-धनवीर पुनमगर
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४४ वर्षको इतिहास पुरा गरिसकेको छ । त्यो इतिहास अत्यन्त उज्ज्वल र गौरवपूर्ण छ । ४४ वर्ष पहिले वाराणसीको एउटा सानो कोठामा केही जनाले शुरु गरेको संगठन आज भारतव्यापी बन्नुको साथसाथै भारतप्रवासमा रहने नेपालीहरूको लागि अभिभावकीय संगठनको रुपमा जिम्मेवारी निर्वहन गर्दै आएको छ ।
भारतमा मूल प्रवाह एकता समाजको गतिविधि संगठन वा इतिहासका कैयौं आयामहरू छन् । मूल प्रवाह एकता समाजले नेपालीहरूलाई साँस्कृतिक, वैचारिक र राजनैतिक रुपले समेत जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । आफ्नो स्थपाना कालदेखि नै नेपालको जनतन्त्र र राष्ट्रियताको पक्षमा चल्ने आन्दोलनका लागि मूल प्रवाह एकता समाजले सक्रिय ऐक्यवद्धता कायम गर्दै आएको छ । यो सबैलाई जानकारी भएकै विषय हो ।
चाहे त्यो नेपालमा पञ्चायती कालरात्री शासनका विरुद्धको संघर्ष किन नहोस्, चाहे विस २०४८ सालको चुनावको बहिष्कार वा उपयोग लगायतका संघर्षका कार्यक्रममा किन नहोस्, चाहे विस २०५४ र विस २०५६ मा चलेको किसान मार्च किन नहोस्, २०६५ मा संघीयता विरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनमा मूल प्रवाह एकता समाजले आफ्ना कार्यकर्ताहरू स्वदेश भित्र्याएर महत्वपूर्ण योगदान दिने काम गरेको थियो, वर्तमान पनि त्यो कार्यलाई निरन्तरता दिंदै आएको छ । त्यसका साथसाथै स्वंयम भारतीय मेहनतकश र प्रगतिशिल जनताद्धारा चलाइएका न्यायपूर्ण आन्दोलनमा पनि मूल प्रवाह एकता समाजको ऐक्यवद्धता कायम रहँदै आएको छ ।
मूल प्रवाह एकता समाजले भारतभरि नै प्रगतिशिल साँस्कृतिक कार्यक्रमहरूको आयोजना गरेर भारतस्थित नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै उनीहरूमा प्रगतिशिल चेतनालाई वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मूल प्रवाह एकता समाजले नेपालको वामपन्थी आन्दोलनमा योगदान पुर्याउँनका लागि ठूलो संख्यामा कार्यकर्ताहरू स्वदेश पठाउने समेत गरेको छ ।
मूल प्रवाह एकता समाजले केवल नेपालबाट भारत प्रवासमा आएका नेपालीहरू मात्र होइन, भारतीय नेपालीहरूका हकहित वा उनीहरू माथि हुने अन्याय, अत्याचारका विरुद्ध पनि अग्रपंक्तिमा रहेर संघर्ष गर्दैआएको छ । त्यसरी प्रवासी एवं भारतीय नेपालीहरूलाई एकजुट पार्ने काममा पनि मूल प्रवाह एकता समाजले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । भारतमा युवा, विद्यार्थी, महिला, जनजाति, दलित आदिलाई जागृत र संगठित गर्ने कार्यमा पनि मूल प्रवाह एकता समाजले महत्वपूर्ण योगदान दिंदै आएको छ । मूल प्रवाह एकता समाजले नियमित रुपमा प्रकाशित गर्ने नेपाली समाचार, एकता सन्देश र अन्य समसामायीक प्रकाशनहरूले कार्यकर्ताहरूको बीचमा प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।
त्यस्तै विभिन्न स्तरमा समय–समयमा हुने प्रशिक्षण कार्यक्रमहरूले विभिन्न समयमा संगठनमाथि अवसरवादी तथा गतल तत्वहरूलाई पहिचान गर्न कार्यकर्ताहरूलाई सहयोग पुर्याउँदै आएको छ । जसले गर्दा विभिन्न गलत र अवसरवादी विचार तथा तत्वहरूसँगको बैचारिक संघर्षमा मूल प्रवाह एकता समाजका कार्यकर्ताहरूको समयमै पहिचान गर्न सक्ने क्षमताको विकास भएको छ । केही सोझा र इमान्दार कार्यकर्ताहरूलाई भ्रम दिएर मूल प्रवाह एकता समाजलाई सिद्ध्याउँछौं भन्ने व्यक्तिहरू आज सड्कमा छटपाई रहेका छन् । उनीहरूसँग न नीति छ, न संगठन । छ त केवल भ्रममात्र, भ्रमको आयु लामो हुँदैन । समय–समयमा हुने विभिन्न विषयका विचारगोष्ठी र सम्मेलन लगायत विभिन्न प्रकारका रचनात्मक कार्यक्रमहरूले भारतस्थित नेपालीहरूको चेतना बढाउन महत्वपूर्ण योगदानमा मूल प्रवाह एकता समाजले जोड दिंदै आएको छ ।
माथि उल्लेखित बाहेक मूल प्रवाह एकता समाजको गतिविधि संगठन तथा इतिहासमा अरु पनि धेरै महत्वपूर्ण आयामहरू छन् । त्यसप्रकारको इतिहास बोकेर आएको मूल प्रवाह एकता समाजका अगाडि कैयौं प्रकारका समस्या र चुनौतीहरू अझै पनि छन् । त्यसकारण ति समस्या र चुनौतीहरूले त्यही प्रकारका संघर्षको माग गर्दछ ।
मूल प्रवाह एकता समाजले केवल भारतका विभिन्न शहरहरूमा छरिएका नेपालीहरूका स्थानीय र तात्कालिक समस्याहरूमाथि ध्यान दिदै आफ्नो संगठनात्मक गतिविधि शुरु गरेको थियो । तर अब ४४ वर्षपछि त्यो स्थिति छैन । नयाँ–नयाँ परिवर्तनस“गै नयाँ–नयाँ समस्याहरू उत्पन्न भएका छन् । त्यसकारण आज मूल प्रवाह एकता समाजको चिंतन, कार्यक्रम, गतिविधि र संगठनात्मक भूमिकाको स्तर पहिले भन्दा कैयौं गुना माथि उठ्नु पर्ने र व्यापक हुनुपर्ने आवश्यकता छ । मूल प्रवाह एकता समाजले अब केवल भारतका कुनै शहरमा मात्र होइन, सम्पूर्ण भारत तथा त्यहाँका प्रवासी नेपालीहरूका कार्यक्रम, नीतिहरू र जटिलताहरू माथि ध्यान दिंदै आफ्नो कार्यक्रम र नीतिहरू निश्चित गर्नुपर्ने आवश्यकता छ ।
त्यति मात्र होइन, मूल प्रवाह एकता समाजले नेपालको जनआन्दोलनका विभिन्न पक्षहरू, भारतका मेहनतकश जनता र प्रगतिशिल तत्वहरूसितको ऐक्यवद्धता, बाँकि विश्वभरका मेहनतकश जनता र क्रान्तिकारी शक्तिहरूसित अधिकतम् ऐक्यवद्धता कायम गर्ने दिशातिर पनि पहलकदमी बढाएर लैजानु पर्ने आवश्यकता उक्तिकै छ । मूल प्रवाह एकता समाजको विगतको इतिहासलाई अध्ययन गर्दा त्यसप्रकारको भूमिका खेल्ने क्षमता पनि राख्दछ ।
भारतस्थित नेपालीहरूका समस्या, उनीहरूका हकहितको रक्षाका लागि मूल प्रवाह एकता समाजले धेरै पहल एवं संघर्ष गरेको इतिहास छ । तर, त्यो दिशामा अझै धेरै कामहरू गर्नुपर्ने जिम्मेवारी पनि मूल प्रवाह एकता समाजको काँधमा छ । नेपाली मूलका भारतीय नागरिकहरूको अस्पष्ट र अनिश्चित समस्या आज पनि कायम छ । उनीहरूलाई भारत सरकारले १९५० को सन्धी अन्तर्गत राखेर नै व्यवहार गर्दछ तर, उनीहरू भारतका नागरिक हुन् । भारतमा उनीहरूको अधिकार त्यसरी नै सुरक्षित हुनुपर्दछ । त्यसरी नेपाली भाषा–भाषी भएको कारणले भारतीय नागरिकहरूको एउटा ठूलो संख्या माथि अन्याय भएको छ । त्यो अन्यायका विरुद्ध नेपाली मूलका भारतीय नागरिकहरूले लगातार संघर्ष गरिरहेका छन् । मूल प्रवाह एकता समाजले उनीहरू त्यो न्यायपूर्ण आन्दोलनमा ऐक्यवद्धता कामय गर्दै आएको छ । भविष्यमा पनि त्यो कार्यलाई जिम्मेवारीको रुपमा लिनुपर्ने आवश्यकता छ ।
नेपालबाट भारतमा आएका लाखौँ नेपाली रहेका छन् । उनीहरू १९५० को सन्धी अन्तर्गत पर्दछन् । तर, त्यो सन्धी अनुसार पनि भारतस्थित प्रवासी नेपालीहरूको अधिकार सुरक्षित छैन । आसाम सहित पूर्वोत्तर भारतमा रहने इनरलाईन प्रमिटको नाममा सताउने गरिंदै छ । अरुणाचल, मिजोरम, नागाल्यण, मणिपुर, हिमांचल र लक्ष्यद्वीपमा इनरलाईन प्रमिटको नाममा नेपालीहरू प्रताडनाको शिकार भइरहेका छन् । रसाथै हिमांचल तथा पूर्वात्तर लगायत अन्य कतिपय राज्यहरूमा रोजगारको लागि इलिजिवीटी सर्टिफिकेट (पात्रताको अधिकार प्रमाण पत्र), डोमिशाइल सर्टिफिकेट (स्थायी निवास प्रमाण–पत्र) को नाममा नेपालीहरू तथा उनका सन्तानलाई नोकरीबाट बञ्चित गरिएको छ । त्यस्तै हिमांचल, जम्मु कश्मिर, पूर्वोत्तर, उत्तराखण्ड लगायत कैयौं राज्यहरूमा पुस्तौंपुस्ता रहँदै आएका नेपालीहरू देश विहिनका नागरिक बन्न विवश छन् । नेपालमा जानका लागि उनीहरूको गाउँ थाहा छैन, भारतमा उनीहरूलाई विदेशी भन्ने गरिन्छ । यस्तो दयनिय अवस्थासँग सामना गर्न नेपालीहरू विवश छन् ।
सन् १९५० को “शान्ति तथा मैत्री” सन्धी अनुसार नेपालीले भारतमा ‘राष्ट्रिय व्यवहार’ पाउनु पर्दछ । सरकारले भारतमा नेपालीहरूले ‘राष्ट्रिय व्यवहार’ पाए/नपाएको अनुगमन गर्नुपर्दछ । नेपाल–भारत दुबै देशद्वारा सम्मिलित रूपमा गठित प्रबुद्ध समुहले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिनु पर्दछ । सन् १९५० को सन्धी आफैमा असमान छ र त्यसलाई खारेज गरेर पञ्चशीलको आधारमा नयाँ सन्धी गरिनुपर्दछ । १९५० को सन्धी खारेज नहु“दासम्मलाई भारतस्थित नेपालीहरूले उक्त सन्धीद्धारा प्रदत्त सुविधा पाउनुपर्ने हुन्छ । त्यसबारे भारत प्रवासमा रोजगारीमा आउने धेरै नेपालीहरूलाई जानकारी नहुन सक्छ । उनीहरूलाई आफ्नो अधिकारबारे जानकारी गराउने र आन्दोलनमा सरिक गराउने विषयमा पनि मूल प्रवाह एकता समाजले जिम्मेवारी बोध गर्दै आएको छ ।
वर्तमानमा रोजगारका लागि भारतमा आएका नेपालीहरूको अवस्था निकै दयनीय बन्दै गएको छ । भारत सरकारले आधार–कार्ड अनिवार्य तथा बहुउदेश्यीय कागजातको रुपमा लागु गरेको छ । त्यसको अभावले कैयौं नेपालीहरूले रोजगारीबाट हातधुनु परेको छ । त्यस्तै कैयौंले आधार–कार्डको अभावमा बैंक खाता नखुल्ने, बैंक खाताको अभावमा नोकरीबाट पाउने तलब समेतबाट हातधुनु पर्ने वाध्यता नेपालीहरूको रहेको छ । सेवा निवृत्त भएर नेपाल गएका कैयौंको पेन्शन तथा बैंकमा रहेको रकम आधार कार्डको अभावमा फ्रिज भएको छ । कैयौं नेपालीहरूले आधार कार्डको अभावमा मोबाइल सिम, ग्यास, स्कुलहरूमा बच्चाहरूलाई भर्ना लगायतका समस्याहरू झेल्नु परिरहेको छ ।
वर्तमानमा भारत सरकारले पारिवारिक पहिचान पत्रको शुरुवात गरिरहेको छ । त्यसबाट नेपालीहरूले झनै धेरै समस्याहरूको सामना गर्नुपर्ने अवस्था आउने निश्चित छ । यो परिस्थितिमा नेपालीहरूका समस्याको समाधानका लागि संघर्ष गर्ने एक मात्र संगठन भएको नाताले पनि मूल प्रवाहले भविष्यमा अझै धेरै समझदारी र जिम्मेवारीको रुपमा काम गर्नुपर्ने आवश्यकता छ ।
वर्तमान अवस्थामा नेपालीहरू सन १९७९ भन्दा पहिलेको अवस्थामा जस्तै अनुशासनको बाहिर रहेर विभिन्न प्रकारका गतिविधिहरूमा लाग्ने गरेको पनि पाइन्छ । जस्तै : कैयौं मठ मन्दीरको नाममा नेपालीहरूलाई लुट्ने, कतिपयले जिल्ला सम्पर्क समितिको नामले, कतिपयले लोक दोहोरी संस्थानको नामले, कतिपयले विभिन्न जातिवादी संगठनको नामले, कतिपयले विभिन्न प्रकारका व्यवसायीको नामले, कतिपयले भेगीय वा क्षेत्रीय नामले भारत प्रवासमा रहेका नेपालीहरूलाई विभाजन गरि आफ्नो स्वार्थसिद्ध गर्नेगरेका छन् । वर्तमानमा देखिएका यि समस्याहरू पनि निकै चुनौतीपूर्ण छन् । यस्ता प्रकारका कार्यहरू सन १९७९ भन्दा पहिला हुने गर्दथ्यो । त्यो पछि मूल प्रवाह एकता समाजको गठन पश्चात सुस्त–सुस्त कम हुँदै गएको थियो । तर, निर्मुल भएको थिएन । पछिल्लो समयमा पुनः त्यस प्रकारका गतिविधिहरू शुरु भएका छन् । त्यो कुनैपनि हालतमा नेपाली क्रान्तिको पक्षमा थिएन र छैन । यसप्रकारका समस्याहरूसँग जुधेर नै मूल प्रवाह एकता समाज यहाँसम्म आइपुगेको हो, भविष्यमा पनि त्यसप्रकारका समस्याहरूलाई चुनौतीको रुपमा लिंदै अगाडि बढ्नु पर्ने आवश्यकत छ ।
त्यस्तै कतिपयले व्यक्तिहरूले सोझा र इमान्दार नेपालीहरूलाई सुन्दर सपना देखाएर निहित व्यक्तिको फाइदाको लागि गरिने नेटवर्कीङ व्यवसायीको नामले धेरै नेपालीहरूको धनमाल नोक्शान गराउने वा गर्ने गरेका छन् । आर्गोस्, हर्बललाइफ, सानेसा, वेस्टिज, फ्यूचर मार्केट, आरसिएम, मोदीकेयर, फरहेवर लिविङ आदि आदिका नाम लिएर नेपालीहरूले नेपालीलाई नै ठगी खेती गरिरहेका छन् । यो संगठनको अनुशासन भित्र पटक्कै पर्दैन । यस प्रकारको गतिविधिबाट मूल प्रवाह एकता समाजका कार्यकर्ताहरूलाई बचाएर अनुशासित र जुझारु बनाएर नै संगठनको जिम्मेवारी पूरा गर्न सकिन्छ ।
विगतमा संगठनको अनुशासन नमानेको कारण कैयौं कार्यकर्ताहरूलाई संगठनबाट निश्काशित गर्नु पुर्याे । त्यो संगठनको अनुशासनले निश्चित गरेको दायरा भित्र पर्दथ्यो । वर्तमानमा पनि संगठनका कतिपय नयाँ/पुराना व्यक्तिहरूले नै संगठनको अनुशासनलाई उल्लंघन गर्ने कोशिस गर्ने गरेका छन् । खुल्ला प्रकारले संगठन विरोधी अभिव्यक्ति दिने, संगठनको पूर्ववत् निश्चित नीति भन्दा बाहिर गएर बुर्जुवा प्रकारका गतिविधि गर्ने, बुर्जुवा कार्यक्रमहरूलाई प्रोहत्साही गर्ने लगायतका यावत गतिविधिहरू हुने गरेका छन् । यस्तो गर्ने कुनै पनि नेता वा कार्यकर्तालाई छुट छैन । समाजमा भएका कैयौं कुरिती, कुसंस्कारहरूलाई पञ्छाएर समाजलाई प्रगतिशिल गतिमा अगाडि बढाउने जिम्मेवारी निर्वाह गर्दै आएको मूल प्रवाह एकता समाजले आफ्नो इतिहासलाई वर्तमानमा पनि निरन्तरता दिनुपर्ने आवश्यकताको खाँचो छ ।
अनुशासनको उल्लंघन खासगरि तीन प्रकारले हुने गर्दछ । प्रथमः विषयलाई नबुझेर । द्वितीयः अत्याधिक महत्वाकांक्षा । तृतीय : व्यक्तिमा रहेको अराजक प्रवृत्ती । प्रथम प्रकारको समस्या त्यती ठूलो समस्या होइन, द्वितीय र तृतीय चाहीं सिंगो संगठनलाई निकै चुनौतीको विषय हो । अत्याधिक महत्वाकांक्षा पाल्ने व्यक्तिहरूले धेरै आशा र सपनाहरू पालेका हुन्छन् । समाजमा मान, प्रतिष्ठा, सम्मान आदि आदि । संगठनबाट आफूले चाहे अनुसारको जिम्मेवारी वा पद नपाएको अवस्थामा उसले जे पनि गर्न सक्ने हुन्छ । त्यस्तै व्यक्तिमा रहेको चरमप्रकारको अराजकता सारमा उसमा भएको अहमतावादी चिन्तनको माथि निर्भर गर्दछ । उसले आफूभन्दा माथि कसैलाई पनि देख्न सक्दैन । उ भन्दा अगाडि कुनै सदस्यले जिम्मेवारी लिएर आएको अवस्थामा पनि उसलाई निकै असह्य हुन्छ । जसले गर्दा उसले संगठनको निर्धारित नीतिलाई तिलान्जली दिन पुग्दछ । यस्ता प्रकारका समस्याहरूलाई पनि मूल प्रवाह एकता समाजले सामना गरेरै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।
समग्रमा भन्ने हो भने पाचौं दशाब्दिमा प्रवेश गर्न थालिरहेको मूल प्रवाह एकता समाजले आफ्नो चार दशकको उज्ज्वल र गौरवपूर्ण इतिहासलाई कायम राख्ने मात्र होइन, त्यसलाई अरु उच्च स्तरमा माथि उठाउनका लागि प्रयत्न गर्नु पर्दछ । त्यसका लागि संगठनका नेता कार्यकर्ताहरूले आफ्नो चिंतन तथा कार्यविधिको स्तरलाई पनि अरु उच्च स्तरमा माथि उठाउने कुरालाई ध्यान दिएर नै आफ्नो नीति र कार्यक्रमहरू निश्चित गर्नुपर्ने आवश्यकता छ ।
जीवन, संगठन र कामको अवस्थामा पनि पहिले भन्दा कैयौं गुना बढी जटिलताहरू थपिएका छन् । ति जटिलताहरूको सामना गरेर नै हामीले मूल प्रवाह एकता समाजको गरिमा कायम राख्न सफल हुनेछौं । हामीले आशा गर्नुपर्ने हुन्छ : मूल प्रवाह एकता समाजले र त्यसका नेता कार्यकर्ताहरूले आफ्नो जिम्मेवारीलाई जीवन मरणसँग संघर्ष गरेरै भए पनि इतिहाँसले दिएको जिम्मेवारीलाई वर्तमानमा निर्वाह गर्न र भविष्यमा नयाँ पुस्तालाई हस्तान्तरण गर्न सदासदा तत्पर रहनेछन् । जसले गर्दा सबैले व्यक्तिवादी चिन्तन, महत्वाकांक्षा र अराजकताबाट माथि उठी इतिहासले दिएको जिम्मेवारी पूरा गर्न सकियोस् ।