प्रवासी नेपालीका समस्याप्रति गम्भीर बन : चित्र बहादुर केसी

काठमाडौं । भारत तथा कुवेतस्थित नेपालीहरुको समस्याप्रति राष्ट्रिय जनमोर्चाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आइतबार एक विज्ञप्ती जारी गरि नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । “भारत सरकारले विभिन्न राज्यहरुमा अलपत्र परेर बसेका भारतीयहरुलाई आफ्नो आफ्नो राज्यमा पुर्याउने व्यवस्था गर्न थालेको छ ।” केसीले विज्ञप्तीमा उल्लेख गर्नुभएको छः– “त्यही प्रकारले असंगठित र अनौपचारिक क्षेत्रमा काम गरेका नेपालीहरुलाई पनि अब खान, बस्न कुनै व्यवस्था नगर्ने र यातायातका साधनहरुको व्यवस्था गरी नेपालको सीमामा पुर्याउने सुचना दिएको छ ।”

“कुवेतमा अवैधरुपमा बसेका नेपालीहरुलाई त्यहाँको सरकारले वैधानिक कागजपत्र बनाउनको लागि समय दिएको छ र अब उनीहरुलाई एउटा क्याम्पमा राखेको छ । उनीहरुलाई खानपिउनको पनि व्यवस्था गरिएको छ । उनीहरुको संख्या करिब पाँच हजारभन्दा बढी छ ।” अध्यक्ष केसीले विज्ञप्तीमा उल्लेख गर्नुभएको छः– “कोरोना भाइरस वा लकडाउन सामान्य भएपछि त्यहाँको सरकारले सरकारी खर्चमा नै नेपाल पठाउने सुचना दिएको छ ।” अहिले तत्काल नभए पनि ढिलो छिटो उनीहरुलाई नेपाल ल्याउनुको कुनै विकल्प नभएको समेत विज्ञप्तीमा केसीले जोड दिनुभएको छ ।

उपरोक्त प्रकारको पृष्ठभूमिमा भारत वा कुवेतका नेपालीहरुको समस्याबारे सरकारले गम्भीररुपले विचार गर्नुपर्ने आवश्यकताप्रति केसीले विज्ञप्ती जोड दिंदै भन्नु भएको छः– “कुवेतको समस्या तकात्कालिक समस्या होइन र लकडाउन खुलेपछि नै त्यसबारे आवश्यक विचार गर्न सकिने छ । तर भारतको समस्या तात्कालिन दृष्टिकोणले नै अत्यन्त गम्भीर बनेको छ ।” त्यहाँको सरकारले उनीहरुको खानपीनको समेत व्यवस्था नगरेको हुनाले उनीहरुका अगाडि भोकमरीको समस्या उत्पन्न भएको र त्यसकारण सरकारले त्यसबारे तुरुन्त ध्यान दिनु पर्ने आवश्यक भएको केसीले औंल्याउनु भएको छ ।

सरकारले भारत सरकारसित उच्च कुटनीतिक सम्पर्क गरेर विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार उनीहरुलाई उनीहरु बसेकै ठाउँमा खानपीन समेतको व्यवस्था गर्न लगाउनु पर्दछ । त्यसो हुन नसकेमा ती नेपालीहरुको उद्धारगरी नेपालमा ल्याउनु पर्ने केसीद्वारा जारि विज्ञप्तीमा जोड दिइएको छ । “यस प्रकारको जिम्मेवारीबाट सरकार बच्न सक्दैन र बच्न हुँदैन भन्ने हाम्रो दृढ मत छ” केसीले भन्नु भएको छ– “अहिले भारत वा कुवेतमा जुन प्रकारको समस्या उत्पन्न भएको छ, ढिलो छिटो अन्य देशहरुमा पनि देखापर्न सक्दछ ।” त्यसकारण त्यो समस्याबारे गम्भीरतापूर्वक र दीर्घकालीन प्रकारको योजना बनाएर काम गर्नका लागि पनि आफूहरुले विज्ञप्ती मार्फत सरकारसित माग गरेको केसीले विज्ञप्तीमा जनाउनु भएको छ ।

विभिन्न स्थानमा भएका नेपालीहरुलाई जानकारी दिंदै केसीले विज्ञप्तीमा लेख्नु भएको छ : “अन्तमा उक्त विषयहरुमा, खासगरेर भारतस्थित नेपालीहरुको समस्याहरुलाई लिएर हामीले प्रधानमन्त्रीसित सम्पर्क राख्ने वा भेट्ने समेत कोशिश गरिरहेका छौं ।” भारतस्थित नेपालीहरुको ठूलो संख्यामाथि विचार गर्दा उनीहरुलाई तुरुन्त नेपालमा ल्याएर व्यवस्थापन गर्नु पनि सजिलो नभएको समेत उल्लेख गर्नुभएको छ : “तर विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार भारत सरकार वा विभिन्न राज्य सरकारहरुले त्यो जिम्मेवारी पूरा नगरेमा वा उनीहरुद्वारा नेपालीहरुको त्यसप्रकारको व्यवस्था हुन नसकेमा नेपाल सरकारले नै त्यो समस्यालाई समाधान गर्न कदम उठाउनु बाहेक अर्को कुनै उपाय छैन र त्यसबारे हामीले पुनः सरकारको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार