भारतमा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याई क्वारेन्टाइनमा राख्न राजमोको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई देशभित्रै ल्याएर क्वारेन्टिनमा राख्न आग्रह गरेको छ । भारतका विभिन्न शहरबाट बेखर्ची भइ घर फर्कने क्रममा सिमानाका बन्द भई सीमा क्षेत्रमै एक हजार बढी नेपाली अलपत्र परेको खबर आइरहँदा राजमोले उनीहरुलाई देशभित्रै ल्याएर उपयुक्त व्यवस्थापन गर्न आग्रह गरेको हो ।

राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सोमबार एक वक्तव्य प्रकासित गरी विदेशी भूमिमा आफ्ना नागरिकलाई भोकै बस्ने अवस्था हुन नदिन सरकारसँग माग गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ,
१) भारतका विभिन्न सीमाहरूमा अलपत्र परेर बसेका करिब एकहजार नेपालीले धेरै नै कष्टप्रद र पीडादायक जीवन बिताउन परिरहेको छ । उनीहरूलाई उद्दार गरी नेपालमा आवश्यकतानुसार क्बारेन्टिनमा राखि आवश्यक व्यवस्था गर्नका लागि राष्ट्रिय जनमोर्चाले सरकारसित अनुरोध गर्दछ ।

२) भारतमा बसेका लाखौँ नेपालीहरूको रोजगार समाप्त भएपछि बेखर्चीभई भोकभोकै बस्ने स्थिति उत्पन्न भएको छ । उनीहरूलाई विश्व स्वास्थ्य सङ्गठनको प्रोटोगलअनुसार आवश्यक व्यवस्था गर्नका लागि भारत सरकारसित उच्चस्तरको कुटनीतिक पहल गर्न हामीले सरकारसित माग गर्दछौँ ।

३) अहिले सम्पूर्ण विश्वमा नै कोरोना भाइरसका कारणले उत्पन्न भएको सङ्कटको अवस्थामा संसारका अन्य देशहरूका नेपालीहरूको समस्यालाई समाधान गर्न वा आवश्यक व्यवस्था गर्नका लागि सम्बन्धित देशका सरकारहरूसित कुटनीतिक स्तरमा पहल गर्न पनि हामीले सरकारसित अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार