‘भारतमा असंगठित क्षेत्रका नेपाली मजदुरको अवस्था भयावह’

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले लकडाउनको कारणले कैयौं श्रमजिवीहरू बीच बाटोमा अलपत्र परेका छन् भने कैयौं होटेल मजदुरहरु, असंगठित क्षेत्र, गैरपंजीकृत श्रमिक एवं डेली वेजेस मजदुरहरु गास/बासको अभावबाट जुझिरहेको अवस्थाप्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ ।
समाजका कार्यवाहक अध्यक्ष ठाकुर खनालद्वारा हस्ताक्षरित आज शुक्रबार जारि प्रेस विज्ञप्ती मार्फत नेपालीहरु बेखर्ची भई स्थिति भयावह बन्दै गइरहेकोले विभिन्न सरोकार वाला, स्थानीय निकाय, नेपाल सरकार एवं भारत सरकारको यस विषयमा ध्यानार्षण गराउँदै समाधानको उचित पहल गर्न अनुरोध गरिएको छ ।
प्रेस विज्ञप्तीमा उल्लेख छ :
“वैश्विक महामारी कोरोना भाइरसबाट बच्न, बचाउनका लागि एवं भारतमा बढदो संक्रमणलाई फैलिनबाट रोक्ने उद्देश्यले भारत सरकारद्वारा २१ दिने लकडाउनको घोषणा भएको छ, यो नै वर्तमानको लागि उपयुक्त विकल्प भएको स्वास्थ्य विज्ञहरुको भनाई छ । तर लकडाउनको कारणले कैयौं श्रमजिवीहरू बीच बाटोमा अलपत्र परेका छन् भने कैयौं होटेल मजदुरहरु, असंगठित क्षेत्र, गैरपंजीकृत श्रमिक एवं डेली वेजेस मजदुरहरु गास/बासको अभावबाट जुझिरहेको अवस्थाप्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ ।
वैश्विक महामारी कोरोना भाइरसले संसार भरी नै मानव जीवनलाई नै संकटमा पुर्याएको छ । यो भाइरसबाट झण्डै ६ लाख मानिसहरु सक्रंमित र २७ हजार भन्दा बढीको मृत्यु भइसकेको अवस्था छ । यसको संक्रमण रोकथामको लागि अझैसम्म कुनै भ्याक्सिन तैयार नभएको हुँदा एकमात्र विकल्प व्यक्तीगत सरसफाई एवं सामाजिक एकान्तता (Social Distance) नै हो । संक्रमण रोक्न मानिसहरूलाई भिडभाडबाट बचाउन कैयौं देशहरूले लकडाउन तथा कैयौं स्थानमा कफ्र्यु समेत लगाइको छ । भारतमा पनि बढदो संक्रमणलाई रोक्न सरकारद्वारा २१ दिने लकडाउनको घोषणा भएको छ । लकडाउनको लत्तै यात्राको दौरानमा दिल्ली आनन्द विहार बस अड्डामा ठूलो संख्यामा अलपत्र परेकाहरुलाई हाम्रो संगठन लगायत विभिन्न संघ संस्था र नेपाली दूतावासको समन्वयमा स्वदेश पठाउने व्यवस्था गरियो । अहिले पनि कैयौं स्थानमा छिटपुट रूपमा नेपालीहरू फसेका र कैयौं बीच बाटोमा अलपत्र परेका समाचारहरु आइरहेका छन् । हामी विभिन्न समाजसेवी संघ संस्था, स्थानीय प्रशासन र नेपाली दूतावाससँग समन्वय गरि उनीहरूलाई सहयोग पु¥याउने कार्यमा प्रयत्नशिल छौं । संकटको यो घडीमा सबै नेपाली दाजुभाई दिदी बहिनीहरूसँग धैर्यतापूर्वक समस्यासँग संघर्षरत रहन अनुरोध गर्दछौं ।
लकडाउनले विश्व भरि नै दैनिक आवश्यक बस्तुहरूको अभाव एवं आर्थिक संकट श्रृजना भएको छ । कैयौं कलकारखाना बन्द भएका छन् । सामाजिक एकान्तता (Social Distance) का कारणले होटल, रेस्टुरेन्ट बजार आदि व्यवासयीक स्थलहरु बन्द भएका छन् । जसले त्यहाँ कार्यरत कर्मचारी एवं दैनिक वेतन भोगी मजदुरहरुको जिवीकोर्पाजनमा समस्या पैदा भएको छ । एकातिर बेरोजगारी छ भने अर्को तिर खान–बस्नको समेत समस्या उत्पन्न भएको छ । यो महामारीले समाजको प्रत्येक वर्गलाई प्रभावित पारेको छ । साधन श्रोत विहीन श्रमजीवी वर्गको अवस्था अत्यन्तै दयनीय छ । रोजगारी खोसिएको र लकडाउन अवधि बढ्ने सम्भावनाले गर्दा सरकारको आश्वासनका बावजुद शहरबाट गाँउ तर्फ पलायन गरेका दृश्यहरू समाचार माध्यम तथा सामाजिक संजालहरुमा आइरहेका छन् । सरकारका कैयौं योजनाहरूको घोषणा र आश्वासनका बावजुद उनीहरू स–साना बालबच्चा सहित सयौं किलो मिटर पैदल हिंड्दै आ–आफ्ना गाउँ तिर गइरहेका छन् । भारतको केन्द्र सरकार एवं राज्य सरकारहरुले समन्वयन गरि ती मजदुरहरूलाई आफ्नो घरसम्म पुग्ने व्यवस्था गरिरहेको छ ।
आफ्नो देशबाट टाढा प्रवासी जीवन विताउन वाध्य नेपालीहरूको स्थिति झन् भयावह छ । प्रायः नेपालीहरू ढावा, रेस्टुरेन्ट, होस्टल, पिजी, कान्टीन जस्तै असंगठित क्षेत्रमा कार्यरत भएको हुँदा लकडाउनको अवधीमा ति बन्द भएकोले वेतनको अभावका साथै कार्यस्थल मै खाने बस्ने हुँदा बासको समेत समस्या भोग्नु परेको छ । भारत सरकारले घोषणा गरेका सिमित सुबिधाहरू पनि उनीहरूलाई नपाइने अवस्था छ । ति सुबिधाहरू संगठित क्षेत्र एवं पंजीकृत मजदुरहरूलाई मात्र लागु हुने छ । यो अवस्थामा नेपालीहरु बेखर्ची भई स्थिति भयावह बन्दै गइरहेको छ । अतः हामी विभिन्न सरोकार वाला, स्थानीय निकाय, नेपाल सरकार एवं भारत सरकारको यस विषयमा ध्यानार्षण गराउँदै समाधानको उचित पहल गर्न अनुरोध गर्दछौं ।
लकडाउनको अवधिमा मानवीय भावनात्मक सम्बन्ध राख्दै खान, बस्न समस्या भोगी रहेकाहरुलाई सहयोग गर्न समाजका सम्पूर्ण तह र तप्का समक्ष अपिल गर्दछौं । साथै हाम्रा सम्पूर्ण स्तरका कार्यकर्ताहरुले पनि यो अवधिमा सम्पूर्ण मजदुर साथीहरुमा पर्न जाने समस्याप्रति गम्भीरता पूर्वक जहाँ जे सम्भव हुन्छ सहयोग गर्न निर्देशन गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार