
मोहनविक्रम सिंह ##
अहिले देशमा प्रतिगमनको खतरा निकै बढेर गएको छ । राजतन्त्रको पक्षमा ठाउँठाउँमा भइरहेका प्रदर्शनमाथि विचार गर्दाखेरि त्यो खतरालाई हल्का रूपमा लिनु सही हुने छैन ।
राजावादीले राजतन्त्र पुनर्स्थापनाका लागि पूरा शक्ति लगाइरहेका नै छन् तर जुन कुराले त्यसका लागि मदत पुऱ्याइरहेको छ, त्यो हो– जनप्रियतावाद र त्यसलाई पनि हल्का रूपमा लिनु सही हुनेछैन । जनप्रियतावाद के हो ? त्यसलाई हामीले सही परिप्रेक्ष्यमा बुझ्नुपर्ने आवश्यकता रहेको छ । कैयन् पल्ट जनताले कुनै चिजलाई गहिराइमा गएर नगईकन हल्का र भावनात्मक प्रकारले कुनै चिजका पछाडि दौडने गर्दछन् । त्यसको परिणामस्वरूप संसारमा धेरै अनर्थ हुने गरेका थुप्रै उदाहरण छन् । त्यस सन्दर्भमा हिटलरको उदाहरण सबैभन्दा विशेष रूपले उल्लेखनीय छ ।
हिटलरले जातिवादलाई उच्च रूपमा प्रोत्साहित गरेका थिए । उनले यो कुरामा जोड दिएका थिए कि जर्मन जाति संसारको सबैभन्दा श्रेष्ठ जाति थियो र त्यसलाई संसारभरि शासन गर्ने अधिकार थियो । उनको त्यो नाराको जर्मन जातिमा ठुलो असर परेको थियो । त्यस प्रकारको जातिवादी नाराको आधारमा नै उनले जर्मनीमा आफ्नो तानाशाही शासन स्थापित गरेका थिए । जनताको हिटलरप्रतिको त्यस प्रकारको सर्मथन तल्लोस्तरको जनप्रियताबाद नै थियो । त्यस प्रकारको जनप्रियतावाद नै हिटलरको तानाशाही शासन, फासिष्ट शासन र द्वितीय विश्वयुद्धमा विश्वव्यापी युद्ध र आतङ्कको कारण बनेको थियो । त्यही प्रकारले अन्य देशको आक्रमणमा प्राप्त सफलता र त्यसका आधारमा प्राप्त लोकप्रियताका कारणले नेपोलियनले फ्रान्समा गणतन्त्रलाई समाप्त गरेर निरङ्कुश राजतन्त्रको पुनर्स्थापना गरेका थिए ।
भारतमा ब्रिटिस शासनले धार्मिक उन्मादलाई यति धेरै बढाइदिएको थियो कि हिन्दु र मुस्लिम एक अर्काका विरुद्ध खुनी दङ्गामा उत्रिएका थिए । त्यस प्रकारको दङ्गाका कारणले लाखौँ भारतीयको ज्यान गयो र हजारौँ महिला बलात्कृत भएका थिए । त्यो पनि एक प्रकारले धार्मिक उन्मादका कारणले पैदा भएको नाङ्गो प्रकारको जनप्रियतावाद हो । त्यसको परिणामस्वरूप नै भारत र पाकिस्तान दुईओटा देशमा विभाजन भयो । कैयन् पल्ट जनप्रियतावादका कारणले अगाडि आएका परिणामबाट कुनै देशलाई कति धेरै नोक्सान पुग्दछ ? त्यो त्यसको एउटा उदाहरण हो ।
हिन्दु र मुसलमानका बिचको त्यस प्रकारको धार्मिक वैमष्यताको दुष्परिणाम भारत र पाकस्तिान दुवै देशका जनतालाई अहिलेसम्म पनि भोग्दै आएका छन् । नेपालको उदाहरण पनि हाम्राअगाडि छ ।
२०१७ सालमा राजावादीले हिन्दु धर्मको कुरा व्यापक रूपमा उठाएर वा राजालाई हिन्दु धर्मको प्रतीकको रूपमा प्रतिष्ठित गरे । त्यसको परिणामस्वरूप २०१७ पुस १ गतेको काण्ड भयो र देशमा बहुदलीय व्यवस्थालाई समाप्त गरेर फेरि निरङ्कुश राजतन्त्र कायम गरियो । नेपाली जनताले ३० वर्षसम्म पञ्चायती तानाशाही व्यवस्थाको शासन सहनुपऱ्यो । त्यो कालमा जनतामाथि कति धेरै दमन भयो ? कति धेरै राष्ट्रिय सम्पत्तिको दुरुपयोग भयो । कति धेरै महिलालाई बलात्कार गरियो र हत्या गरियो ? देशमा मण्डलेको कति धेरै गुण्डाशासन चल्यो ? त्यो आम रूपमा थाहा भएको कुरा हो ।
वास्तवमा त्यो बेला देशभरिमा हजारौँ पञ्च र मण्डलेको शासन थियो । अहिले राजावादी र पूर्व राजाले समेत २०४६ सालभन्दा पहिलेको शासन व्यवस्था ल्याउने कुरा गरिरहेका छन् । त्यसरी देशमा एउटै राजा भएमा देशमा शान्ति, सुव्यवस्था कायम हुने कुरा गर्दछन् तर राजतन्त्रअन्तर्गत देशमा कति शान्ति र सुव्यवस्था हुन्छ ? कति राजनीतिक स्थिरता हुन्छ ? नारायणहिटी दरबार हत्याकाण्डले बताइसकेको छ ।
देशमा पञ्चायती व्यवस्थाको पुनर्स्थापना भयो भने देशभरि हजारौँ मण्डले र पञ्चे राजा बन्नेछन् र उनको गुण्डाशासन कायम हुनेछ । ३० वर्षको पञ्चायती शासनको उदाहरणबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।
अहिले राजावादीले राजाको पूर्व राजाको स्वागतमा जनताको ठुलो उपस्थिति भएको बताएर राजाप्रति जनताको ठुलो समर्थन भएको दाबी गर्दछन् तर त्यो राजाप्रतिको समर्थन होइन्, जनप्रियतावाद हो । त्यस प्रकारको जनप्रियताको आधार कुनै सचेत जनचेतना नभएर तल्लोस्तरका र पिछडिएका सोचाइले नै काम गरेका छन् । त्यो जनप्रियतावादको परिणाम संसारका सबै देश र नेपालमा पनि बारम्बार घातक नै हुने गरेका छन् । त्यसको परिणामबाट नेपाललाई बचाउन सचेत जनचेतनाद्वारा जनप्रियतामाथि विजय प्राप्त गर्नुपर्दछ ।