
काठमाडौँ । नेकपा (मसाल) ले नेपालको प्राकृतिक सम्पदा अफ्रिका, युक्रेनमा जस्तै अभिशाप बन्न सक्ने चेतावनी दिएको छ ।
अफ्रिका, युक्रेनलगायतको खनिज पदार्थ कब्जाका लागि अमेरिका र युरोपियन साम्राज्यवादद्वारा सहयोगको प्रस्तावको सन्दर्भ अगाडि सार्दै मसालले सो चेतावनी दिएको हो ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ फागुन २० गते मङ्गलबार जारी प्रेसवक्तव्यमा मसालले सो धारणा व्यक्त गरेको छ ।
नेपालमा पनि युरेनियमजस्तो बहुमूल्य खनिज भएको सन्दर्भ जोड्दै मसालले साम्राज्यवादद्वारा त्यसको दुरुपयोग हुन सक्नेतर्फ सचेत गराएको छ ।
वक्तव्यमा पार्टीले एकातिर, नेपालप्रति साम्राज्यवादी नीतिको विरोध गर्ने र अर्कोतर्फ, साम्राज्यवादपरस्त राजनीतिक पार्टी तथा एनजिओ, आइएनजिओको भण्डाफोर गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“युक्रेनको युद्धबाट विश्व साम्राज्यवादको चरित्रबारे धेरै कुरा छर्लङ्ग भएको छ । युक्रेनको युद्धबाट त्यहाँ जनधनको ठुलो क्षति भएको छ । युद्ध रोकिएपछि पनि त्यहाँको उद्धारका लागि ठुलो धनराशि र दशाब्दिऔँको लामो समय लाग्नेछ । त्यहाँको युद्धको लागि रुसी साम्राज्यवाद र पश्चिमी साम्राज्यवाद दुवै जिम्मेवार छन् ।
युक्रेनको युद्धबाट यो कुरा प्रस्ट हुन्छ कि कुनै साम्राज्यवादी शक्तिले आफ्ना साम्राज्यवादी स्वार्थका लागि कुनै देशलाई कहाँसम्म बर्बाद गर्न सक्दा रहेछन् रु कुनै देशमाथि गर्ने आक्रमण मात्र होइन, युद्धको बेलामा दिने सहायता पनि उनीहरूको साम्राज्यवादी स्वार्थद्वारा नै निर्देशिन हुने कुरा पनि युक्रेनको युद्धबाट छर्लङ्ग भएको छ । युक्रेनको युद्धमा सबैभन्दा धेरै मदत अमेरिकाले नै गरेको छ तर अब अमेरिकाका राष्ट्रपति ट्रम्पको भनाइबाट प्रस्ट भएको छ कि त्यहाँ अमेरिकाले जे जति मदत गरेको थियो, त्यसको एकएक पैसाको हिसाब गरेको थियो ।
युक्रेन दुर्लभ खनिज पदार्थले भरिएको एउटा धेरै नै धनी देश हो । अमेरिकाले युद्धमा पैसा वा हतियारले मदत गर्नुको पछाडि मुख्य उद्देश्य त्यहाँका दुर्लभ खनिज पदार्थमाथि कब्जा गर्नु नै थियो भन्ने कुरामा अब कुनै शङ्का रहेको छैन ।
नाटोका देशले सुरुदेखि नै युक्रेनलाई मदत गरेका थिए र अहिले पनि उनीहरूले रुसका विरुद्ध पूरै मदत गर्ने कुरा गरिरहेका छन् । प्रथमतः त्यो युद्धको प्रारम्भ नै पश्चिमी समाजवादी देशको साम्राज्यवादी स्वार्थ पूरा गर्न भएको थियो । उनीहरूले जेलेन्स्कीजस्तो साम्राज्यवादको दलाललाई युक्रेनको राष्ट्रपति बनाए र युक्रेनलाई नाटोको सदस्य बन्नका लागि पहलकदमी गर्न लगाए । त्यसका पछाडिको उद्देश्य रुसी साम्राज्यवादसित उनीहरूको अन्तर्विरोध र रुसको सीमासम्म आफ्नो सीमा फैलाउनु थियो । त्यही कारणले नै रुसले युक्रेनमाथि आक्रमण गऱ्यो र त्यो युद्ध सुरु भयो । रुसको ध्यान पनि युक्रेनको दुर्लभ खनिज पदार्थमाथि थियो र त्यस प्रकारका खनिज पदार्थको प्रचुरता भएको भागमा नै उसले कब्जा गरेको तथ्यबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।
अमेरिकाले रुस र युक्रेनका बिचमा शान्ति सम्झौताका लागि पहल गरिरहेको छ तर त्यस प्रकारको पहलका पछाडि उसको मुख्य ध्यान युक्रेनका दुर्लभ खनिज पदार्थमाथि नै भएको कुरा अब छर्लङ्ग भएको छ । युरोपियन देशले त्यो युद्धलाई कायम राख्न जेलेन्स्कीमाथि दबाब दिइरहेका छन् । त्यसका पछाडि उनीहरूको उद्देश्य पनि युक्रेनका खनिज पदार्थलाई कब्जा गर्नु नै भएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसका साथै त्यो युद्ध लम्बिएमा आफ्ना हतियारको ठुलो व्यापार गरेर नाफा कमाउने उनीहरूको उद्देश्यले पनि काम गरेको कुरा अनुमान गर्न सकिन्छ । त्यही उद्देश्य पूरा गर्न उनीहरूले त्यहा“ जेलेन्स्कीलाई सत्तारूढ गराएका थिए र अब पनि उसलाई पूरै युद्धमा लगाउन चाहन्छन् ।
माथि जुन कुरा लेखियो, त्यसबाट के प्रष्ट हुन्छ भने जुनसुकै देशको साम्राज्यवाद होस्, त्यसको मुख्य उद्देश्य कुनै देशको हित गर्नु होइन, बढीभन्दा बढी नाफा कमाउनु नै हुन्छ । उनीहरूका शान्ति, मानवता वा लोकतन्त्रको प्रचारका पछाडि मुख्य उद्देश्य त्यही नै हुन्छ । कुनै देशसितको मित्रता वा शत्रुता दुवै अवस्थामा उनीहरूको मुख्य उद्देश्य त्यही नै हुन्छ । त्यसरी त्यो कुरामा कुनै शङ्का छैन कि साम्राज्यवाद संसारका सबै उत्पीडित राष्ट्र र जनताको दुस्मन शक्ति हो । अहिलेको युक्रेन युद्धले मात्र होइन, साम्राज्यवादको उत्थानदेखि उनीहरूले अपनाउ“दै आएका सबै नीति र क्रियाकलापबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।
अमेरिकन र युरोपियन साम्राज्यवादी देशका क्रियाकलापबाट युक्रेन एक प्रकारले पूरै ध्वस्त भएको छ । जेलेन्स्की खालि साम्राज्यवादी शक्तिका गोटी मात्र भए र उनले आफ्ना देश र जनताको हितमाथि ध्यान दिएर भन्दा साम्राज्यवादीका लागि नै लडाइँ लड्ने काम गरे र उनको त्यस प्रकारको साम्राज्यवादपरस्त नीतिबाट युक्रेनका जनतालाई धेरै नै क्षति पुग्यो ।
युक्रेनको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्दछ र सिक्नु पनि पर्दछ । युक्रेन खनिज पदार्थका दृष्टिकोणले धेरै सम्पन्न राष्ट्र हो र त्यसको त्यो प्राकृतिक सम्पन्नता नै त्यसका लागि अभिशाप बन्न पुग्यो । अफ्रिकाको पनि त्यही प्रकारको अनुभव हाम्राअगाडि छ । अहिले ग्रिनल्यान्डमाथि कब्जा जमाउन अमेरिकाले जुन प्रयत्न गर्न थालेको छ, त्यसका पछाडि पनि ग्रिनल्यान्डमा प्रचुर मात्रामा दुर्लभ प्राकृतिक सम्पदा हुनु नै हो र त्यो कुरा प्रष्ट भएको छ ।
नेपाल पनि प्राकृतिक दृष्टिकोणले धेरै सम्पन्न राष्ट्र हो । नदी, वनजङ्गल, पहाड र हिमालयसमेतका दृष्टिकोणले नेपाल धेरै नै सम्पन्न छ । नेपालमा ठुलो मात्रामा युरेनियम भएको पनि पत्ता लागेको छ । अब नेपालमा पेट्रोल र ग्याँससमेतको सम्भावना भएको कुरा थाहा हुँदैछ ।
संसारभरको, युक्रेन र अफ्रिकासमेतको अनुभवबाट हामीले के बुझ्नुपर्दछ भने त्यस प्रकारको प्राकृतिक सम्पदा नै नेपालको लागि अभिशाप बन्न सक्दछ । त्यो प्राकृतिक सम्पदाबाट नेपालको विकासमा मदत पुग्नुभन्दा त्यसमाथि कब्जा जमाउन विभिन्न साम्राज्यवादीको ध्यान जान सक्दछ वा त्यसका लागि उनीहरूका बिचमा युद्धको स्थिति उत्पन्न हुन सक्दछ । त्यसरी नेपाल युद्धको भूमि पनि बन्न सक्दछ । युक्रेनमा जेलेन्स्कीजस्तै नेपालका विभिन्न साम्राज्यवादपरस्त राजनीतिक पार्टी वा तत्त्वले साम्राज्यवादीका त्यस प्रकारका उद्देश्य पूरा गर्न उनीहरूको सेवा पनि गर्न सक्दछ । यो सम्पूर्ण देश र नेपाली जनताका लागि गम्भीर चिन्ताको कुरा हो । भविष्यमा त्यसका दूरगामी परिणाम हुन सक्दछन् । त्यसकारण त्यस प्रकारको सबै सम्भावनाका विरुद्ध नेपाली जनताको उच्च प्रकारको राजनीतिक चेतना हुनुपर्दछ । त्यसका लागि दुईओटा कुराप्रति हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ स् प्रथम– आफ्ना क्षुद्र फाइदाका लागि विभिन्न साम्राज्यवादी शक्तिको सेवा गर्नेभन्दा त्यसका विरुद्ध स्पष्ट र सचेत सङ्घर्षको नीति, द्वितीय– आफ्ना क्षुद्र फाइदाका लागि एक वा अर्को प्रकारले साम्राज्यवादपरस्त नीति अपनाउने राजनीतिक पार्टी वा एनजिओ र आइएनजिओप्रति स्पष्ट दृष्टिकोण तर त्यो निकै नै दुःख र दुर्भाग्यको कुरा हो कि नेपालमा राजनीतिक वा समाजका विभिन्न क्षेत्रमा एक वा अर्को रूपमा साम्राज्यवादपरस्त सोचारू बढ्दै गइरहेका छन् र तिनीहरूका विरुद्ध नेपाली जनतामा समयमा नै उच्च चेतनाको विकास हुन नसकेमा त्यसले नेपाललाई गम्भीर दुर्भाग्य वा सङ्कटको मुखमा लैजाने कुरा निश्चित छ तर हामीले आशा र विश्वास गर्नुपर्दछ र उच्च प्रकारको सतर्कतापूर्वक देशलाई त्यस प्रकारको कुनै पनि दुर्घटनामा लैजाने प्रयत्नका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गरिरहनु पर्दछ । त्यसरी नै हामीले देशलाई सम्भावित कुनै पनि प्रकारको दुर्घटनाबाट बचाउन सक्नेछौँ र बचाउनु पनि पर्नेछ ।”