६ जना नेपाली विजयी

काठमाडौं । नेपालमा कोरोना संक्रमण भएर उपचार गराएका मध्ये ६ जना निको भएका छन् । यस अघि ५ जना घर फर्किसकेका छन् भने धादिङका एक युवा आज डिस्चार्ज हुँदैछन् ।

टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने अस्पतालले जनाएको छ । युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई घर पठाउने तयारी गरेको हो।

ती युवालाई आज डिस्चार्जको तयारी रहेको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताउनुभयो। यही चैत ६ गते एयर अरेबियाको विमानबाट उनी काठमाडौँ आएका थिए । त्यसपछि उनी काठमाडौँ कै होटेलमा बसेका थिए । उनमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, मंगलबार सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत कैलालीका युवक डिस्चार्ज भएर घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय ति युवा कोरोनामुक्त भएर घर फर्किएका हुन् ।

यसअघि वैशाख ७ गते सोही अस्पतालबाटै अर्का युवक कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन्। यसअघि बागलुङमा उपचारत ६५ वर्षीया महिला र काठमाडौंको टेकु अस्पतालमा भर्ना भएकी १९ वर्षीय युवती र सुरुका ३२ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म ४२ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । ति मध्ये ३६ जना विभिन्न अस्पतालमा उपचाररत छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार