संगठनात्मक अभियानप्रति पत्रकारको चासो

सन्धिखर्क । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एकमहिने सङ्गठनात्मक अभियानप्रति आम रूपमा चासो बढेको छ । २०७६ फागुन १३ गते राजमो अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले सङ्गठनात्मक अभियानसहित एमसीसी, सीमा अतिक्रमण तथा भ्रष्टाचार विरुद्ध राजमोको अभियानबारे प्रश्न गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरव रेग्मीले अर्घाखाँचीमा सङ्गठनात्मक अभियान कसरी चलिरहेको छ भन्नेबारे स्पष्ट पार्नुभएको थियो । अध्यक्ष रेग्मीका अनुसार अर्घामा नौवटा टिम बनाएर जिल्लाव्यापी रूपमा सदस्यता वितरण तथा सङ्गठन निर्माणको काम चलिरहेको छ । त्यसबाहेक वडास्तरमा बेग्लाबेग्लै टिम बनेका छन् । हजारौँले राजमोको सदस्यता लिएका छन् भने कैयौँ व्यक्ति अन्य पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् ।

त्यस्तै, पत्रकारहरूले एमसिसीका बारेमा सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष रेग्मीले अमेरिकाले नेपाललाई दिने ५५ अर्बसँग नेपालको सार्वभौमिकता साट्न खोजेकाले विरोध गर्नुपरेको स्पष्ट पार्नुभयो । ‘हामीले विदेशी सहायतालाई सामान्यतया अस्वीकार गर्दैनौँ । तर अमेरिकाले ५५ अर्बसँग नेपालको सार्वभौमिकता साट्न खोजेको छ’ अध्यक्ष रेग्मीले भन्नुभयो– ‘देशलाई धरौटीमा राखेर विदेशी सहयोग कुनै हालतमा स्वीकार्न सकिन्न । संसदबाट एमसिसी खारेज हुनुपर्छ ।’ यस्तै, अध्यक्ष रेग्मीले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग आफ्नो नक्सामा समेटेर भारतले नेपाललाई चुनौती दिएको भन्दै त्यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो । फरक प्रसङ्गमा उहाँले नेपालमा भ्रष्टाचार डरलाग्दो गरी संस्थागत हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै भ्रष्टलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभयो ।

राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजमो केन्द्रीय सदस्य शेरबहादुर बिसी, वैकल्पिक केन्द्रीय सदस्य यामलाल पोखरेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको सञ्चालन राजमो जिल्ला सल्लाहकार जीवनारायण खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार