अछाम । दसैं, तिहारजस्ता चाडवाडमा प्रायः नेपालीहरु सकिनसकी घर फर्किन्छन् । परिवारसँग बसेर चाडवाड मनाउँछन् । पारिवारिक मिलनको रुपमा लिइने यी दुई मुख्य चाडमा निम्न र मध्यम वर्गीय परिवारका व्यक्तिले भने परिवारकै खुसीका लागि घर छोड्नुपर्ने बाध्यता छ ।
अछामलगायत सुदूरपश्चिम र कर्णालीका बसपार्कहरुमा चाडपर्वकै बेला कामको खोजीमा घर छाडेर परदेश जानेको भीड छ । यहाँका अधिकांशको रोजगारीको गन्तव्य भारतका सहर हुन् ।
पहिले पुरुषहरु मात्रै भारत जाने चलन फेरिएर अचेल महिलाहरु पनि कामको खोजीमा जाने गरेका छन् । कैलालीतिर आफन्त भएकाहरु छोराछारी उनीहरुकै जिम्मा लगाएर निस्कन्छन्, कोही नभएकाहरु बच्चाकै भरमा बच्चा छोडेर निस्कन्छन् । आइतबार र सोमबार मंगलसेनस्थित बसपार्कमा त्यस्तै महिला र पुरुषहरु भेटिए, जसले चाडवाडको बेला छोराछोरीलाई घरमा छोडेर काम खोज्न भारत निस्कएका थिए ।
दसैं सकिएर तिहारको माहोल आउँदै गर्दा घर छोड्ने अधिकांशले एक महिनामात्रै काम नगरे छाक टार्न नै मुस्किल हुने गरेको बाध्यता सुनाए । मंगलसेन नगरपालिका–१ का रनबहादुर नेपाली आइतबार श्रीमतीसहित कामको खोजीमा भारत निस्किए । २ छोरा र ३ छोरीलाई घरमै छोडेर नेपाली दम्पती निस्किएपछि छोराछोरीको खुसी नै खोसियो ।
‘जेठी छोरी १४ वर्षकी भइन् । उनले अरु भाइबहिनीको रेखदेख गर्न सक्छिन्,’ रणबहादुरले भने,‘चाडवाड पछि गएपछि बम्बैमा नौकरी पाउन मुस्किल हुन्छ । २, ३ महिनासम्म खाली बस्नुपर्छ । चाडवाड मान्न धेरैजसो नेपाल आउँछन् । यस्तो बेला गयो भने काम पाउन सजिलो हुन्छ ।’
रणबहादुरलाई चाडवाडभन्दा यतिबेला पैसाको महत्व बढी लागेको छ । ५ जना छोराछोरीको पालनपोषण र पढाइलेखाई राम्रो बनाउनका लागि श्रीमान्–श्रीमती दुवैले घर छाड्नु परेको उनले बताए ।
कमलबजार नगरपालिका–१ का राजबहादुर विष्ट पनि श्रीमतीसहित आइतबार कामको खोजीका लागि भारत हिँडे । उनी भारतको हैदरावादमा ८ वर्षदेखि एक होटेलमा काम गरिरहेका छन् । उनी श्रीमती नान्कला भने पहिलो पटक जान लागेकी हुन् । २ छोरी र एक छोरालाई आमाबुवाको जिम्मा छोडेर विष्ट दम्पत्ती तिहार छाडेर निस्के ।
‘दसैं माउन आएको हुँ । जाँदा श्रीमतीलाई पनि साथमै लिनु पर्ने भयो । भारतमा अहिले पुरुषलाई भन्दा बढी महिलालाई काम पाउन सजिलो छ । मालिकहरुले पनि महिलालाई बढी विश्वास गर्छन्,’ उनले भने,‘चाडवाडको बेला घर छोड्दा नरमाइलो त लागिहाल्छ । तर घरमै बसेर खर्च मात्रै बढ्छ । आम्दानीको स्रोत केही छैन । छोराछोरीको भविष्य राम्रो होस् भनेरै निस्किएका हौं । यो कुरा पछि उनीहरुले पनि बुझ्लान् ।’
उमेरले ७ दशक नाघेका बुवाआमाको भरमा छोराछोरी छोड्दा पीडा भएको उनले बताए । ‘गाउँमा जसको पहुँच छ , जसले राजनिति गर्छन् । उनीहरुकै चल्छ । हामीजस्तो चलखेल नजान्नेले वृद्धावस्थाका बुवाआमा र नाबालक छोराछोरी छोडेर हिंड्नु पर्छ ।’ ढकारी गाउँपालिका–५ का नन्दबहादुर साउद सोमबार कामको खोजीमा भारत जानको लागि घरबाट निस्किए ।
उमेरले ४३ वर्ष पूरा भएका उनले आफ्नो उमेरको आधाभन्दा बढी समय भारतमै बिताएका छन् । पुना, मुम्बइ, हैदरावाद, बान्द्रा जस्ता भारतका विभिन्न सहरमा उनले अहिलेसम्म धेरै समय काम गरेका छन् । श्रीमती बिरामी भएको खबर पाएपछि गत साउनमा घर आएका नन्दबहादुर चाडपर्वकै मुखमा फेरि भारत गएका हुन् ।
‘दसैं तिहारजस्ता चाडवाड घरपरिवारसँग बसेर मुस्किलले एक/दुई पटक पाइयो होला,’ उनले भने,‘चार वर्ष अगाडी कोरोना संक्रमणका बेला घरमा आउँदा दसैंतिहार परिवारसँग बसेर मनाउन पाइएको थियो ।’
श्रीमतीको उपचारका लागि आएका नन्दबहादुर अहिले आर्थिक रुपमा कमजोर भएका छन् । ४ छोरी र एक छोरा, श्रीमतीको उपचार खर्च सबै धान्ने भनेकै उनको भारतको कमाइले हो ।
‘श्रीमतीलाई पाठेघरको समस्या छ । मंगलसेनमा उपचार नभएपछि नेपालगन्ज लगे । त्यता उपचारमा मात्रै एक लाख बढी खर्च भयो,’ उनले भने,‘चाडवाडको बेला छोराछोरीलाई एक केजी मासु र एक जोड नयाँ लुगा किन्न सक्ने अवस्था छैन । चाडवाड आयो भनेर यता बसेर के गर्नु ।’
आर्थिक अवस्था कमजोर भएकै कारण वर्षौंदेखि चाडवाडहरु मनाउन नसकेको उनले बताए । ‘गरिबका लागि दसैं न तिहार,’ उनले भने ।