मजदुरमाथि आइपर्ने समस्याप्रति गम्भीर बन्न मसालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विश्वका विभिन्न देशमा मजदुरी गरिरहेका नेपाली मजदुरमाथि कोरोना संक्रमणका कारण आइपर्ने समस्याप्रति गम्भीर हुन सरकारसँग आग्रह गरेको छ । मसालले कोरोनाका कारण रोजगारी कटौतीको सम्भावना औँल्याउँदै त्यसबाट विश्वभर छरिएका नेपालीलाई असर पर्ने जनाएको छ ।

पार्टी प्रवक्ता रामप्रकाश पुरीले शुक्रबार १३१ औँ मे दिवसको उपलक्ष्यमा शुभकामना दिँदै विदेशमा मजदुरी गरिरहेका लाखौं नेपाली अब घर फर्कने सम्भावना रहेको बताउनुभएको छ । रोजगारी गुमाएर घर फर्कने मजदुरहरुको उचित व्यवस्थापनका लागि सरकारले तयारी थाल्नुपर्ने पनि प्रवक्ता पुरीले बताउनुभएको छ ।

वक्तव्यमा सम्पुर्ण मजदुर वर्गलाई संगठित र सचेत बन्दै राजनीतिक अधिकार प्राप्तिका लागि समेत सफलताको शुभकामना दिइएको छ ।

वक्तव्य

“१३१ औँ मे दिवसको उपलक्ष्यमा विश्वका सबै मजदुर तथा मिहेनतकश जनतालाई नेकपा (मसाल)ले हार्दिक शुभकामना व्यक्त गर्दछ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारणले सामूहिक प्रकारले यो दिवस मनाउन नसकिएको भएपनि यसको ऐतिहासिकता र औचित्यता सधैँ कायम भइरहने छ । यो घडीमा हामी सम्पूर्ण मजदुरहरुको उत्तरउत्तर प्रगति र सुस्वास्थ्यको कामना गर्दछौँ ।

कोरोना भाइरस महामारीको एउटा विश्व परिणामको रुपमा मजदुरहरुको छटनी र उनीहरुलाई दिइने सुविधामा कटौति हुने सम्भावना बढ्दै गएको छ । त्यसबाट विश्वको मजदुरवर्गको जीविकाको क्षेत्रमा सङ्कट पैदा हुने छ । सम्पूर्ण विश्वले मजदुरवर्गको जीविकाको क्षेत्रलाई समयमा नै ध्यानमा राखेर त्यो संकटलाई समाधान गर्नुपर्ने आवश्यकता बढेर गएको छ । त्यो संकटबाट नेपालका मजदुरहरु पनि अछुत रहने छैनन् । विदेश भूमिमा लाखौँ नेपालीहरु मजदुरको रुपमा कार्यरत छन् । विश्वमा आउने मजदुरसम्बन्धीको संकटबाट ती लाखौँ नेपाली मजदुर पनि प्रभावित हुनेछन् ।

त्यसको परिणामस्वरुप उनीहरु बेरोजगार बन्न पुग्ने छन् । त्यसरी उनीहरुको स्वदेश फर्कने क्रम तीब्र भएर जानसक्ने सम्भावना छ । त्यो स्थितिलाई विचार गर्दा नेपालमा बेरोजगारी समस्या एउटा ठूलो संकटको रुपमा अगाडि आउने छ । तर अहिलेसम्मको अवस्थालाई हेर्दा नेपाल सरकारले त्यो विषयलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । यो अवस्थामा मजदुरहरुमाथि आइपर्ने सम्भावित संकटबारे समयमा नै ध्यानमा राखी नेपालमा नै रोजगारी व्यवस्थापनको कार्यलाई सुनिश्चित र व्यवस्थित गर्न हामी नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।

वैदेशिक रोजगारमा रहेका नेपाली मजदुरहरुमाथि अन्तर्राष्ट्रिय कानुनमा व्यवस्था भएका सुविधा अनुसार व्यवहार गरिनुपर्दछ । तर कैयौँ नेपाली मजदुरहरुको जीवन सुरक्षाको प्रश्न, सुविधा र अन्य कानुनी हकबाट बञ्चित भएका घटना विश्वव्यापी रुपमा देखिंदै आएका छन् । आफ्ना नागरिकहरुको जीउ–धन र अधिकारको रक्षा गर्नु नेपाल सरकारको दायित्व हुन्छ । अन्तराष्ट्रिय कानुनी व्यवस्था अनुसार आफ्ना नागरिकहरुको सुविधा र सुरक्षाको रेखदेखका लागि नेपाल सरकारले ध्यान दिनु आवश्यक छ । त्यसैगरी देशभित्रका मजदुरहरुमाथि भएका बिभिन्न शोषणको अन्त्य गर्दै जीविकाको सुनिश्चिता सहित उनीहरुका बिभिन्न अधिकार, सुरक्षा र हितमाथि ध्यान दिनाका लागि पनि हामी सरकारको ध्यान आकर्षण गर्दछौँ ।

मजदुरहरुलाई असीमित र अनियमित ढङ्गले श्रममा लगाई शोषण गर्ने परिपाटीको अन्तको माग गर्दै दैनिक ८ घण्टा कामको समय र अन्य मजदुर अधिकारका विषयलाई अगाडि सारेर सन् १८८६ मा अमेरिकाको शिकागो शहरबाट मजदुर आन्दोलन शुरु भएको थियो । त्यो आन्दोलन छिट्टै अन्तर्राष्ट्रियकरण भएको थियो र मजदुरहरुलाई आफ्ना माग पूरा गराउन सफलता प्राप्त भएको थियो । त्यो सफलतापछि आजको अवधिसम्म संसारमा कैयौँ राजनीतिक परिवर्तन भएका छन् । मजदुरवर्ग छिट्टै नै सबैभन्दा क्रान्तिकारी वर्गको रुपमा स्थापित भई कैंयौँ देशमा क्रान्ति सम्पन्न गर्दै सत्ता सञ्चालक समेत बन्न पुगेको थियो । त्यसरी असीमित रुपमा शोषित रहेको मजदुरवर्ग सन् १९१७ मा रुसमा महान् अक्टोवर क्रान्ति गरी लामो समयसम्म सत्ता सञ्चालन गर्ने शक्तिको रुपमा अगाडि आएको थियो । त्यही क्रममा विश्वका कैयन् देशमा क्रान्तिकारी परिवर्तनको वाहक बनेर मजदुरवर्ग अगाडि आउनुका साथै बिभिन्न क्रान्तिमा विजयी भई शासकवर्ग बन्न सफल भएको थियो । ती सबै घटनाबाट मजदुरवर्ग महान राजनीतिक शक्तिको रुपमा विश्वमा उदाइसकेको कुरा स्पष्ट हुन्छ ।

मजदुरवर्गलाई शक्तिशाली र अन्तिम विजयीवर्गको रुपमा पहिले नै सन् १८४८ मा जारी कम्युनिस्ट घोषणपत्रमा घोषित गरिएको थियो । मजदुरवर्गलाई सर्वहारा क्रान्तिको नेतृत्वकर्ता, सत्ताको सञ्चालक, मानवजातिको न्यायपूर्ण, समानता र समृद्ध समाजको स्थापना गर्ने निर्विकल्प शक्तिको रुपमा हेरिएको छ । सम्पूर्ण वर्गलाई मुक्त गर्दै आफ्नो मुक्ति सहित दुनियाँमा मानवजातिको एक मात्र राज्यको स्थापना गर्ने महान ऐतिहासिक जिम्मेवारी मजदुरवर्गमा नै अन्तर्निहित छ । मजदुरहरु आफ्नो जीवन धान्नका लागि पुँजीपतिवर्गद्वारा काममा जोताइने साधन होइनन्, उनीहरु आफ्नो शक्तिको पहिचान गरी क्रान्तिको महाअभियानमा संगठित भएर दुनियाँलाई बदल्ने अचूक शक्ति पनि हुन् भन्ने कुरा अब संसारले कहिले पनि बिर्सन सक्ने छैन ।

सामाजिक वर्गसंघर्षको दौरानमा आज मजदुरवर्ग पछाडि परेको छ । तर त्यो स्थायी कुरा होइन । सामाजिक जीवनमा वर्गहरु कायम रहेसम्म कहिले मजदुरवर्ग र कहिले पुँजीपतिवर्ग अगाडि आउने क्रम चलिरहन्छ । त्यसैले क्रान्ति–प्रतिक्रान्ति पनि भइरहन्छन् र राजनीतिक व्यवस्थामा उथुलपूथल आइरहन्छन् । त्यसप्रकारको प्रक्रिया मजदुरवर्गले अन्तिम विजय प्राप्त नगर्दा सम्म जारी रहिरहनेछ । त्यो सम्पूर्ण प्रक्रियामा मजदुरवर्गले उत्साहका साथ आफूलाई होम्दै अगाडि बढ्नु अबको आवश्यकता बन्न गएको छ । मजदुरवर्गले आफ्ना मागको विषयलाई मात्र होइन, राजनीतिक चेतना र क्षमताको स्तरलाई पनि उठाउनुपर्ने आवश्यकता हुन्छ ।

ऐतिहासिक परिस्थिति अनुसार ८ घण्टा कामको समयलाई आधार मान्नुपर्ने माग सहित मजदुर आन्दोलन उठेको भएपनि अब त्यो आन्दोलन मजदुरवर्गको राजनीतिक सत्ता प्राप्तिको स्तरमा उठिसकेको छ । त्यसैले आफना माग सहित सामाजिक परिवर्तनको लागि मजदुरहरुले राजनीतिक दायित्व पनि बहन गर्दै जानुपर्दछ । सम्पूर्ण मानवजातिको समस्याको हल गर्ने स्वयम् मजदुरवर्गमा शक्ति निहित भएको हुनाले उनीहरुले राजनीतिक सत्ता प्राप्तिको संघर्षमा विजय पाउनका लागि सँधै प्रयत्न गरिरहनुपर्दछ । त्यसैले उनीहरुले संगठित हुनुपर्दछ र आफ्ना राजनीतिक कार्यलाई आफ्नो राजनीतिक संगठन मार्फत अगाडि बढाउनुपर्दछ । उनीहरुको त्यस्तो राजनीतिक संगठन, जुन संगठनले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई आफ्नो जीवनशैली बनाएको थियो, अनुशासित थियो र कर्तव्यपरायण थियो, त्यसले अक्टोवर क्रान्ति गरेर मजदुर शक्तिको ऐतिहासिकता निर्माण गरेको थियो ।

ठीक त्यही प्रकारको मजदुर संगठन आजको शताब्दीलाई चाहिएको छ, जो लेनिनवादी संगठनात्मक सिद्धान्तमा प्रतिवद्ध भएर क्रान्तिको नयाँ युग निर्माण गर्न सफल हुँदै अन्तिम विजेता बन्नेछ । हामी सम्पूर्ण मजदुरहरुलाई जीवन र भविष्यप्रतिको असीम आशा, विश्वास र भरोसा पैदा गर्दै अगाडि बढ्नका लागि शुभकामना व्यक्त गर्दछौँ ।
अन्तिम विजय मजदुरवर्गको हुनेछ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार