फुटपरस्त कामरेडहरुको मसालमा पुनः फुटका लागि अपिल

#बासुदेव पोख्रेल

कामरेड सन्त बहादुर जीको हाँक टुडेमा २०८० चैत्र २१ मा प्रकाशित “सन्दर्भ : मसालको नवौं महाधिवेशन” शिर्षकको लेखको अन्तमा लेखिएको छ : “नवौं महाधिवेशनको सफलताको अग्रिम शुभकामना ।” तर त्यो शुभकामना कति कपोटपुर्ण छ ? त्यो लेखमा लेखिएको कुराबाट प्रष्ट हुन्छ ।

त्यो लेखमा मुख्य रुपले नेकपा (मसाल)को नवौं महाधिवेशनमा त्यो पार्टीमा फूटका लागि आव्हान गरिएको छ । त्यस सिलसिलामा त्यो लेखमा लेखिएको छ : “हामी यो पनि आशा गर्दछौं कि, मसालका क्रान्तिकारी कार्यकर्ताहरूले पार्टीलाई क्रान्तिकारी दिशामा फर्काउने प्रयत्न गर्नेछन् । यदि त्यो सम्भव भयो भने हामी पुनः एउटा विशाल पार्टी निर्माण गर्न पनि सफल हुनेछौं ।” मसालको आठौं महाधिवेशनले पारित गरेको लाइनलाई दक्षिणपन्थी बताएर वहाँहरूले पार्टीलाई फुटाउनु भएको थियो । अहिले वहाँहरूले मसालका कार्यकर्ताहरूलाई यो आव्हान गर्नुभएको छ कि, उनीहरूले पार्टीको अहिलेको नीतिलाई फर्काएर पुनः वहाँहरूको लाइन अनुसार नीति अपनाउनु पर्छ र वहाँहरूसित पार्टी एकता गरेर विशाल पार्टी बनाउनु पर्छ ।

वहाँहरूले नेकपा (मसाल)को आठौं महाधिवेशनको पालामा पार्टीले अपनाएको शान्तिपुर्ण आन्दोलन र चुनावको उपयोगको नीतिलाई दक्षिणपन्थी बताउनु भएको थियो । पूर्व माले र माओवादीले पनि पूर्व चौम र मसालको नीतिलाई दक्षिणपन्थी बताएका थिए । तर, मसालबाट फुटेर गएपछि उनीहरूले ‘उग्रवामपन्थी’ प्रकारको भए पनि सशस्त्र संघर्ष शुरु गरेका थिए र चुनावको समेत बहिष्कार गरेका थिए । त्यसरी उनीहरूले जे भनेका थिए, त्यसमा इमान्दारिता थियो । तर, मसालका नयाँ फूटपरस्त साथीहरूले सशस्त्र संघर्ष र चुनावको बहिष्कारको कुरा गरेर चितवनको आफ्नो भेलामा शान्तिपुर्ण आन्दोलनको नीति अपनाउने र चुनावको उपयोग गर्ने नीति अपनाउनु भएको थियो । त्यस पछि वहाँहरूले स्थानीय चुनावमा एउटा वडामा पनि विजय प्राप्त गर्न सक्नु भएन । त्यसरी आफ्नो त्यसप्रकारको पराजय पछि वहाँहरूले चुनावको बहिष्कार गरेर आफूलाई क्रान्तिकारी देखाउने प्रयत्न गरि रहनुभएको छ । त्यसरी वहाँहरूको क्रान्तिकारीताको नीति ‘वामपन्थी लफ्फाजी’ मात्र भएको कुरा छर्लंग छ ।

वहाँहरूले आफ्नो नीति क्रान्तिकारी भएको दावी गरि रहनुभएको छ । तर अहिलेसम्म वहाँहरूको सम्पर्ण क्रान्तिकारीता मसालको विरोध गर्ने, त्यसलाई सकेसम्म फुटाउने र त्यसलाई ध्वस्त पार्न पूरै शक्ति लगाउनेसम्म मात्र सिमित छ । त्यो बाहेक वहाँहरूले यो बीचमा गरेको राजनीतिक महत्वको कुनै एउटा मात्र उदाहरण दिन सक्नुहुन्छ ? त्यो अवस्थामा वहाँहरूले आफूलाई नेकपा (मसाल) को मित्र शक्ति बताउनु पनि हास्यस्पद कुरा हो । मसाललाई फुटाउन र त्यसलाई ध्वस्त गर्न रात दिन दौडधुप गर्ने कार्य वहाँहरूको मसालप्रतिको शत्रुतापूर्ण नीति रहेको कुरामा कुनै शंका रहन्न ।

वहाँहरूले आफ्नो समुहलाई ‘नेकपा (मशाल)’ नै भएको दावी गर्नुहुन्छ । तर, यो सबैलाई थाहा भएको कुरा हो कि मसालबाट फुटेर जाने पहिलेका सबै समुहहरूले आफूलाई नै सच्चा मसाल भएको दावी गर्ने प्रयत्न गरेका थिए । तर, अब तीनीहरू मध्य कसैको पनि अस्तित्व छैन । अहिलेका हाम्रा फुटपरस्त साथीहरूले पनि कहिलेसम्म त्यस प्रकारको नौटंकी गरिरहनु हुन्छ आउने दिनहरूमा प्रष्ट हुँदै जानेछ । वहाँहरूले तत्कालिक नेकपा (क्रान्तिकारी माओवादी) तथा नेकपा (बहुमत) सित पार्टी एकता गर्ने कोशिस गर्नुभएको थियो । तर वहाँहरूको त्यो प्रयत्न सफल हुन सकिरहेको छैन । अहिले पनि वहाँहरूले त्यसप्रकारको प्रयत्न जारि राख्नु भएको छ । वहाँहरूले यो कुरा राम्ररी बुझिसक्नु भएको छ कि, एक्लै रहेर आफुहरूको अस्तित्व कायम रहन सक्दैन । त्यसैले कतै न कतै एकता गर्ने वा आफूहरूलाई विलय गर्ने वहाँहरूको प्रयत्न अहिले पनि भइरहेको छ ।

वहाँले नेकपा (मसाल)ले वहाँहरूलाई मान्यता नदिएको भनेर लेख्नुभएको छ । तर, नेकपा (मसाल) बाट फुटेपछि वहाँहरूको वेग्लै अस्तित्व नै कायम हुन सकेको छैन । कुनै पनि पार्टीबाट फुटेर वा नयाँ संगठन बनाएर कसैले पार्टी बनाउने प्रयत्न गर्ने वित्तीकै स्वत : त्यसको अस्तित्व कायम हुन सक्दैन । कैयौं वर्षको लामो प्रक्रियामा गए पछि नै त्यसमा स्थायीत्व वा स्थिरता आउँछ । नेकपा (मसाल) बाट मात्र होइन, अन्य पार्टीहरूबाट फुटेका वा नयाँ बनेका संगठनहरू बारे पनि यहि कुरा सत्य हो । त्यसैले अहिले क. सन्त बहादुरहरूले बनाएको समुहमा स्थीरता आउने छ वा छैन, कतै विलय हुनेछ वा हराएर जाने छ ? त्यो कुरा स्पष्ट भए पछि नै त्यसलाई मान्यता दिने वा नदिने कुरा बारे विचार हुनसक्ने छ ।

नेकपा (मसाल) बाट फुटेर गएको वहाँहरूको समुहको नीति शुरुदेखि नै प्रतिगामी- दिशा उन्मुख रहेको छ भनेर मसालले पटक-पटक स्पष्ट गर्दै आएको छ । अहिले सन्त बहादुर जीले प्रकाशित गरेको लेखबाट पनि त्यो कुरा प्रष्ट हुन्छ ।

वहाँले आफ्नो लेखमा विद्यमान गणतन्त्रलाई प्रतिक्रियावादी नै बताउनु भएको छ र त्यसलाई समाप्त गर्ने कुरामा जोड दिनुभएको छ । त्यसरी वहाँहरूको त्यो नीति गणतन्त्र विरोधी राजावादीहरूको अभियानसित नै मिल्दछ । वहाँले प्रतिगमनको खतरा वा त्यसका विरुद्धको संघर्षको आवश्यकतालाई सिधै विरोध गर्नुभएको छ । यसरी वहाँहरूले क्रान्तिकारी नीतिको चर्को कुरा गरेपनि वहाँको त्यो नीतिले व्यवहारमा राजावादीहरूको नै सेवा गर्दछ । एकातिर क्रान्तिकारीताको चर्को कुरा र अर्कातिर राजावादीहरूको प्रतिगामी नीतिको सेवा- यो नै वहाँहरूको राजनीतिको निचोड हो । मसालले एकातिर प्रतिगमनका विरुद्ध संघर्ष र प्रतिगामी खतराबाट गणतन्त्रलाई रक्षा गर्ने कुरामा जोड दिएको हुनाले नै वहाँहरूको दृष्टिकोणमा मसालको नीति ‘दक्षिणपन्थी’ बन्न गएको छ । वहाँहरूले त्यो पार्टीको नवौं महाधिवेशनका लागि यो शुभकामना दिनुभएको छ कि : मसालका कार्यकर्ताहरूले वहाँहरूको प्रतिगमन दिशाउन्मुख राजनीतिक लाइनलाई अपनाउन् र मसालमा फुटपारेर वहाँहरूसित मिलेर ‘विशाल पार्टी’ को निर्माण गरुन् ।

वहाँहरूले मसाल वहाँहरूसित एकता गर्न तयार नभएको भनेर आलोचना गर्दै आउनु भएको छ । वहाँहरू फुटेर गएपछि एक पटक मसाल र वहाँहरूका बीचमा पार्टी एकताको प्रक्रिया पनि शुरुभएको र त्यसका लागि एउटा कार्यदल पनि बनेको कुरा थाहा भएको थियो । तर, त्यसका लागि वहाँहरूले यो सर्त राख्नुभएको थियो- ‘पार्टीको आठौं महाधिवेशन र त्यसले गरेका सबै निणर्यहरू खारेज हुनुपर्दछ; आठौं महाधिवेशनले चुनेको केन्द्रीय समिति सहित त्यसका तल्ला स्तरका सबै समितिहरू भंग हुनुपर्दछ; मसाल र वहाँहरू समेतको एउटा कार्यदल बनाएर आठौं महाधिवेशन पुनः सम्पन्न गरिनु पर्दछ आदि ;।’ वहाँहरूका त्यसप्रकारका सर्तहरूका कारणले त्यो एकता वार्ता भंग भएको कुरा थाहा हुन आएको थियो । अहिले पनि मसालले भनेको छ कि, पार्टीबाट फुटेर गएका सबै सदस्यहरूलाई त्यसले स्वागत गर्नेछ । तर, त्यसका लागि वहाँहरूले आठौं महाधिवेशले पारित गरेको विधान र अनुशासन अन्तर्गत नै बस्ने गरेर आउनु पर्दछ । तर वहाँहरूले आफ्ना पहिलेका जस्ता सर्तहरू दोहोर्‍याउनु भयो भने त्यो एकताको नीति नभएर फुटको नीति हुनेछ र अहिले सन्त बहादुर जीहरूले त्यही प्रकारको फुटको नीति अपनाएको देखिन्छ । अहिले सन्त बहादुर जीले लेखेको लेखबाट पनि त्यही कुरा बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार