कलिंगा विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न राजमोको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको भूवनेश्वरस्थित कलिंगा विश्वविद्यालय प्रशासनमाथि कारबाही हुनुपर्ने माग गरेको छ । केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ फागुन ६ गते मंगलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो माग गरेको हो ।

मृतक प्रकृति लम्सालले आफूमाथि भारतीय विद्यार्थीले गरेको दुव्र्यवार विरुद्ध उजुरी गरेकामा ध्यान नदिएको तथा उनको मृत्युपछि त्यसबारे कुरा उठाउँदा नेपाली विद्यार्थीलाई निष्काशन गर्ने तरिका गलत भएको भन्दै राजमोले कारबाही गर्न वक्तव्यमार्फत माग गरेको छ ।

लम्सालको आत्महत्या भनिए त्यो हत्या हुन सक्ने आशंका गर्दै राजमोले त्यहाँ नेपाली विद्यार्थीमा जुन असुरक्षाको वातावरण कायम भएको छ, त्यसलाई तत्कालै अन्त्य गर्न राजमोले नेपालको परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूताबाससित माग गरेको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठः
‘भारतको उडिसा भूवनेश्वरस्थित विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको मृत्यु प्रकरणप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । राष्ट्रिय जनमोर्चाले मृतक प्रकृति लम्सालप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनको शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

त्यहाँको विश्वविद्यालय प्रशासनले उनको मृत्यु आत्महत्याबाट भएको बताएको छ तर उनको हत्या भएको पनि आशंका गरिएको छ । थाहा भएअनुसार त्यही विश्वविद्यालयमा पढ्ने एक जना विद्यार्थीले उनीसित दुव्र्यवहार गर्ने वा उनलाई प्रताडित गर्ने पनि गरिरहेको थियो । त्यस प्रकारको दुव्र्यवहारका विरुद्ध ती छात्राले विश्वविद्यालय प्रशासनमा उजुरी पनि गरेकी थिइनन् तर त्यो उजुरीबारे कुनै कारबाही गरिएको थिएन । त्यस प्रकारको दुव्र्यवहार वा उनको उजुरीप्रति कुनै कारबाही नगरिएकाले उनले आत्महत्या गरेकी थिइन् वा उनले उजुरी गरेको हुनाले उनको हत्या गरिएको थियो ? त्यो गम्भीर छानबिनको विषय हो । उक्त दुवैमध्ये जुनसुकै कारणले उनको मृत्यु भएको भए पनि त्यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

प्रकृति लम्सालको मृत्युबारे छानबिन गर्न माग गर्दा त्यहाँको विश्वविद्यालयले उनीहरूमाथि दमन गरेको र उनीहरूलाई छात्राबासबाट समेत निष्काशित गरेको कारबाहीप्रति हाम्रो गम्भीर ध्यान गएको छ । प्रथमतः प्रकृति लम्सालमाथि भएको दुव्र्यवहारबारे उजुरी दिँदा त्यसबारे कुनै कारबाही नगर्ने र उनको मृत्युपछि त्यो घटनाको छानबिनको माग गर्दा नेपाली विद्यार्थीमाथि नै दमन र जोरजबर्जस्ती गर्ने त्यहाँको विश्वविद्यालयको नीतिप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ । त्यस प्रकारको व्यवहारको कडा शब्दमा भत्र्सना गर्दछ । हामीले त्यस प्रकारको व्यवहारका लागि कूटनीतिक स्तरमा भारत सरकारसित कुरा उठाउन तथा विश्वविद्यालय प्रशासनमाथि कारबाही गर्नुपर्नेमा जोड दिन्छ ।

सञ्चारमाध्यमबाट जानकारी भएअनुसार भूवनेश्वरको त्यो घटनाप्रति दिल्लीस्थित नेपाली दूताबासको पनि ध्यान गएको छ र त्यसबारे दूताबासले सक्रियता देखाएको छ । त्यसपछि छात्राबासबाट निष्काशित विद्यार्थीलाई पुनः छात्राबासमा लिने र उनीहरूलाई पठनपाठन गर्न दिने व्यवस्थासमेत भएको कुरा थाहा भएको छ तर प्रकृति लम्सालमाथि गरिएको दुव्र्यवहार, त्यही दुव्र्यवहारका कारणले आत्महत्या वा हत्याका कारणले उनको मृत्यु तथा विश्वविद्यालय प्रशासनको दमनसमेतका कारणले त्यहाँ जुन असुरक्षाको वातावरण भएको छ, त्यसमा सुधार गर्नका लागि विशेष पहलकदमी गर्न हाम्रो पार्टीले नेपाल सरकारको परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूताबासको पनि विशेष ध्यान आकर्षित गर्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार