राजमोको विशेष संगठनात्मक अभियान चैत्रसम्म

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको विशेष सङ्गठनात्मक अभियान चैत्र महिनासम्म चल्ने भएको छ । राजमोले चैत्र महिनाभरि स्थानीय स्तरमा समिति निर्माणको कार्यलाई प्राथमिकता दिँदै सो अभियान सम्पन्न गर्ने बताएको छ ।

राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७६ चैत्र ४ गते प्रसारित प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो । वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमणप्रति सचेत हुँदै सतर्कतापूर्वक विशेष सङ्गठनात्मक अभियानको बाँकी काम पूरा गर्न नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकसित हार्दिक अनुरोध गरिएको छ ।

वक्तव्यमा कञ्चनपुर जिल्लाको बेल्डाँडी गाउँपालिका वडा नं. ३ बैवाहमा सीमा अतिक्रमण गरी नेपाली भूमि कथित जङ्गे पिल्लर उभ्याइएकोमा त्यसको प्रतिवाद गरी स्थानीय जनताले सो पिल्लर भत्काइएको कार्यप्रति सराहना गर्दै देशभक्त जनताको उक्त कार्यप्रति एक्यबद्धता प्रकट गरिएको छ । उक्त घटनाले ९७ प्रतिशत सीमा समस्या समाधान भएको भन्ने सरकारी दाबी खोक्रो भएको बताउँदै गलत ढङ्गले गरिएको उपर्युक्त सीमाङ्कन पुनरावलोकन हुनुपर्ने तथा सीमास्तम्भ निर्माणको कार्य तत्कालै रोक्न माग गरिएको छ ।

विश्वव्यापी रूपमा नेपालमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपाल सरकारले सन्तोषजनक र भरपर्दो तयारी नगरिएकोमा राजमोले सरकारको ध्यानाकर्षण गराएको छ । वक्तव्यमा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी काम गर्न पनि आग्रह गरिएको छ ।

कोरोना भाइरसको सन्त्राससँगै मास्क, सरसफाइसम्बन्धी सामग्री, ग्याँस, खाद्य पदार्थको कृत्रिम अभाव सृजना गरी कालोबजारी बढेकोमा राजमोले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै आवश्यकतानुसार कारबाही चलाएर सर्वसाधारण जनतालाई सुलभ र सहज ढङ्गले ती सामग्रीको आपूर्ति गर्न सरकारसित माग गरिएको छ ।

यही चैत्र ३ गते सार्कका मुलुकहरूले भिडियो कन्फेरेन्समार्फत् कोरोना भाइरसको सङ्क्रमणका विरुद्ध सार्कस्तरमा साझा भएर काम गर्ने निर्णयलाई राजमोले स्वागत गरेको छ । सार्कको यस्तो प्रत्यत्नप्रति राजमोले ऐक्यबद्धता पनि प्रकट गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीको प्रेस वक्तव्यमा अगाडि भनिएको छ– “फागुन महिनामा उत्साहजनक रूपमा सञ्चालित राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियान चैत्र महिनामा पनि जारी रहने छ । सङ्गठनात्मक अभियानका बाँकी रहेका कामहरू चैत्र महिनामा पूरा गरिने छन् । स्थानीय सङ्गठनको निर्माण र सदस्यता वितरणको कार्यलाई मुख्य ध्यानमा राख्दै चैत्र महिनाको सङ्गठनात्मक अभियान सम्पन्न गरिने छ । कोरना भाइरसको महामारी विश्वव्यापी रूपमा रहेकाले व्यापक जनभेला र बन्द स्थानमा नगरी सचेत र सतर्कतापूर्वक सङ्गठनात्मक अभियानको कार्यलाई अगाडि बढाउन हामी सबै नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकलाई हार्दिक अनुरोध गर्दछौँ ।

कञ्चनपुर जिल्लाको बेल्डाँडी गाउँपालिका–३ बैवाहमा भारतले सीमा अतिक्रमण गरी निर्माण गरेको नेपाल–भारत सीमास्तम्भ स्थानीयवासीले भत्काएको घटनाप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । स्थानीय जनताले गरेको त्यो साहसिक कार्यप्रति हाम्रो पार्टीले सराहना गर्दै ऐक्यबद्धता प्रकट गर्दछ । सन् १९८१ मा नेपाल र भारतका बिच गठित प्राविधिक समितिले नेपाल भारतको सीमाको सीमाङ्कन गर्ने उद्देश्यले झण्डै २६ वर्ष लगाएर सीमाङ्कन गरी सो समिति सन् २००७ सालमा विघटन भएको थियो । सीमाङ्कनको दौरानमा १८३ थान स्टे«प नक्सा तयार गरी आआफ्नो देशको सरकारलाई बुझाएको थियो । तिनै नक्साका आधारमा कञ्चनपुरदेखि लिएर झापासम्म नेपाल र भारतले संयुक्त रूपमा सीमास्तम्भ निर्माणको कार्य अगाडि बढाएका छन् । त्यो कार्यको दौरानमा नेपालको नेपाली जनताको लामो समयदेखि भोगचलन गरी आएको लालपुर्जा प्राप्त जग्गा, स्थानीय विद्यालयको नाममा रहेका जग्गा, नहर र स्वयम् भारतको लगानीमा निर्माणाधीन हुलाकी सडकको बेल्डाँडी–बेलौरी खण्ड भारततर्फ पर्न गएको छ । त्यसैगरी बेलौरी, पुनर्वास तथा भीमदत्त नगरपालिकामा पनि त्यही प्रकारको समस्या देखा परेको छ । ती समस्यालाई हेर्दा यो भन्नका लागि पर्याप्त आधार छ कि दुबै देशले दावी गरेअनुसार नेपाल र भारतबिचको ९७ प्रतिशत सीमा समस्या समाधान भएको दाबीको खोक्रोपना उजागर भएको छ । विधिवत रूपमा नेपालको भूमि भारततर्फ गाभ्ने काम भएको छ । सीमाङ्कनको दौरानमा नेपाल पक्षका प्राविधिकले नेपालतर्फका स्थानीय जनता, लालपुर्जाप्राप्त किसान, स्थानीय जनप्रतिनिधि तथा नेपाल सरकारका कार्यालयमा भएका आधिकारिक अभिलेखलाई नहेरी, नबुझी भारतको प्रभाव र दबाबमा नक्सा तयार पारेको परिणाम नै अहिले देखा परेको समस्या हो । तसर्थ गलत ढङ्गबाट तयार गरिएको सीमाङ्कनको पुनरावलोकन हुनुपर्दछ र सीमास्तम्भ निर्माणको कार्य तत्काल रोकिनुपर्दछ ।

अहिले विश्वव्यापी रूपमा कोरना भाइरसको महामारी फैलिएको छ । नेपालमा अहिलेसम्म कोरना भाइरसबाट बच्ने सन्तोजनक र भरपर्दो तयारी गरिएको देखिँदैन । समयमा नै त्यससम्बन्धी तयारी गर्न नसकेमा त्यसबाट धेरै ठुलो क्षति हुनसक्ने सम्भावना छ । नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेकाले त्यो महामारीबाट हुनसक्ने क्षतिबाट बच्नका लागि नेपाल सरकारले पूरा ध्यान दिनुपर्दछ । स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सरकारले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । अन्तर्राष्ट्रिय विमानस्थलमा भरपर्दो स्वास्थ्य जाँच व्यवस्था गर्नका साथै नेपालका अस्पताललाई सतर्क र तयारी अवस्थामा रहनका लागि सरकारले पूरा ध्यान दिनु आवश्यक छ । सामूहिक जीवनशैलीमा रहेका जनसमुदाय, यातायात, विद्यालय, कलेज र अन्य सार्वजनिक स्थलमा जनताको स्वास्थ्य स्थितिबारे गम्भीर हुन हामी सरकारको ध्यान आकर्षित गर्दछौँ ।

यस सन्दर्भमा कोरना भाइरसको सन्त्राससँगै कालोबजारी पनि व्यापक रूपले बढेर जान थालेको छ । मास्क र विभिन्न सरसफाइसम्बन्धीका सामग्री, ग्यास र विभिन्न खाद्य पदार्थको कृतिम अभाव खडा गरी कालोबजारी बढेको छ । त्यस प्रकारको कालोबजारीलाई पूरै निरुत्साहित गरी आवश्यक कारबाही चलाउँदै सर्वसाधारण जनतालाई सुलभ र सहज रूपमा ती उपभोग्य सामग्री प्राप्त हुने व्यवस्था गर्न सरकारलाई हामी ध्यान आकर्षित गर्दछौँ । यसै सन्दर्भमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको समस्या विरुद्ध लड्न सार्क राष्ट्रले प्रकट गरेको ऐक्यबद्धतालाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार