लेनिन स्मृति तथा पार्टी स्थापना दिवसको शुभकामना !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) लेनिनको १५१ औँ स्मृति दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७२ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ ।

प्रवक्ता रामप्रकाश पुरीले एक वक्तव्य प्रकाशित गरी कोरोना भाइरस संक्रमणको जोखिमका कारण पार्टी स्थापना दिवसको कार्यक्रममा मनाउन भेला हुन नसकेपनि लेनिनको पथप्रदर्शनमा हिँडिरहने प्रतिवद्धता जनाउनु भएको छ ।

वक्तव्यमा विश्वव्यापी रुपमा संशोधनवादी र दक्षिणपन्थी हावाले व्यापक असर गरेको बेलामा नेपालमा मार्क्सवाद–लेनिनवाद–माओविचारधाराको झण्डालाई उठाएर मुक्ति र स्वतन्त्रताको उद्देश्यका निम्ति धैर्यतापूर्वक संगठन निर्माणमा लाग्दै दृढतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

यस्तो छ, वक्तव्यः
महान् लेनिनको १५१ औँ स्मृति दिवस र नेपाल कम्युनिस्ट पार्टीको ७२ औँ स्थापना दिवसको अवसरमा यहाँहरु सबैलाई हार्दिक शुभकामना छ । अहिले विश्वव्यापी रुपमा कोरना भाइरसको महामारीका विरुद्ध सम्पूर्ण मानवजातिले संघर्ष गरिरहेको बेलामा लेनिनको जन्मजयन्ती र नेकपा स्थापना दिवसका लागि सार्वजनिक रुपले भेला हुुन नसकेपनि महान लेनिनले पथप्रदर्शन गरेको मार्गमा विश्वका मुक्तिकामी जनता हिँडिरहने छन् । हामीले महान् लेनिनलाई सँधै सम्झिदै आएका छौँ र सम्झिरहने छौँ । त्यसका साथै लेनिन दिवसकै दिन स्थापना भएको नेकपाको स्थापना दिवस हामीले सधैँ मनाउँदै आएका थियौँ र मनाइरहने छौँ ।

पार्टी स्थापनाका ७२ औँ वर्षहरुमा नेपाल र विश्वको पनि कम्युनिस्ट आन्दोलनमा कैयौं उतारचढाव आएका छन् । नेपाल कम्युनिस्ट पार्टी आफ्नो विकासको गतिसँगै कैयौँ समूहमा विभाजित हुन पुगेको छ भने विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । ती सबै घटनाहरु सामाजिक वर्गसंघर्षका परिणाम थिए । तरपनि विश्व मानवजातिको अन्तिम विजय, मुक्ति र स्वतन्त्रताका उद्देश्य, आकाङ्क्षा र सपना कम्युनिस्ट आन्दोलनभित्र नै अन्तर्निहित रहेका छन् । मानवजातिको उज्वल भविष्य, समानता र न्यायको नेतृत्व कम्युनिस्ट आन्दोलनले गर्दै आएको छ र गरिरहने छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि विश्व कम्युनिस्ट आन्दोलनको त्यही एउटा अङ्ग हो, जसले नेपाली जनताको मुक्ति र स्वतन्त्रताको अविराम नेतृत्व प्रदान गर्दै आएको छ र गरिरहने छ ।

विश्व कम्युनिस्ट आन्दोलनको रक्षात्मक स्थिति भएपनि नेपालको कम्युनिस्ट आन्दोलन सक्रियताका साथ अगाडि बढिरहेको छ । तर विश्वको तुलनामा नेपालको कम्युनिस्ट आन्दोलन शक्तिशाली भएपनि संशोधनवादी–दक्षिणपन्थी संगठन भन्दा क्रान्तिकारी संगठनको शक्ति कमजोर रहेको छ । विश्वव्यापी रुपमा संशोधनवादी र दक्षिणपन्थी हावाले व्यापक असर गरेको बेलामा नेपालमा मार्क्सवाद–लेनिनवाद–माओविचारधाराको झण्डालाई उठाएर मुक्ति र स्वतन्त्रताको उद्देश्यका निम्ति धैर्यतापूर्वक संगठन निर्माणमा लाग्दै दृढतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यकता छ । त्यसप्रकारको जिम्मेवारी पूरा गर्नका लागि अनुशासित, एकतावद्ध र सही विचारधारा एवम् निर्णय क्षमताले सम्पन्न भएको शक्ति निर्माणमा योगदान दिएर अगाडि बढ्नुपर्ने छ ।

मार्क्सवादी–लेनिनवादी सिद्धान्तहरुलाई सही प्रकारले कार्यान्वयन गर्दै पार्टीलाई अनुशासित र एकतावद्ध बनाएर मात्र हामीले क्रान्तिकारी उद्देश्य पूरा गर्न सक्ने छौँ । त्यसरी मात्र हामीले मानवजातिको शत्रुको रुपमा रहेको साम्राज्यवादलाई परास्त गर्दै क्रान्तिमा सफलता हासिल गर्न सक्ने छौँ । नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी पक्षलाई रक्षा गर्न विगतमा बिभिन्न भड्कावहरुका विरुद्ध दृढतापूर्वक र सम्झौताहीन संघर्ष गरिएका इतिहास निर्माण भएका छन् । कैयौँ व्यक्तिहरु पथविचलित भएर पलायन र पतन भएका छन् । इतिहासका ती घटनाबाट पाठ सिक्दै नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको शक्तिलाई मजवुत बनाउन सकिनेछ ।

पार्टीको ७२ औँ स्थापना दिवसको अवसरमा मार्क्सवाद–लेनिनवाद–माओविचारधारालाई दृढतापूर्वक आफ्नो जीवनको आधार बनाउँदै क्रान्तिको उद्देश्य पूरा गर्न सक्ने महान क्रान्तिकारी, अनुशासित र एकतावद्ध संगठनको शक्तिलाई रक्षा गर्दै त्यसको विकास र समृद्धिका लागि हामीले दृढतापूर्वक प्रण गरौँ ।
२०७७ वैशाख १०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार