मूल प्रवाहको अपिल, जहाँ छौं यथास्थानमा रहौं

लकडाउनको अवधिमा मजदुर साथीहरुमा पर्ने सक्ने समस्याहरुलाई समाधान गर्न जहाँ जे सम्भव हुन्छ सहयोग गर्न अपिल
नयाँ दिल्ली । भारतमा रहनुभएका श्रमजिवी नेपालीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिले जो जहाँ रहनुभएको छ, सोही स्थानमा तथा आफ्नै बासस्थानमा रहनुहुन अपिल गरेको छ ।
समाजका कार्यवाहक अध्यक्ष ठाकुर खनालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत भारतका विभिन्न स्थानमा छरिएर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई यथास्थानमा रहन आग्रह गरिएको हो ।
प्रेस विज्ञप्तीमा अगाडि भनिएको छ :
“कोरोना भाइरसले विश्वव्यापीरुपमा निम्त्याएको महामारीबाट सुरक्षित हुनका लागि नेपाल सरकार, नयाँ दिल्ली स्थित नेपाली दूतावास, भारत सरकार तथा भारतका विभिन्न राज्य सरकारद्वारा जारी गरिएको सल्लाह तथा निर्देशनलाई सम्मान र पालना गर्दै आफू रहेको यथास्थानमा रहन अपिल गर्दछौं ।
कोरोनाको भयबाट धेरै श्रमजिवीहरुको रोजीरोटी संकटमा परेको छ । कैयौं मजदुरहरु आफू कार्यरत शहर छोडेर आफ्नो गाउँ तर्फ फर्किरहेका छन् । तर त्यसो गर्नाले यो रोग फैलिने खतरा बढ्छ । हामी जहाँ जान्छौं, त्यहाँका मानिसहरुका लागि पनि यो रोग खतरा बन्ने छ । त्यसैले तपाई जुन ठाउँमा हुुनुहुन्छ, कृपया केही दिनका लागि सोही स्थानमा बस्नु होला । यसो गर्नाले हामीले यो बीमारीलाई फैलिनबाट रोक्न सक्नेछौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि भारतीय प्रधानमन्त्रीले  देशभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् । यसबाट कैयौं मजदुरहरुमा समस्या पर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न तर स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको चक्र तोड्न कमसेकम २१ दिन लाग्ने भएको हुनाले सम्पूर्ण श्रमजिवीहरु संयम अपनाउन हामीले जोड दिन्छौं । साथै समस्याको यो घडीमा भावनात्मक सम्बन्ध राख्दै आर्थिक अभावमा समस्या परेको खण्डमा सहयोगी भावना राख्न हामी अनुरोध गर्दछौं ।
भारतमा कैयौं मजदुरहरु डेली वेजेसमा कार्यरत पनि हुनुहुन्छ तर यो विश्व महामारीको रुपमा आएको कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दूरी तथा एक अर्काबाट टाढा बस्नु पर्ने आवश्यकता विश्व स्वास्थ्य संघले जानाएको छ । केहि मानिसहरु यस्तो गलत धारणामा छन् कि सामाजिक दूरी केवल बिरामी मान्छेको लागि हो, तर यो सोंच गलत भएको स्वास्थ्यकर्मीहरुको धारणा छ ।
यदि हामीले गलत सोंचाइ तथा कदम चाल्यौं भने तपाईं, हाम्रो परिवार, बालबच्चा, समाज र देशले ठूलो नोक्सान वेहोर्नु पर्ने हुन्छ, त्यो नोक्सान कति ठूलो हुनेछ भनेर अनुमान गर्न गाह्रो छ । त्यसैले यो संकटको घडीमा हामी सबै आ–आफ्नो निवास्थानमा रहन हामी विनम्र अनुरोध गर्दछौं । साथै हाम्रो सम्पूर्ण स्तरका कार्यकर्ताहरुले पनि लकडाउनको अवधिमा मजदुर साथीहरुमा पर्ने सक्ने समस्याहरुलाई समाधान गर्न जहाँ जे सम्भव हुन्छ सहयोग गर्न अपिल गर्दछौं ।
कोरोना भाइरसबाट बच्न आवश्यक सतर्कता अपनाउन निम्न कुराहरुमा ध्यान दिनु होला ।
(क) अत्याधिक भिडभाडमा जानबाट बच्ने, जानै पर्ने अवस्थामा बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने ।
(ख) वृद्ध, वालबालिका, गर्भवती महिला तथा अन्य विमारीहरुलाई विशेष रेखदेख गर्ने ।
(ग) खोक्दा, हाछ्यु गर्दा टिस्यू पेपर वा रुमालले नाक–मुख छोप्ने ।
(घ) साबुन पानीले पटक पटक हाथ धुने वा हेण्ड सेनेटाइजर (Hand Sanitizer) ले हाथ सफा गर्ने ।
(ङ) नाक, मुख र आँखा छुनबाट बच्ने । साबुन पानीले वा हेण्ड सेनेटाइजर (Hand Sanitizer) ले हाथ सफा गरेपछि मात्र छुने ।
(च) टाउको दुख्ने, सिगान बग्ने वा रुघा खोंकी, ज्वरो जस्ता लक्ष्ण देखिएमा आराम गर्ने, अरुसँग घुमिल नगर्ने, असहज भए नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालका सम्पर्क गर्ने ।
(छ) माथि उल्लेखित लक्ष्ण देखापरेका व्यक्तिहरुसँग टाढा रहने प्रयत्न गर्ने ।
(ज) माछा, मासु, अण्डा आदि राम्रोसँग पकाएर खाने ।
(झ) सचेतताको लागि धैर्यतापूर्वक अरुलाई सुचित गर्ने, भय सन्त्रास फैलाउनबाट बच्ने ।
(ञ) आवश्यक परे भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको हेल्प लाइन नम्बर
011-23978046  टोल फ्रि नम्बर 1075 मा सम्पर्क गर्नु होला ।
(ट) नेपाली दाजु भाई तथा दिदी बहिनीहरुसँग सम्बन्धित सुचना केन्द्रीय कार्यालयमा गराउनु होला ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार