नयाँ सरकार गठनमा प्रतिगामी चलखेल विरुद्ध नौ विद्यार्थी सङ्गठनद्वारा आपत्ति

काठमाडौँ । अखिल (छैठौं) सहित नौ विद्यार्थी सङ्गठनले नयाँ सरकार गठनको सन्दर्भमा प्रतिगामी तथा विदेशी दलाल शक्तिको भूमिकाप्रति आपत्ति प्रकट गरेका छन् ।

२०८२ भदौ २७ गते शुक्रबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

“नयाँ सरकार गठनको सन्दर्भमा चलिरहेका विभिन्न गतिविधिप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ” वक्तव्यमा अगाडि भनिएको छ– “खासगरी देशभित्रका प्रतिगामी शक्ति र विदेशी दलाल शक्तिको परोक्ष एवम् सन्दिग्ध भूमिकाप्रति आक्रोश व्यक्त गर्दै त्यसबारे सचेत रहन र तिनीहरूको षड्यन्त्र विरुद्ध एकजुट हुन सम्पूर्ण नेपाली जनतामा अपिल गर्दछौँ ।”

विद्यार्थी सङ्गठनले नागरिक सर्वोच्चता, स्वाधीनता र नेपाली जनताले अहिलेसम्म गरेका सबै खाले न्यायपूर्ण आन्दोलन, सङ्घर्ष र क्रान्तिबाट प्राप्त उपलब्धि र लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप आफूहरूलाई मान्य नहुने बताएका छन् ।

हरेक आन्दोलन, सङ्घर्ष र क्रान्ति अग्रगमनका लागि भएको दाबी गर्दै उनीहरूले प्राप्त जनपक्षीय उपलब्धिको रक्षा गर्दै अग्रामी निकासका लागि अघि बढ्न सबैसित अनुरोध गरेका छन् ।

वक्तव्यमा आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली, सन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

प्रेसवक्तव्यमा अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र सी, अखिल (क्रान्तिकारी) का अध्यक्ष वीरेन्द्र शाह, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष प्रकाश चाम्लिङ राई, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष हिमांशु, अखिल (क्रान्तिकारी) का संयोजक महेश श्रेष्ठ, नयाँशक्ति विद्यार्थी युनियनका अध्यक्ष बलबहादुर रम्तेल, अखिल (पाँचौँ) की अध्यक्ष पवित्रा आचार्य र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार