
परासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा राष्ट्रिय जनमोर्चाले विरोधसभा सम्पन्न गरेको छ ।
राजमो नवलपरासीको आयोजनामा जिल्ला सदरमुकाम परासीबजारको बुद्धचोकमा २०८१ असोज १५ गते मङ्गलबार नाराजुलुससहित सो कार्यक्रम सम्पनन भएको हो ।
विरोधसभालाई सम्बोधन गर्दै प्रमुख वक्ता राजमो केन्द्रीय सल्लाहकार तथा तराई मधेस जनवादी मोर्चा अध्यक्ष बद्रे आलमले अहिले देशको परिस्थिति गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि सङ्घीयता खारेज गर्नुको विकल्प नभएको बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले भ्रष्टाचारलाई संरक्षण गरेर सत्तासिन दलहरूले योजनाबद्ध रूपमा गणतन्त्रलाई नै बद्नाम गराउने काम गरेको आरोपसमेत लगाउनुभयो ।

कार्यक्रम राजमो लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदी, कम्युनिस्ट सङ्ग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य र नेकपा (मसाल) नवलपरासीका प्रवक्ता रेम रानाले समेत सम्बोधन गर्नुभएको थियो ।

राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीको अध्यक्षतामा तथा सचिव ढुण्डिराज पोख्रेलको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

परासीबजारको बुद्धचोकमा सभामा परिणत हुनुअघि नाराजुलुससहित बजार परिक्रमा गरिएको थियो ।
















