ध्यान नपुगेका ११ महत्वपूर्ण विषय

– रवि चौधरी

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वका १ सय ४९ राष्ट्रमा फैलिइसकेको छ । कोरोनाको सङ्क्रमणबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा संसारभर धेरै बहस र छलफल भइरहेका छन् ।

सार्सको तुलनामा कोरोना भाइरसबाट हुने मृत्युदर निकै कम छ । तर यो भाइरस निकै छिटो गतिमा फैलिने हुनाले जोखिम पनि धेरै छ । अहिलेसम्म कोरोनाको उपचारका लागि कुनै विशेष औषधि निर्माण भइसकेको छैन। तर सही उपाय अपनाउन सकियो भने यसको सङ्क्रमणबाट बच्न सकिन्छ ।

अहिले सामाजिक सञ्जालमा कोरोनाबाट बच्ने उपाय र जानकारी प्रत्येक घन्टा आइरहेको हुन्छ, जसमा मेडिकल र गैरमेडिकल, सही र भ्रामक दुवैथरिका जानकारी मिसिएको पाइन्छ। जस्तै :
– साबुनपानीले हात कति समयसम्म धुने र कुन साबुन प्रयोग गर्ने ?
– अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर कति पटक प्रयोग गर्ने?
– सार्वजनिक भीडभाडलाई बेवास्ता गरौँ तर नजिक या खुला भीडभाड ?
– हाच्छ्यिुँ गर्दा नाक र मुख छोपेर गर्नुपर्छ तर त्यो भाइरस या किटाणु कपडाको अन्य भागमा सक्रिय हुन्छ ?
– लक्षण देखिए तत्काल चिकित्सकलाई देखाउनुपर्छ तर विशेषगरी कुन ?
– मास्कको प्रयोग : कस्तो प्रकारको मास्क र कसरी नष्ट गर्ने ?
– हात नमिलाऔँ ।

यी सब उपाय व्यक्तिगत आधारमा दिइएका छन् । तर स्पष्ट रूपमा भने कतै पनि सन्देश या जानकारी दिइएको छैन । साबुनपानीले हात धुने भन्छौँ तर कति समयसम्म धुने, मास्कको प्रयोग सही तरिकाले कसरी गर्नेलगायत विषयमा सामाजिक सञ्जालमा आएका जानकारी स्पष्ट रूपमा प्रस्तुत गरिएको हुँदैन, जसले गर्दा मानिस झन् अन्योलमा पर्छन् । तर पनि यी विषय सामाजिक सञ्जालमा आइरहेका छन् । त्यसकारण यी कुरामा ध्यान दिन आवश्यक छ :
– कम्तिमा २० सेकेन्ड साबुनपानीले अनिवार्य रूपमा हात धुन जरुरी छ ।
– सार्वजनिक सेवा लिइसकेपछि वा कोही व्यक्ति तथा चिजसँगको सम्पर्कमा आएलगत्तै ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
– हरेक दिन कपडा धुन जरुरी छ ।

मानिस केही हदसम्म सचेत पनि भइरहेका छन् । तर केही यस्ता विषय छन्, जुन बाहिर आएका छैनन् । कसैले ध्यान दिएका पनि छैनन् तर निकै महत्वपूर्ण छन् ।

१. एटिएम मेसिनको किप्याड : दैनिक सयौँ मानिसले एटिएम मेसिन प्रयोग गर्छन् । प्रयोग गर्ने सबै मानिस स्वस्थ हुन्छन् भन्ने छैन, जसले गर्दा विभिन्न सङ्क्रमणको जोखिम रहन्छ । तर पनि हामीले यो विषयमा खासै ध्यान दिएका छैनौँ । त्यसकारण एटिएम बुथमा रहेका सुरक्षाकर्मीले सेवा लिन आएकालाई अनिवार्य रूपमा ह्यान्ड स्यानिटाइजर उपलब्ध गराउनुपर्छ । ह्यान्ड स्यानिटाइजर लगाएर मात्र एटिएम प्रयोग गर्ने र प्रयोग गरिसकेपछि पनि ह्यान्ड स्यानिटाइजर लगाउन आवश्यक हुन्छ ।

२. लिफ्टको प्रयोग : होटल, ब्याङ्क, अस्पताल, मल्सलगायत व्यावसायिक क्षेत्रमा दैनिक सयौँ मानिसले लिफ्टको प्रयोग गर्छन्, जसबाट पनि विभिन्न सङ्क्रमण फैलने खतरा हुन्छ । त्यसैले लिफ्टको सरसफाइमा ध्यान दिनुपर्छ । यो समयमा लिफ्ट चलाउने एक जना छुट्टै मानिस नै खटाउन सकिन्छ । उसले नै लिफ्टको स्विच थिच्ने काम गर्न सक्छ ।

३. सार्वजनिक किबोर्ड र माउस : सिफ्टमा काम गर्ने कार्यालयमा मात्र सार्वजनिक किबोर्ड र माउसको प्रयोग गर्नुपर्छ । सबैले एउटै किबोर्ड र माउस प्रयोग गर्नबाट जोगिनुपर्छ, साथै प्रयोग गर्नुपूर्व निर्मलीकरण गर्न सकिन्छ ।

४. मास्कको प्रयोग : मास्कको प्रयोगले विभिन्न सङ्क्रमणबाट बचाउँछ । मास्कको सही प्रयोग र नष्ट गर्ने तरिकाबारे सचेत रहन आवश्यक छ । किनभने भाइरस ८ देखि ९ घन्टासम्म सक्रिय रहन्छ । यसका लागि कुनै उचित जानकारी तथा शिक्षा दिइएको पाइँदैन ।

५. सिनेमा हल : सिनेमा हलभित्रको हावा ताजा हुँदैन । त्यो कहिले धुलो र सङ्क्रमणयुक्त हुन्छ । एउटै हलभित्र स्वस्थ र अस्वस्थ व्यक्ति दुवै प्रवेश गर्छन्, जुन श्वासप्रश्वासको माध्यमबाट सङ्क्रमण हुने सम्भावना बढेर जान्छ । हलभित्र राखिएका कुर्सी पनि सङ्क्रमणको कारण बन्न सक्छन् । त्यसकारण केही समयका लागि सिनेमा हल बन्द गर्नु उपयुक्त हुन्छ ।

६. ढोकाको ह्यान्डल : ढोकाको ह्यान्डलबाट पनि सङ्क्रमणको जोखिम सधैँ रहन्छ । विशेषगरी सार्वजनिक स्थान, जस्तो– होटल, ब्याङ्क, अस्पताल, मल्स, विद्यालय, मन्त्रालय, व्यावसायिक क्षेत्रमा प्रयोग हुने ढोकाको ह्यान्डल सधैँ सफा राख्नुपर्छ ।

७. आवश्यक मेडिकल छुट्टी : रुघाखोकीको जस्तो लक्षण देखिएका व्यक्ति बिदामा रहनुपर्छ । किनभने उसले कार्यालयमा भएका अन्य कर्मचारीलाई सङ्क्रमण फैलाउन सक्छ । चिकित्सकले स्वीकृति नदिएसम्म सङ्क्रमित व्यक्ति कार्यालयमा जानु हुँदैन ।

८. पिउने पानी : सार्वजनिक स्थानमा राखिएका पिउने पानीको जग, गिलास, बोतल प्रयोग गर्नु पनि सङ्क्रमणको कारण बन्न सक्छ । यसले विभिन्न सङ्क्रमणदेखि सरुवा रोग सार्ने ठुलो जोखिम हुन्छ । त्यसैले सकेसम्म हरेकले व्यक्तिगत रूपमा पानीको गिलास र बोतल प्रयोग गर्नुपर्छ ।

९. सार्वजनिक सवारी साधन : सार्वजनिक सवारी साधनमा स्वस्थ र अस्वस्थ दुवै व्यक्तिले यात्रा गर्छन्, जसले गर्दा सङ्क्रमण फैलने जोखिम बढ्छ । सरकारले सङ्क्रमित व्यक्तिलाई छुट्टै यात्रा गर्ने व्यवस्था मिलाउन सके जोखिम घटेर जान्छ ।

१०. नोट÷पैसाको प्रयोग : सकेसम्म नोटबाट कारोबार गर्नु हुँदैन । एटिएम कार्ड, चेकजस्ता नोटको प्रयोग नहुने काम गरे सङ्क्रमणबाट बच्न सकिन्छ ।

११. सार्वजनिक शौचालय : अधिकांश सार्वजनिक शौचालयमा साबुनपानीको व्यवस्था गरिएको हुँदैन । यदि सङ्क्रमित व्यक्तिले शौचालय प्रयोग गरेपछि सफा गरिएन भने त्यसबाट अन्य व्यक्तिमा सङ्क्रमण फैलिने सम्भावना हुन्छ ।
(चौधरी बयोधा अस्पतालका कार्यकारी निर्देशक हुन्)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार