आज प्रमाणित भएको छ, का. माओत्सेतुङको भनाई

देवी प्रसाद पौडेल

यति बेला कोविड १९ (कोरोना भाईरस) ले संसारलाई त्राहिमाम बनाएको अवस्था छ । दिनांक ७ अप्रिल २०२० को साँझसम्म संसारभरमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या १३ लाख ८४ हजार ४४६ रहेको छ भने मृत्यु हुनेको संख्या ७८ हजार ९१७ रहेको छ र संक्रीमत र मृतकहरूको संख्या निरन्तर बढ्दो छ ।

अमेरिका जस्ता सुपर पावर देशको अवस्था पनि यो महामारीको समक्ष निरिह बनेको छ । संसारका तमाम परमाणु शक्ति सम्पन्न राष्ट्रहरू जसले यस संसारलाई सात आठ पटकसम्म खरानी बनाउने सामर्थ्य राख्दछन् तर कोरोनाको सामने घुँडा टेकेको अवस्था छ । संसारको अधिकांश देशहरूमा आज लकडाउन चलेको छ । सम्पूर्ण उत्पादन क्षेत्रहरुमा ताला लगाएको अवस्था छ ।

संसारका अधिकांश देशहरूका जनता घर भित्र रहेका छन् । अधिकांश देशहरूमा स्वास्थ्य सुविधा र केही अन्य आवश्यक सेवाहरु वाहेक, कार्यालयहरू, विश्व विद्यालयहरु, कलेज र स्कूलहरु, सम्पूर्ण यातायात सेवाहरु सबै बन्द छन् । संसारको आर्थिक अवस्था दिनहुँ गिर्दो अवस्थामा छ । यो सबैको बावजूद कोरोनाबाट पीडितहरू घरमा रहन बाध्य छन् ।

कुनै पनि देशको राष्ट्र प्रमुखले मेरो देशको आर्थिक अवस्था खराब भइसक्यो त्यही कारणले कोरोनाको प्रकोप कम नहुँदै राष्ट्रको अवस्था पुनः गतिमान अवस्थामा ल्याउन देशमा लकडाउन खतम गर्ने घोषणा गर्दछु भन्छ भने त्यो देशको अवस्था कस्तो होला हामी अनुमान लगाउन सक्दक्छौं ।

आज प्रमाणित भएको छ, का. माओत्सेतुङको भनाई– “संसारका सबै प्रतिक्रियावादीहरु र पुँजिपतीहरु कागजी बाघ हुन् ।” आज संसारका सबै देशहरू विशेष गरेर सुपर पावर भनाउँदाहरु पनि असाह्य निरिह देखिन्छन् । सबै शक्ति सम्पन्न देशहरू वास्तवमा आज “कागजी बाघ” जस्तै भएका छन् । कुनै पनि देश चाहे त्यो अमेरिका होस् या इंग्ल्याण्ड, जर्मन, फ्रान्स र इटाली कसैले पनि यो भन्न सक्ने अवस्थामा छैन कि मेरो देशका नागरिकहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुविधा ऐलेको महामारीको अवस्थामा पर्याप्त छ । चीनमा बाहेक अन्य देशहरूमा आवश्यक दवाई, laboratory testing equipments, Sanitiser, फेस मास्क र स्वास्थ्य स्टाफलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्ट किट पनि तमाम देशहरूमा पर्याप्त मात्रामा नभएको अवस्था छ ।

यस्तो विकराल अवस्थामा मानिसहरू अलग अलग रहेर एकताको परिचायक बन्ने अवस्था छ । जहाँ जुन कुनै देशमा हामीहरू रहे पनि लकडाउनलाई स्वीकार गरी आफ्नो निवासमा रहनुको विकल्प छैन । किन कि जनताको लापरवाहीको कारण आफ्नो साथै देशको र साँच्चै भन्नु पर्दा पुरै संसारमा ठूलो रूपमा मृतकहरूको संख्या बढ्ने छ । वृहत संख्यामा मानवीय क्षति रोक्न हामी सबैको घरमा रहनुले अहम् भूमिका निभाई रहेको हुने छ । कोबिड १९ लाई प्रभावहीन बनाई परास्त गर्नको लागि हामी सबैले सहयोग गरौँ, लकडाउन स्वीकार गरौं, बचौं र बचाउँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार