मेकी थिइन् भन्ने पनि एउटा कथन छ ।

यो कुराको माथि नै उल्लेख भइसकेको छ कि भारत र हिन्दचीनसमेत गरेर एक हजारभन्दा बढी रामायण लेखिएका छन् । ती रामायणमा काक भुसुण्डी रामायण, अद्भुत रामायण, अध्यात्म रामायण, आनन्द रामायण, रामचरित्र मानस, हनुमान् पुराण, भानुभक्त रामायण आदि आउँछन् । ती बेग्लाबेग्लै रामायणमा रामसम्बन्धी बेग्लाबेग्लै कथा बताइएका छन् ।

जैन धर्मग्रन्थमा रामलाई जैन अवतार बताइएको छ । त्यसैले उनी अहिंसावादी भएको हुनाले रावणको वध रामले नगरेर लक्ष्मणले गरेको बताइएको छ । बौद्ध ग्रन्थमा सीतालाई रामलक्ष्मणकी बहिनी बताइएको छ । त्यसमा राम, लक्ष्मण र सीता वनवास जाँदा श्रीलङ्का नगएर हिमालयतिर गएको बताइएको छ । त्यसमा राम, रावण युद्ध जस्तो कुनै कुराको पनि उल्लेख छैन । त्यसमा वनवासबाट अयोध्या फर्केपछि रामले सीतासित विवाह गरेको बताइएको छ ।

लाओसको रामायणमा छेपाराले लङ्का जाने पुल बनाइदिएको बताइएको छ । थाइल्यान्डको रामायण (रामकृति) मा रावणको आत्मा उनको गुरुकहाँ रहेको र हनुमान््ले कुशलतापूर्वक त्यो आत्मालाई ल्याएपछि नै रामले रावणलाई मार्न सकेको बताइएको छ ।

श्रीलङ्कामा पनि रामकथा निकै लोकप्रिय छ तर त्यसमा रामको सट्टा रावणलाई नायकका रूपमा देखाइएको छ । मलायाको रामायणमा मुख्य भूमिका लक्ष्मणको भएको बताइएको छ । त्यसमा हनुमान्् ब्रह्मचारी नभएको कुरा पनि बताइएको छ ।

रामले सीतालाई परित्याग गरेको विषयमा पनि बेग्लाबेग्लै कथन प्रचलित छन् । थाइल्यान्डको रामायणमा अयोध्या फर्केपछि सीताले रावणको एउटा चित्र बनाएको हुनाले रामले उनलाई परित्याग गरेको बताइएको छ । पद्मपुराणमा त्यसबारे बेग्लै प्रसङ्गको चर्चा गरिएको छ । त्यसमा लेखिएको छ– आफ्नो बाल्यकालमा सीताले दुईटा भालेपोथी सुगा समातेकी थिइन् । पोथी सुगाको गर्भमा बच्चा थियो । पछि उनले भाले सुगालाई छाडिदिइन् तर पोथी सुगालाई छाडिदिइनन् । पत्नीसितको वियोगको कारणले भाले सुगाले प्राणत्याग गर्यो । आफ्नो प्राणत्याग गर्ने बेलामा त्यो सुगाले सीतालाई यो श्राप दिएको थियो : ‘तिम्लाई पनि गर्भवती भएको बेलामा तिम्रा पतिले त्यागिदिने छन् ।’

रामद्वारा सीतालाई परित्याग गरेको विषयमा सबैभन्दा प्रचलित कथन यो छ– रावणले अपहरण गरेर लगेकी पत्नीलाई फेरि ल्याएर राखेको भनेर जनताले उनीमाथि आक्षेप लगाएका थिए । त्यसैले रामले सीतालाई परित्याग गरेका थिए ।

अद्भुत रामायणमा सीतालाई कालीका रूपमा चर्चा गरिएको छ । त्यसमा रावणको हजार शिर भएको र त्यसले युद्धमा राम, लक्ष्मण, हनुमानसहित सबै वानर सेनालाई मूर्छित बनाइदिएको कुराको उल्लेख गरिएको छ । त्यसपछि सीताले कालीको रूपधारण गरेर रावणसहित त्यसका सबै सेनालाई मारिदिएकी थिइन् र आफ्ना मूर्छित भएका सबै व्यक्तिलाई ब्युँताइदिएकी  थिइन् ।

अद्भुत रामायणको सीतासम्बन्धी त्यो कथा वाल्मीकि रामायणको भन्दा बेग्लै छ तर त्यो अद्भुत रामायण पनि वाल्मीकिले नै लेखेको बताइन्छ । वाल्मीकिले आफूले लेखेको सबै रामायण सीतालाई सुनाएपछि उनी धेरै नै प्रसन्न भइन् तर उनले आफूलाई सामान्य नारीका रूपमा प्रस्तुत गरिएकोमा असन्तोष प्रस्तुत गरेकी थिइन् । त्यसपछि सीतालाई खुशी पार्न वाल्मीकिले अद्भुत रामायण लेखेको बताइन्छ ।

अद्भुत रामायण र सीतासम्बन्धी त्यो प्रसङ्गबाट रामायणको रचना कुनै तथ्यगत आधारमा होइन, लेखकको कल्पनाको आधारमा नै लेख्ने गरिएको देखिन्छ । त्यसैले राम, सीता, लक्ष्मण आदिबारे बेग्लाबेग्लै कल्पना गरेर रामायणको रचना गरिएको बताइन्छ ।

रामायणमा अरू पनि कैयौँ अविश्वसनीय र काल्पनिक प्रसङ्ग जोडिएका छन्† जस्तै कि हनुमानले हत्केलामा द्रोणागिरी पर्वत राखेर ल्याएको रावणका दश वा हजार शिर भएको, वादरको सेना भएको, लङ्कामा जाने ढुङ्गाको पुल बनाएको, रामले अयोध्यामा दश हजार वर्षसम्म शासन गरेको आदि ।

जुन बेला वाल्मीकिले रामायणको रचना गरे, त्यो बेला उनलाई दक्षिण भारत वा श्रीलङ्काको समेत भौगोलिक अवस्थाबारे कुनै ज्ञान नभएको कुरा स्वयम् रामायणका कतिपय कथनबाट प्रस्ट हुन्छ । त्यसैले उनले दक्षिण भारत वा श्रीलङ्काको भौगोलिक स्थितिबारे सही विवरण दिन सकेका छैनन् । रामेश्वरबाट श्रीलङ्कासम्म १०० योजन लामो पुल बनाएको बताइएको छ तर रामेश्वरबाट श्रीलङ्कासम्मको दुरी खालि अठार माइल मात्र छ । रामायणमा वानर सेनाले सालका रुख उखेलेर राक्षसमाथि हमला गरेको बताइएको छ तर श्रीलङ्कामा सालका रुख नै हुन्नन् । त्यसकारण सालका रुख उखेलेर राक्षसमाथि हमला गरिएको भनाइ पनि असत्य र काल्पनिक नै हो ।

रामायणमा अग्निप्रवेशसम्बन्धी पनि कैयौँ प्रसङ्गको उल्लेख गरिएको छ । त्यसमध्ये एउटा प्रसङ्ग रामले सीतालाई लङ्काबाट मुक्त गरेर ल्याएपछिको अग्निप्रवेशको प्रसङ्ग हो । सीताले अग्निमा प्रवेश गरेर आफ्नो चरित्र शुद्ध भएको प्रमाण दिएकी थिइन् ।

सीताको अग्निप्रवेशको सन्दर्भमा कूर्मपुराणमा एउटा अर्को कथन पनि लेखिएको छ । रामले वनवास जाँदा सीतालाई अग्निमा प्रवेश गराएका थिए र उनले आफ्ना साथमा जुन सीता लगेका थिए, ती नक्कली सीता नै थिइन् । लङ्का विजयपछि ती नक्कली सीताले नै अग्निमा प्रवेश गरेकी थिइन् र अग्निबाट पहिलेकी सक्कली सीता नै निस्केकी थिइन् । नक्कली सीताको विवरण वाल्मीकि रामायणमा छैन र पछि कूर्मपुराणमा नै त्यो कथा थपिएको थियो ।

अग्निप्रवेशको सन्दर्भमा एउटा अर्को कथा पनि प्रचलित छ । स्वर्गको राजा इन्द्रकी छोरी लक्ष्मणप्रति धेरै नै आसक्त भएर एउटी युवतीको भेषमा राति लक्ष्मणकहाँ सुत्न गएकी थिइन् तर लक्ष्मण उनीसित सुत्न तयार भएका थिएनन् तैपनि राति एउटी युवती लक्ष्मणकहाँ गएको कुरा थाहा पाएर सीताले त्यो कुरा रामलाई बताइदिएकी थिइन् । आफू्माथि त्यस प्रकारको आक्षेप लागेपछि आफ्नो चरित्र शुद्ध भएको प्रमाणित गर्न लक्ष्मणले अग्निप्रवेश गरेका थिए ।

रामायणको सिलसिलामा यो पनि भन्ने गरिन्छ, मूल रामायणमा उत्तरकाण्ड थिएन । मूल रामायण युद्धकाण्डमा नै समाप्त भएको थियो । त्यसमा पछि उत्तरकाण्ड थपिएको थियो । त्यो भनाइअनुसार रामले सीतालाई परित्याग गरेको तथा शम्बूकवधको कथा पनि मूल रामायणमा नभएको र पछि थपिएको भन्ने गरिन्छ ।

रामायणका सन्दर्भमा यो पनि भन्ने गरिन्छ, प्रारम्भमा त्यसका १०० श्लोक मात्र थिए तर पछि ती श्लोक थप्दै गएर रामायण २४,००० श्लोकको ग्रन्थ बनेको थियो । वास्तवमा विभिन्न कविले नयाँ नयाँ कल्पना गरेर नयाँ नयाँ रामायण लेख्ने तथा रामसम्बन्धी नयाँ नयाँ कथा लेख्दै जाने मात्र गरेका थिएनन्, उनीहरूले वाल्मीकि रामायणमा नै श्लोक थप्दै गएका थिए । समाजमा धार्मिक वा सांस्कृतिक मान्यता बदलिँदै गएपछि त्यसअनुसार नयाँ–नयाँ रामायणहरू लेख्ने वा त्यसमा वृद्धि गर्ने काम पनि हुँदै गएको थियो ।

वाल्मीकि रामायणपछि सबैभन्दा प्रसिद्ध रामायण रामचरितमानस वा तुल्सीकृत रामायण नै हो । वाल्मीकि रामायण संस्कृत भाषामा नै लेखिएको थियो । त्यसैले त्यसलाई पढ्नु जनसाधारणका लागि सजिलो थिएन तर तुलसीदासको रामायण साधारण हिन्दी भाषामा लेखिएको हुनाले जनसाधारणका लागि त्यसलाई पढ्न धेरै सजिलो भयो । जनसाधारणमा त्यो धेरै लोकप्रिय पनि भयो । त्यो बेला एकातिर हिन्दु धर्म र अर्कातिर इस्लाम धर्मको प्रचारका कारणले हिन्दु धर्मको प्रभाव कम हुँदै गएको थियो वा हिन्दु धर्मका विरुद्ध कैयौँ विचार पनि देखा पर्न थालेका थिए । महिला र दलितमा पनि उनीमाथि गरिने सामाजिक बन्देजका विरुद्ध आवाज उठ्न थालेका थिए । त्यसैले हिन्दु धर्मप्रति जनताको आस्था बढाउन तथा महिला वा दलितमा उठ्न थालेको विरोधको स्वरमाथि नियन्त्रण गर्न पनि तुल्सीकृत रामायणको रचना गरिएको थियो । त्यो रामायणका तलका भनाइबाट त्यो कुरा प्रस्ट हुन्छ ।

नारी वा महिलाप्रति राममानस रामायणको दृष्टिकोण कुन प्रकारको छ ? त्यो कुरा त्यसमा लेखिएको एउटा श्लोकको यो भनाइबाट प्रस्ट हुन्छ– “ढोल गँवार शूद्र पशुनारी, यह सब ताडना के अधिकारी” । त्यसमा नारीका सन्दर्भमा यो पनि भनिएको छ– ‘उनीहरू मूर्ख र ज्ञानहीन हुन्छन् र उनीहरूको युद्ध ओठमा हुन्छ; उनीहरूको चरित्र जानिसक्नु हुन्छ† उनीहरूको स्वरूप सबै प्रकारका कपट, पाप र अवगुणको खानी हुन्छ† उनीहरूले वृद्ध, रोगी, मूर्ख, गरिब, अन्धा, बहिरा, झोकी, अत्यन्त हीन पतिको पनि अपमान गर्नहुन्न† स्त्रीको एउटा मात्र धर्म शरीर, मन र वचनले पतिको सेवा गर्नु हो, आदि ।

त्यो रामायणमा एउटा श्लोकमा दलितलाई सम्बोधन गर्दै लेखिएको छ– ‘हामी पनि ब्राह्मणभन्दा कहाँ कम छौँ ? भन्दै ब्राह्मणलाई आँखा देखाउन थालेका छन् ।’ त्यो भनाइले त्यो बेला दलितमा बढ्दै गएको असन्तोष र विरोधलाई बताउँछ । त्यसैले दलितमाथि पनि कडा प्रहार गर्न थालेको हुन सक्दछ ।

यो कुराको अनुमान गर्न सकिन्छ कि त्यो बेलाको त्यस प्रकारको सामाजिक र सांस्कृतिक वातावरणमा नै वाल्मीकि रामायणमा पनि उत्तरकाण्ड थपिएको थियो र तपस्या गर्न थालेको आरोपमा रामले एउटा दलित शम्बूकको हत्या गरेका थिए र गर्भवती सीतालाई पनि परित्याग गरेका थिए ।

संसारका धेरै देशमा रामायणको त्यति धेरै प्रसार हुनुको कारण के थियो ? त्यो बेला धेरैजसो देशमा राजतन्त्र थियो र त्यसप्रति जनतामा असन्तोष बढ्दै गइरहेको थियो । त्यसैले रामायणद्वारा आदर्श र जनप्रिय राजाको चित्रण गर्दा जनताको राजतन्त्रप्रतिको आस्था बढाउन सकिन्थ्यो । त्यसैले धेरै देशका राजामा उनीहरूको सत्ताप्रति जनताको विश्वास प्राप्त गर्न रामायण एउटा साधन बन्न सक्दथ्यो । त्यसैले धेरै देशका शासकले रामायणलाई आफ्नो देशमा प्रचारप्रसार गर्ने गरेका थिए । सोही पृष्ठभूमिमा नै नेपालका राणाशासकहरूले पनि भानुभक्तको रामायणलाई प्रोत्साहित गर्ने नीति अपनाएका थिए र त्यसद्वारा जनतामा शासक वर्गप्रति आदर सम्मानको भाव उत्पन्न गर्न चाहन्थे । अन्तमा, रामायणको मुख्य विषयवस्तु भनेको राजाप्रति जनताको विश्वास जोगाउनु नै थियो ।

समाजमा कैयौँ किंवदन्ती, लोककथा प्रचलित हुन्छन् । त्यस प्रकारका किंवदन्ती, लोककथा वा कतिपय ऐतिहासिक घटनाका आधारमा दशरथ जातक कथा रामायण वा महाभारत बनाएर वाल्मीकिले रामायण वा व्यासले महाभारतको रचना गरेको हुन सक्दछ । रामायणको कथासार यत्ति मात्र हो : एउटा राजाले आफ्नी जेठी पत्नीका जेठा छोरालाई गद्दी दिन खोजेका थिए तर राजाकी एउटी सौतेनी पत्नीले आफ्ना छोरालाई राजा बनाउन र जेठा छोरालाई वनमा पठाउन खोजिन् र राजाले त्यसै गरे । वनमा गएको बेलामा लङ्काका राजा रावणले सीतालाई अपहरण गरे । पछि रामले युद्ध गरेर आफ्नी पत्नीलाई फर्काएर ल्याए र अयोध्याका राजा बने । त्यही कथामा कैयौँ कल्पना जोडेर वाल्मीकिले रामायण लेखे । रामायणका पात्रलाई विभिन्न देवताको अवतारका रूपमा पनि वर्णन गरिएको छ र रामले दश हजार वर्षसम्म अयोध्याको राजा भएर राज्य गरेको बताइएको छ । युनान वा अन्य कैयौँ देशमा पनि त्यही प्रकारले महाकाव्यको रचना गर्ने गरिएको छ । त्यसो गर्दा कुनै किंवदन्ती, लोककथा वा कुनै ऐतिहासिक कथनलाई आधार बनाएर महाकाव्यको रचना गर्ने कार्य गरिएको छ ।

नोट : कामरेड पुष्पलाल श्रेष्ठको सताब्दी जन्मजयन्तीको अवरमा २०८० चैत ९ गते दर्शनसम्बन्धी पुस्तकको विचारगोष्ठीमा प्रस्तुत ।

स्पष्टीकरण

का. गोपीरमण उपाध्याद्वारा लिखित दर्शन विचार पुस्तक परिचर्चा कार्यक्रममा आयोजित यो विचारगोष्ठीको ठुलो महत्त्व छ । दर्शनबारे हाम्रो देशमा यस प्रकारका कार्यक्रम कम नै आयोजित हुने गरेका छन् । त्यो विचारगोष्ठीले विशेष महत्त्व राख्दछ ।

संसारका सबै देशमा प्राचीनकालदेखि नै दर्शनलाई ज्ञानविज्ञान वा कलाको मुख्य केन्द्रको रूपमा स्वीकार गरिएको छ । दर्शनले ज्ञानविज्ञानका सवै क्षेत्रलाई निर्देशित मात्रै गर्दैन, मानव जीवन र समाजको सम्पूर्ण चिन्तन प्रणालीलाई पनि निर्धारित गर्ने गरेको हुन्छ । दर्शनको त्यति धेरै महत्त्व भए पनि हाम्रो देशमा त्यसको अध्ययनबारे कम ध्यान दिने गरिएको छ । त्यस प्रकारको पृष्ठभूमिमा दर्शनसम्बन्धी यो विचारगोष्ठीको आयोजना गरेकोमा मैले का. गोपिरमण र आयोजकलाई विशेष धन्यवाद दिन चाहन्छु ।

का. गोपीरमणले प्रस्तुत गरेको कार्यपत्र मुख्य रूपले भौतिकवादी दृष्टिकोणद्वारा प्रेरित छ । भौतिकवादले दर्शनलाई हवाई वा काल्पनिक क्षेत्रबाट उतारेर वास्तविक जगत्मा स्थापित गर्दछ ।

दर्शनको क्षेत्रमा भौतिकवादी दृष्टिकोण प्राचीनकालदेखि नै देखा पर्दै आएको छ । त्यही पनि आधुनिक युगमा भौतिकवादलाई ठोस र वैज्ञानिक रूप दिने काम माक्र्सवादले नै गरेको छ । खास गरेर भौतिकवादलाई द्वन्द्वात्मक भौतिकवादको रूपमा परिमार्जित गरेपछि भौतिकवाद ठोस वैज्ञानिक धरातलमा स्थापित हुन गएको छ । गोपिरमणजीले भौतिकवादी दर्शनलाई त्यही द्वन्द्वात्मक र वैज्ञानिक अर्थमा लिनुभएको छ ।

उहाँले आफ्नो कार्यपत्रमा अवतारसम्बन्धी विषय पनि उठाउनुभएको छ । हिन्दु धर्ममा विष्णुका दशओटा अवतारको चर्चा गरिएको छ, तिनीहरूमध्ये रामको स्थान सर्वपरी छ । मैले उहाँको कार्यपत्रमा आफ्ना विचार राख्ने क्रममा मुख्य रूपले रामको अवतार र रामायणबारे प्रकाश हाल्ने प्रयन्त गरेको छु । उहाँको कार्यपत्रमा विभिन्न वक्ता, टिप्पणीकारले विद्धतापूर्ण विचार प्रकट गर्नुभएको छ । त्यसबाट कार्यपत्रमा उठाइएका दर्शनसम्बन्धी विषयमा गहन चिन्तन र छलफल हुन सकेको छ । त्यस सन्दर्भमा कतिपय टिप्पणीकारले राम र रामायणसम्बन्धी मेरा विचारबारे पनि टिप्पणी गर्नुभएको छ । त्यसैले मैले त्यसबारे नै केही स्पष्टीकरण दिन चाहन्छु ।

उक्त विषयमा सर्वप्रथम एउटा वाक्यमा आफ्नो विचार यसरी राख्न चाहन्छु । रामायण सत्य हो, तर त्यसमा उल्लेखित रामको कथा काल्पनिक हो । रामायणलाई भारतको मात्र होइन, संसारको नै एउटा महान् महाकाव्यको रूपमा लिन सकिन्छ ।

संसारका अन्य महाकाव्यभन्दा त्यसको महत्त्व यो कुरामा पनि छ कि भारत र दक्षिणपूर्वी एसियासमेतका कैयन् देशमा गरेर करिब एक हजार रामायण लेखिएका छन् । संसारका अन्य महाकाव्यको पनि विभिन्न देशमा अनुवाद वा प्रचार हुने गरेको छ । तिनीहरूको भन्दा रामायणको महत्त्व यस अर्थमा बेग्लै छ कि विभिन्न देशमा लेखेका रामायणहरू खालि वाल्मीकिकृत रामायणका अनुवाद मात्र नभएर तिनीहरूलाई बेग्ला बेग्लै प्रकारले लेख्ने पनि गरिएको छ । त्यसरी तिनीहरूमा मूल वाल्मीकि रामायणमाभन्दा बेग्लै कथा र प्रसङ्ग पनि रहेका छन् । रामायणको त्यस प्रकारको अन्तर्राष्ट्रिय महत्त्वमाथि ध्यान दिँदै मैले आफ्नो लेखमा अन्तर्राष्ट्रिय रामायण सङ्ग्रहालयको स्थापना गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छु । त्यसो भएमा रामायणसित सम्बन्धित साम्रगीलाई एकै ठाउँमा सङ्ग्रह गरी अवलोकन तथा अध्ययन–अनुसन्धानको कार्यलाई पनि बृहत् रूपले अगाडि बढाउन सकिन्थ्यो । निश्चिय नै त्यस प्रकारको कार्य सम्पन्न गर्न खालि भारतमा नै सम्भव हुन सक्दछ । भारतमा कहिले र कुन बेला कुन सरकारले त्यो कार्य सम्पन्न गर्ने छ र त्यसका लागि हामीले कति समयसम्म पर्खनुपर्ने छ ? त्यो भविष्यले नै बताउन सक्ने कुरा हो । जे भए पनि त्यो कार्य सम्पन्न भएमा त्यो एउटा महान् अन्तर्राष्ट्रिय महत्त्वको सांस्कृतिक कार्य हुने छ ।

रामलाई विष्णुको अवतार मानिएको छ । भगवान्को अस्तित्व छ कि छैन । त्यो संसारको नै एउटा ठुलो विवादको विषय हो । जहाँसम्म माक्र्सवादको प्रश्न छ, त्यसले ईश्वरमा कुनै दैवी शक्तिको अस्तित्वलाई दृढतापूर्वक अस्वीकार गर्दछ । त्यही प्रकारले विष्णु, शिव, वर्मा, इन्द्र आदिको अस्तित्वलाई पनि हामीले अस्वीकार गर्दछौैँ । त्यो अवस्थामा विष्णुको कुनै अवतारको अवधारणा पनि एउटा काल्पनिक विषय नै हो । त्यसरी विष्णुको सातौँ अवतारको रूपमा रामको कल्पना पनि एउटा काल्पनिक विषय नै हुन जान्छ । त्योबाहेक समय र कालक्रमका दृष्टिकोणले विचार गर्दा पनि रामसम्बन्धी धारणा आधारभूत रूपमा नै असत्य र काल्पनिक भएको कुरामा कुनै शङ्का रहदैन ।

हिन्दु धार्मिक मान्यताअनुसार रामको अवतार त्रेतायुगको अन्तिम चरणमा भएको मानिएको छ । त्यसको अर्थ हुन्छ– आजभन्दा करिब ९÷१० लाख वर्षपहिला रामको अवतार भएको थियो । त्यो काल ढुङ्गेयुगमध्य पनि पुरानो ढुङ्गेयुगीन काल थियो । त्यो बेला पशुपालन वा कृषियुगको समेत प्रारम्भ भएको थिएन, न भाषा लिपिको विकास भएको थियो, न गाउ र सहर नै बनेका थिए । त्यसरी त्यो बेला लङ्का, जनकपुर आदि जस्ता सहरको विकास नभएको कुरा प्रष्ट छ । त्यो अवस्थामा रामको अवधारणा वा त्यो बेला नै रामायणको रचना भएको कुरामा कुनै सत्यता नभएको कुरा प्रष्ट छ ।

यो कुरा आम रूपमा मानिन्छ कि रामायणको रचना वाल्मीकिले गरेका थिए तर त्यसको रचनाकाल कुन थियो ? त्यसबारे धेरै नै विवाद छ । ऐतिहासिक तथ्यबाट थाहा हुन्छ कि रामायणको रचना बौद्धकालभन्दा पछि नै भएको थियो तर बेग्लाबेग्लै प्रकारको सामाजिक स्थिति वा सांस्कृतिक धरातलअनुसार रामायणको स्वरूपमा परिवर्तन हुँदै आएको छ । बौद्ध रामायणमा राम, सीता वा रामायणको जसरी चित्रण गरिएको छ, त्योभन्दा वाल्मीकिको रामायणमा उनीहरूको बेग्लै प्रकारले चित्रण गरिएको छ । दक्षिण भारत, लङ्का दक्षिण एसियाका विभिन्न देशमा पनि त्यहाँको स्थितिअनुसार रामायणको कथा वा त्यसका बेग्लाबेग्लै पात्रको बेग्लाबेग्लै प्रकारले चित्रण गरिएको छ ।

वाल्मीकि रामायणमा वाल्मीकिले रामलाई मर्यादा पुरुषोत्तमको रूपमा चित्रण गरेका छन् तर उनले रामलाई त्यो बेलाको हिन्दु सांस्कृतिक मूल्य र मान्यताको धरातलमा नै पुरुषोत्तमका रूपमा प्रस्तुत गर्ने प्रयत्न गरेका थिए । बौद्ध ग्रन्थमा रामलाई बौद्ध भिक्षुको रूपमा चित्रण गरिएको छ । तिनीहरूमा रामले सीताको अपहरण नगरेको वा रामले रामायणको हत्या नगरेको तथा रावण बौद्ध भिक्षु भएकोसमेतको चर्चा गरिएको छ ।

रामायण एउटा श्रेष्ठ प्रकारको साहित्यिक कृति भए पनि अन्ततः एउटा काल्पनिक रचना नै हो । कुनै पनि साहित्यिक कृतिमा लेखकलाई विभिन्न प्रकारको कल्पना गर्ने स्वतन्त्रता हुन्छ । विभिन्न लेखकको दृष्टिकोण वा मान्यताअनुसार उनीहरूले आफ्ना कृतिमा विभिन्न प्रकारका कल्पना गरेका हुन्छन् । त्यही प्रकारले त्यो बेलाका धार्मिक मान्यताअनुसार वाल्मीकिले पनि रामायणमा कैयन दैवी वा अलौकिक प्रकारका कल्पना समावेश गरेका छन् । हामीले अन्य देशका प्राचीन, मध्ययुगीन वा आधुनिक कालका विभिन्न साहित्यिक रचनामा पनि त्यस प्रकारका कल्पना गरेको पाउँछौँ । रामायण वा महाभारतहरू पनि त्यो नियमबाट अपवाद छैनन् तर धार्मिक अन्धविश्वासका कारणले मानिसले त्यस प्रकारका कल्पनालाई सत्य पनि मान्ने गर्दछन् । त्यही कुरा रामायण र रामको कथाबारे पनि सत्य हो । त्यो बाहेक सबै मानिसमा वस्तुगत सत्यताभन्दा धेरै माथि उठेर कल्पना गर्ने अद्भुत शक्ति हुन्छ । दैनिक जीवनमा पनि त्यस प्रकारका थुपै्र उदाहरण पाइन्छन् । त्यही कुरा रामायणमा पनि प्रकट हुन गएको छ । संसारका अन्य कतिपय महान् महाकाव्यमा भन्दा बेग्लै रामायणमा एक प्रकारको गतिशीलता वा प्रभाव पाइन्छ ।

त्यो गतिशीलता वा प्रभाव यो अर्थमा कि विभिन्न देश वा कालमा त्यसको कथा मात्र होइन्, रूपमा पनि विकास हुँदै आएको छ र एउटै कथावस्तुको आधारमा सयकडौँ प्रकारले रामायण लेख्ने गरिएको छ । यहा“सम्म कि रामायणका कतिपय बेग्लाबेग्लै कथालाई स्वयम् वाल्मीकिकृत भनेर बताउने गरिएको छ† जस्तै क अद्भुत रामायण । त्यसको कथावस्तु वाल्मीकिकृत रामायणको भन्दा बिल्कुल बेग्लै छ । त्यसमा शाक्तमतको बढी प्रभाव परेको पाइन्छ । त्यसलाई पनि वाल्मीकिले नै लेखेको बताउने गरिन्छ । हिन्दु धर्ममा त्यो कुनै नया“ कुरा होइन् । कैयन् धार्मिक कृतिलाई आफ्नो रचनाको महत्त्व बढाउनका लागि शिवउवाच, नारदउवाच, गणेशउवाच आदि भनेर लेख्ने गरेको पाइन्छ । त्यही प्रकारले वाल्मीकिको नाममा पनि कैयन् बेग्लाबेग्लै रामायण लेखिएका छन् ।

रामायणको उत्तरकाण्डलाई पनि बाल्मिकिले लेखेको भन्ने गरिन्छ तर स्वयम् हिन्दु धर्मावलम्बीमा पनि त्यसबारे ठुलो विवाद रहेको छ । कैयन् हिन्दु धर्मालम्बीले पनि यो दाबी गर्ने गरेका छन् कि मूल वाल्मीकिकृत रामायणमा उत्तरकाण्ड थिएन र त्यसमा उल्लेखित रामद्वारा सीताको परित्याग वा सम्बूकबधका प्रसङ्ग पनि वाल्मीकिकृत रामायणमा थिएनन् (हालका दिनमा भारतमा बहुप्रचारित कुमार विश्वासले पनि उत्तरकाण्ड मूल रामायणमा नभएको कुरा जोडदार प्रकारले उठाउने गरेका छन्) ।

कुनै महाकाव्य वा साहित्यिक कृतिमा जुन पात्रको सिर्जना गरिएको हुन्छ, तिनको बेग्लै स्वतन्त्र अस्तित्व हुँदैन र उनीहरू कुनै लेखक वा साहित्यकारका रचना नै हुन्छन् र उनीहरूका इच्छाअनुसार ती पात्रका क्रियाकलाप निर्धारित हुन्छन् । त्यही कुरा रामायणका पात्रहरू राम, सीता, लक्ष्मण र रावण आदिबारे पनि सत्य हो । त्यसरी वाल्मीकिको रामायणमा रामले रावणको हत्या गर्दछन् भने बुद्धको रामायणमा राम बौद्ध भिक्षु हुन्छन् र कसैको हत्या गर्दैनन् । अन्य विभिन्न रामायणमा पनि त्यसका विभिन्न पात्रको क्रियाकलापमा कैयन प्रकारका भिन्नता पाइन्छन् ।

अन्त्यमा जे भए पनि रामायण एउटा महान् साहित्यिक कृति हो र संसारका कैयन् देशमा त्यसको प्रचार भएको छ । त्यससम्बन्धी विभिन्न प्रकारका सांस्कृतिक मेला पनि विभिन्न देशमा प्रचलित छन् । रामायणबारे संसारका धेरै विश्वविद्यालयमा अनुसन्धान भएका छन् र ठुलो सङ्ख्यामा शोधपत्र पनि लेखिएका छन् । रामायणको त्यस प्रकारको अन्तराष्ट्रिय महत्त्वमाथि ध्यान दिँदै एउटा सुविधासम्पन्न अन्तर्राष्ट्रिय रामायण सङ्ग्रहालयको स्थापना ऐतिहासिक महŒवको सांस्कृतिक आवश्यकता हो । कहाँ र कहिले त्यो कार्य सम्पन्न हुने छ । त्यसका लागि हामीले भविष्यलाई पर्खेर बस्नुपर्ने छ ।

२०८० चैत ९ गते

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार