संकटमा प्रभावकारी काम गरेर देखाउ : राजमो

काठमाडौं । संकटको यस घडिमा प्रभावशाली ढंगले काम गरेर देखाउन पनि राष्ट्रिय जनमोर्चाले सरकारसँग आग्रह गरेको छ । भारतको सीमामा अलपत्र परेका नेपालीको समुचित व्यवस्थापन नगरेको भन्दै राजमोले सरकारको आलोचना गरेको छ ।

राजमोका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले मंगलबार एक वक्तव्य प्रकासित गरी कोरोना भाइरसको समस्यालाई खाली स्वास्थ्य समस्याका रुपमा मात्रै नहेरी समग्र जनजीवनको समस्याका रुपमा बुझ्न पनि सरकारलाई सुझाव दिनुभएको छ ।

ठुलो संख्यामा नेपालीहरु प्रवेश गरेका सुदूरपश्चिम क्षेत्रमा कोरोनाको संक्रमण बढी देखिएको हुँदा स्वास्थ्य जाँचको व्यवस्था प्रभावकारी बनाउन पनि राजमोले राजमोले मार्फत  आग्रह गरेको छ ।

वक्तव्यको पूर्ण तल प्रस्तुत गरिएको छ :

“१) भारतको सीमामा आएर अलपत्र परेर बसेका करिब एक हजार नेपालीहरूलाई उद्धार गरी नेपालमा ल्याएर क्बारेन्टिनमा राख्न आवश्यक व्यवस्था नगरेकोमा हामीले दुःख प्रकट गर्दै त्यसबारे तत्काल आवश्यक कदम चाल्नका लागि सरकारसित अनुरोध गर्दछौँ ।

२) सरकारले काम गरेर जीवननिर्वाह गर्नुपर्ने निम्न आय भएका मानिसहरूका लागि राहतवितरण गर्ने घोषणा गरेको छ । तर त्यसको वितरण पनि न्यायसंगत र सन्तोषजनक प्रकारले हुन नसकेकोप्रति हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

३) देशका कतिपय भागहरूमा कामहरू बन्द भएपछि ठुलो संख्यामा मानिसहरू बेखर्ची भई आफ्नो घरमा पुग्न पैदल हिडेका समाचारहरू सञ्चार माध्यमहरूले लगातार बाहिर ल्याइरहेका छन् । त्यस्तो स्थिति पैदा हुन नदिन र सबैतिर राहतको वितरण गर्न प्रभावशाली प्रकारले काम गर्न हामीले सरकारसित माग गर्दछौँ ।

४) जिल्लाहरूमा कोरोना भाइरसको रोकथाम वा राहतवितरणमा समेत दलीय आधारमा भेदभाव भइरहेका समाचारहरू प्राप्त भइरहेका छन् । अहिले देशमा देखापरेको गम्भीर संकटलाई सबै राजनीतिक दलहरू र जनताको व्यापक एकताद्वारा नै सामना गर्न सकिन्छ । त्यसका लागि सरकारले पहल गर्नुपर्ने आवश्यकता छ । त्यही प्रकारले राहतवितरणको कामलाई पनि पालिकाहरूले सबै राजनीतिक दलहरूसित सामन्जस्यता गरी वितरण गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ । अहिले कोरोना भाइरसको कारणले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या उत्पन्न भएको कुरा सत्य हो । तर त्यो कारणले जनजीवनमा जुन गम्भीर संकटको स्थिति पैदा भएको छ वा त्यो संकट बढ्दै जाने सम्भावना छ, त्यो अवस्थामा कोरोना भाइरसको समस्यालाई स्वास्थ्यसम्बन्धी समस्याको रूपमा मात्र नहेरेर जनजीवनसित जोडिएको गम्भीर समस्याको रूपमा पनि हेर्नुपर्ने र त्यसरी कोरोना भाइरसका कारणले जनजीवनमा पैदा भएको समस्यालाई समाधान गर्न ठोस कार्यक्रम बनाएर काम गर्नुपर्ने आवश्यकतामा हामीले सरकारको विशेष ध्यान आकर्षित गर्न चाहन्छौँ ।

५) सूदूरपश्चिममा कोरना भाइरसको उच्च जोखिम देखा परेको छ । त्यहाँ एकातिर ठूलो संख्यामा भारतबाट नेपालीहरू आएका छन् भने अर्कातिर उनीहरूको स्वास्थ्य जाँचको पनि समुचित व्यवस्था भएको छैन । त्यसैले त्यहाँ कोरना भाइरसको उच्च जोखिम देखा परेको छ र त्यसले दोश्रो चरणमा प्रवेश गरेको छ । त्यो अवस्थामा सूदूरपश्चिममा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । तर त्यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरूको अत्यन्त कम वा अपर्याप्त व्यवस्था भएका समाचारहरू प्राप्त भइरहेका छन् । त्यसो भएमा त्यसबाट खालि सूदुरपश्चिममा मात्र होइन, समग्र देशमा नै गम्भीर जोखिम पैदा हुने सम्भावना छ । त्यसकारण सूदूरपश्चिममा कोरना भाइरसको रोकथाम र चिकित्सकहरूको व्यवस्था गर्न समेत हामीले सरकारसित माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार