जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग, जयपुर उत्तर र दक्षिणको संयुक्त आयोजनामा ६ सेप्टेम्बर २०२४ मा रामनिवास बागस्थित राजस्थान स्टेट स्काउट गाईड भवनमा हरितालिका तीज सम्पन्न पारिएको छ ।
कार्यक्रममा अतिथी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनाल प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै तीज पौराणिक मान्यतासँग सम्बन्धित रहेको बताउनु भएको थियो ।
नेपाली समाजमा श्रावण संक्रान्तिको दिनदेखि तीजको दिनसम्म तिज मनाउँने गर्दछन् । धार्मिक कट्टरताको समय छोरीले विद्रोह गर्नु हुँदैन भन्ने मान्यता थियो र हरेक घटनालाई शिवको पुजासँग जोडिएको थियो तर, समाजमा धेरै परिवर्तनहरु आइसकेको छ तर पनि पितृसत्तात्मक छ ।
नेपाली समाजमा परिवर्तनको खाँचो छ, विद्यमान साम्राज्यवादी व्यवस्थाले आफ्नो स्वार्थका लागि विकृती र विसंगतीलाई बढावा दिइरहेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले समाजमा व्याप्त कुरीति, कुशंस्कारलाई रोक्नका लागि साँस्कृतिक आन्दोलनमा पनि जोड दिंदैआएको छ ।
कार्यक्रमलाई केन्द्रीय सदस्य बेलबहादुर रजाली र महिला सदस्य पेमा थापाले पनि सम्बोधन गर्नुभएको थियो । जयपुरका विभिन्न भागबाट हजारौं महिलाहरू उपस्थित थिए । नेपाली पहिरनमा सजिएका महिलाहरुले आ-आफ्नो समूह बनाएर गीत तथा नृत्य प्रस्तुत गरेका थिए । गीत र नृत्यमार्फत समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढीवादविरुद्ध जनचेतना फैलाउने सन्देश दिइएको थियो ।
कार्यक्रममा प्रतिभाशाली नेपाली विद्यार्थी, कलाकार र ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता लक्ष्मी केसीले, सञ्चालन माया थापाले र विना थापाले आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियो ।